
ललितपुर ।
नेपाली काँग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि आयोगले काँग्रेसको अद्यावधिक गरिसकेकाले आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णय पनि गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए । सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको, संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । शिवाकोटीका अनुसार पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको विषयमा पनि बैठकमा छलफल भएको छ ।
स्थानीय चुनावको तयारीका लागि देशभरिका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ ।
सुकुमबासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयको पनि विरोध गरिएको शिवाकोटीले बताए । बैठकका पूर्ण निर्णय आज शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने काँग्रेसले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्