शहिद दिवस र सरकारी प्रवृत्ति



भीम रावत : कोहलपुर,१७ माघ/   मंगलबार विभिन्न कार्यक्रम गरी ६२ औं राष्ट्रिय शहिद दिसव मनाइएको छ । बि.स. २०१२ साल माघ १६ गतेका दिन नेपालमा पहिलो पटक शहिद दिवस मनाइएको थियो ।

त्यसयता हाल सम्म प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाउने परम्परा शुरु भएको हो । नेपालमा प्रजातन्त्रका लागि तत्कालिन जहानिया राणा शासनका विरुद्ध आन्दोलन गरेको भन्दै बि.स. १९९७ साल माघ १० गते काठमान्डौंमा शुक्रराज शास्त्रीलाई , माघ १३ गते धर्मभक्त माथेमालाई ,माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई तत्कालिन राणा सरकारले मृत्युदण्ड दिएको थियो ।

ती शहिदहरुको सम्झनामा माघ १६ गतेलाई शहिद दिवस मनाउदै आएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको हुन्छ । बि.स.२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका १९ जनालाई प्रजातन्त्रको पुनः स्थापना पछिको सरकारले सम्मान स्वरुप जनही रु १ लाख आर्थिक सहयोग गरेको थियो भने २०६३÷०६३को जनआन्दोलनमा सहादत प्राप्त गरेका २६ जनालाई पनि सरकारले शहिद घोषणा गरेको थियो ।

तर २०६३÷०६३ को जनआन्दोलन पश्चात सरकारले विभिन्न आन्दोलन र घटनाहरुमा मरेका व्यक्तिहरुलाई पनि राजनीतिक आस्थाको आधारमा शहिद घोषणा गर्ने गलत परम्परा बसाले पछि नेपालमा कति जनालाई शहिद घोषणा गरियो भन्ने एकिन तथ्याङ्क समेत नभएको गृह मन्त्रालय स्रोत बताउँछ । बि.स. २०६५ पुस ३ गते सरकार नेपाल सरकारले ६ हजार ३ सय ४४ जनालाई शहिद घोषणा गरेको थियो ।

त्यसयता नेपालको तराई–मधेश,थारुहट आदि आन्दोलनका क्रममा मृत्यु भएका कति जनालाई सरकारले शहिद घोषणा ग¥यो त्यसको यकिन तथ्याङ्क गृह मन्त्रालय सँग समेत छैन । पछिल्लो पटक सरकारले शहिद घोषणा गर्ने र रु १० लाख आर्थिक सहयोग गर्न थाले पछि शहिद घोषणा पनि राजनीतिक आस्थाका र सस्तो लोकप्रियतासँग जोडिएकाले वास्तविक शहिदहरुको अपमान भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

बि.स.२०६७ असार ९ गते नेपाल सरकारले शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा १ हजार ६ सया १९ जनालाई शहिद घोषणा गरेको थियो । पछिल्लो पटक यही माघ ३ गते वर्तमान सरकारले विभिन्न समयमा विभिन्न घटनामा मृत्यु भएका १ सय ९० जनालाई शहिद घोषणा गरेको छ ।

यसरी मुलुकमा विना मापदण्ड जथाभावी शहिद घोषणा गर्ने गलत परम्पराले गर्दा झैझगडा तथा दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुलाई समेत शहिद घोषणा गर्नु पर्ने र रु १० लाख आर्थिक सहयोगका लागि राज्यलाई जबरजस्त दबाव दिने प्रचलनले देशमा आमुल परिवर्तनका , प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रका लागि निरंकुशताका विरुद्ध आफ्नो जीवन उत्सर्ग गर्ने वास्तविक शहिदहरुको सम्मानमा आघात पुगेको र त्यस्ता शहिदहरुका परिवारजनको भावनामा ठेस पुगेको महसुस भएको शहिद परिवारहरुको गुनासो रहँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार