नेपालमा सूचनाको हक कार्यान्वयन सुधारोन्मुख, बाँकेमा भने अझै न्यून



यानबी साहु कोहलपुर,१७ चैत/  राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण प्रसाद पोख्रेलले नेपालमा सूचनाको हक कार्यान्वयनको अवस्था सुधारोन्मूख रहेको बताएका छन् ।

सूचना अधिकार समुह कोहलपुरद्वारा आयोजित बाँके जिल्लामा सूचनाको हक सम्बन्धी ऐन २०६४ कार्यान्वयनको अवस्था विषयक जिल्ला सम्मेलनमा उनले सूचनाको हक कार्यान्वयनको अवस्था सन्तोषजनक नै नभएपनि सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् ।

विश्वमा बढि भ्रष्टाचार हुने राष्ट्रहरुमध्ये नेपाल १ सय ७०औं स्थानमा पर्ने भएपनि घटेर १ सय २२औं स्थानमा आउनु पनि सूचनाको हक कार्यान्वयन पक्षमा सुधार हुँदै जानु भएको उनले बताए ।

देशमा सदाचार र सुशासन कायम राख्न सूचनाको हकको प्रयोग गर्नुपर्ने बताए । आयूक्त पोख्रेलले सदाचार र सुशासन सहितको क्षमता प्रयोग गर्न सकेमात्रै समृद्ध नेपाल बन्न सक्ने भन्दै त्यो सदाचार र सुशासन स्थापित गर्ने औजार सूचनाको हक भएको बताए ।

सूचनाका हकले नै व्यक्तिलाई अन्तस्थरणदेखि नै नैतिक रुपमा वन्धनमा पारेर सुधार गर्न प्रेरित गर्ने पोख्रेलले बताए । उनले सदाचारले लोकतन्त्रमा सूचना दिनु र लिनु पर्छ भन्ने बानीको वोध गराउँदै आफ्नो कामप्रति जिम्मेवार बनाउने बताए ।

अर्को प्रसङ्मा आयूक्त पोख्रेलले अब जनतालाई आवश्यक पर्ने सूचना सिंहदरवारभित्रका मन्त्रालयमा नभई स्थानीय तहमा आइसकेको भन्दै सम्पूर्ण विकास निमार्ण र उन्नती, प्रगतिसंग जोडिएका काम तथा स्थानीय तहलाई पारदर्शाी, जवाफदेही र जनताको मनमा बस्ने गरी बनाउन सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए ।

यस्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले हरेक कार्यालय, संघ–संस्था वा व्यक्तिले आफ्ना काम कारवाहीहरु पारदर्शी छ, भनि आम नागरिकलाई जानकारी दिन सूचना प्रवाह गर्न जरुरी रहेको बताइन् ।

यस्तै सूचना तथा मानव अधिकार केन्द्र नेपालगन्जका सचिव राकेश मिश्रले प्रस्तुत गरेको कार्यपत्रमा बाँके जिल्लाम सूचनाको हसम्बन्धी ऐन २०६४ कार्यान्वयनको अवस्था न्यून रहेको पाइएको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्की, कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु चौधरी, उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष बलबहादर चन्द, सूचना तथा मानव अधिकार केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी, नेपालगन्ज मेडिकल कलेजका वित्त विभाग प्रमुख श्याम कुमार शर्मा, वडा नम्बर १० का अध्यक्ष निरज चलाउने, पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बाँकेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको
थियो ।

कार्यक्रम सूचना अधिकार समुह कोहलपुरका अध्यक्ष जयसिंह केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव निर्मल आचार्यले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार