कोहलपुर ।
किसानहरुलाई समयमै मल तथा बीउ बिजन उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । खेतीपातीको सिजन शुरु हुन थालेसँगै किसानहरुलाई आवश्यक बस्तुहरु समयमै उपलब्ध गराउन ध्यानाकर्षण गराइएको हो । समयमै मल र बीउ पाइए किसानहरुको उत्पादन बढ्ने भन्दै समयमा मल तथा बीउ बिजनको व्यवस्थापनसँगै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले शुक्रबार लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विजय बहादुर यादवलाई ज्ञापन पत्र बुझाउँदै समयमै कृषि बस्तुको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका हुन् ।
प्रत्येक वर्ष मल तथा बीउ बिजनको अभाव झेल्दै आएका बाँकेका किसानहरुले यस वर्ष पनि उक्त समस्या झेल्न नपरोस् भन्नका लागि समयमै मल तथा बीउ बिजनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेर ध्यानाकर्षण पत्र बुझाइएको महासंघका अध्यक्ष भण्डारीले बताए । यस्तै उनीहरुले भारतबाट आयातीत कृषि उत्पादनलाई नियन्त्रण गर्दै नेपाली उत्पादनलाई बजार व्यवस्थापन गरिनुपर्ने, उत्पादित बीउ बिजन र मल भण्डारणका लागि उपयुक्त कोल्ड स्टोरको व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण कृषकहरुको हित र पहुँच पुग्ने गरि कृषि अनुदानलाई व्यवस्थापन गर्नुपर्ने र कृषि एम्बुलेन्सलाई प्रभावकारी बनाउनुपर्ने समेत बताएका छन् ।
विभिन्न रोग र दैवीप्रकोपका कारण कृषिमा हुने क्षतीको क्षतीपुर्तीका लागि किसानहरुलाई बीमाको परिधिभित्र ल्याई उत्पादनलाई सुरक्षित गर्नुपर्ने र हाल कोभिडको अवस्थामा कृषि उत्पादनलाई सहज रुपमा ढुवानी गर्न पासको व्यवस्था गरिनुपर्ने कुराहरु ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ । मन्त्री यादवले किसानहरुका समस्या हल गर्नको लागि आफु लागिपरेको बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्