डिल्ली शाही : कोहलपुर,२३ फागुन/ बाँकेको कोहलपुरमास्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसले २५ औं वसन्त पार गरेको अवसरमा मंगलबार आफ्नो रजत जयन्ती मनाएको छ ।
रजत जयन्तीको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोईरालाले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कोईरालाले २१औं शताब्दिको शिक्षा भिक्षा माग्ने होइन, दिक्षा प्राप्त गर्ने शिक्षा हुन आवश्यक रहेको बताएका छन् ।
उच्च शिक्षा हासिल गरेर पनि सडकमा भोतारिनुपर्ने शिक्षाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै कोइरालाले विश्व बजारमा प्रातिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक परेको बताए । रजत जयन्तीको अवसरमा क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा संस्थापक प्राध्यापक तथा विद्यार्थीहरु, पूर्व सञ्चालक समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुखहरु, पूर्व स्व.वि.यू सभापतिहरु, पछिल्लो वर्षको नतिजामा संकायगत सर्वोत्कृष्ट स्थान प्राप्त विद्यार्थीहरु, क्याम्पसबाट अध्ययन पुरा गरी नेपाल सरकार, संस्थान, निकाय तथा प्राधिकरणका क्षेत्र र अन्य क्षेत्रका विशेष पदमा पुगि उल्लेखनिय सेवा प्रदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा साथै क्याम्पसबाट अध्ययन पुरा गरी हाल विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरु, शैक्षिक संस्थानका प्रमुखहरु, यस क्षेत्रमा रहि शैक्षिक, आर्थिक र प्रशासनिक क्षेत्रमा उल्लेखनिय सेवा प्रदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, उद्योगी, व्यापारी, क्याम्पसका प्राध्यापक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेका थियो । 









प्रतिक्रिया दिनुहोस्