खजूरा,३ माघ/ बाँकेको खजूरामा बुधबारदेखि महोत्सवको सुरुवात भएको छ । खजूरालाई राष्ट्रिय र अन्तर्राष्टिूय रुपमा चिनाउने, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण र विस्तार गर्ने तथा सामाजिक सदभाव कायम गर्ने उद्देश्यकासाथ महोत्सवको सुरुवात भएको हो । खजूरा गाउँपालिका वडा नम्बर ४ एकनम्बरमा माघ १० गते सम्म संचालन हुने मुसबेटवा बाबा मेला तथा खजूरा महोत्सव–२०७४ को बुधबार बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाय, प्रदेशसभा सदस्य बाबुराम गौतम र आइपी खरेलले संयुक्तरुपमा उद्घाटन गरे ।
मुसबेटवा बाबा मेला स्थल हिन्दु र इस्लाम धर्मावलम्बीहरुले सम्मान गर्ने एक धार्मिक स्थल हो । मेलाको सांसद रोकाय, गौतम र खरेलले मजारमा च्यादर ओढाएर उद्घाटन गरे । महोत्सवबाट संकलित रकम मुसबेटवा मजारको संरक्षण गर्ने पवित्र उद्धेश्य राखिएको आयोजक आधुृनिक युवा सञ्जालका अध्यक्ष समेत रहका मेला संयोजक तिलकवीर सुनारले बताए । आयोजक सञ्जालका अध्यक्ष सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संसाद रोकाय, प्रदेश सांसद गौतम र खरेलसहित खजूरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, खजूरा रेडक्रसका सभापति जीवनाथ सापकोटा,, नेपाल क्यान्सर अस्पतालका उपाध्यक्ष शिवराज श्रेष्ठ, आमा समूहका अध्यक्ष टिका सापकोटा, ज्ञानोदय माविका प्राचार्य ऋषिराम सापकोटा, अरुणोदय स्कुलका प्रिन्सीपल ऋषिकेस जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सवमा एकसय ब्यापारिक स्टल, थारु होमस्टे, कृषि, खाद्यान्न लगायतका गरि १५० स्टल रहेका छन् । महोत्सवमा एकलाख बढिले अवलोकन गर्ने र डेढ करोड रुपियाको कारोबार हुने अपेक्षा आयोजकको छ । मेलाको उद्घाटनमा मध्यपश्चिम नेपालमा प्रचलित कुरकुर्टी र सिंगारु नाच समेच प्रस्तुत गरिएको थियो । खजूरा गाउँपालिका ४ ईगाउँको टोलीले कुरकुटी र सिंगारु नाच प्रस्तुत गर्दा दर्शकहरुको वाहवाही पाएको थियो । महोत्सवमा आज बिहिवार चर्चित हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) र गायिका तृप्ती खड्काको प्रस्तुती रहने भएको छ । शुक्रबार महानायक राजेश हमालको प्रस्तुती रहने छ ।









प्रतिक्रिया दिनुहोस्