कोहलपुर,२८ वैशाख/ कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७४÷०७५का अधिकांश योजनाहरु नगरपालिकाले तोकेको मापदण्ड अनुसार नभएको अनुगमका क्रममा पाइएको बताएकी छिन् । कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीको नेतृत्वमा रहेको अनुगमन समितिले बिहीबार नगरका विभिन्न वडाका योजनाहरुको अनुगमन गरेको हो । 
अनुगमनको क्रममा कोहलपुर वडा नं.८ को झण्डवा चोकदेखि शितल चोकसम्मको ३ सय ५४ मिटर लामो पक्की सडक रु. २६ लाख ५१ हजार लागतमा सम्पन्न भएको अनुगमनका क्रममा कोहलपुर नगरापलिकाले तोकेका मापदण्ड अनुसार काम नभएको संयोजक चौरीले बताएकी छिन् । कोहलपुर नगरपालिकाको मापदण्ड अनुसार कोहलपुर–नेपालगञ्ज सडक खण्डमा जोडिएका सडकहरु १२ मिटर चौडाई हुनुपर्नेमा सो सडक ८ मिटरमा मात्र सम्पन्न भएकोले भुक्तानीका लागि नगर कार्यपालिकाको निर्णय सहित आउन सुझाव दिएकी छिन् । कोहलपुर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रेशम खत्रीले नगरपालिकाको मापदण्ड १२ मिटर भएपनि स्थानीय जनताले ८ मिटरसम्म मात्र हुनुपर्ने माग राखेको र १२ मिटर सडक नक्सामा नभएले ८ मिटर बनाउन बाध्य भएको बताएका छन् ।
त्यस्तै वडा नं.९ को भवानीपुरमा करिब ७ सय मिटिर लम्बाई रहेको सडकमा ग्राभिल गर्दा ४ मिटर हुनुपर्नेमा सो नभएकोले तत्काल सबै ठाउँमा ४ मिटर ग्राभिल गर्न संयोजक चौधरीले अनुरोध गरेकी छिन् । सडकमा ग्राभिल ४ मिटर हुनुपर्नेमा उक्त सडकखण्डमा मापदण्ड अनुसारको ग्राभिल नभएकाले भुक्तानी गर्न नसकिने बताएकी छिन् । कोहलपुुर नगरपालिकाले ७ सय मिटर सडकमा ग्राभिलका लागि १२ लाख बजेट छुट््याएको र मापदण्ड अनुसार ग्राभिल नभएकाले उपभोक्ता समितिलाई तत्काल ग्राभिल गर्न सुझाव चौधरीले दिएकी छिन् ।
त्यस्तै कोहलपुर वडा नं.१२ को निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको सडक पक्की गर्दा धुलो राम्रोसँग सफाई नगरेको अनुगमका क्रममा पाइएको छ । ‘पक्की गर्नु भन्दा पहिला राम्रोसँग धुलोलाई सफा गर्नुपर्ने हो, तर यहाँ गरेको पाईएन्’ उनले भनिन् । ‘यो सडक त एक वर्ष भित्रै खाल्डाखुल्डीमा परिणत हुन्छ, धुलो नै सफा नगरी पक्कि हुन नसक्ने भएकाले यो सडक पक्की गर्ने जिम्मेवारी लिएका ठेकेदारसँग छलफल गरेर मात्र भुक्तानी दिनुपर्छ ।’ कोहलपुर नगरपालिकाले पछिल्लो सयम नगर भित्रमा योजनाहरुको अनुमगन गर्ने कार्यलाई तिव्रता दिएको छ ।








प्रतिक्रिया दिनुहोस्