
नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । मंसिर १२ गते शनिबार आयोजना हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो । म्याराथनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले १२ वटा विधा समावेश गरिएको म्याराथनका सबै विधामा गरी एक हजार पाँच सय धावकहरू सहभागी हुने अनुमान गरिएको जानकारी दियो । भारत तथा अन्य विदेशी मुलुकबाट पनि करिब एक दर्जन धावकहरूले रजिष्ट्रेशन गरेका म्याराथनका अध्यक्ष टीएस ठकुरीले बताए ।
सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको र यस वर्षको संस्करणमा १२ वटा विधा समावेश गरिएको म्याराथनको रुट नेपालगन्जस्थित वीपी चोकबाट सुरु भई कोहलपुर नगरपालिकासम्म पुगेर पुनः नेपालगन्ज फर्किँदै वीपी चोकमा पुगेर समापन हुन्छ । यसवर्षको म्याराथनमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश रहेको ठकुरीले जानकारी दिए । यसैगरी तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि समावेश रहेका ठकुरीको भनाइ छ ।
४२ किलोमिटरको खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले पनि समय सुधारका लागि दौडिन सक्ने व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिएका छन् । ४२ किलोमिटर दौडमा ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टै वरीयताक्रम निर्धारण गरी प्रत्येक समूहका पहिलो तीन स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिने भएको छ । एबोट वल्र्ड म्याराथन मेजर्ससँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने र विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाइएको छ ।
विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वल्र्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष ठकुरीले बताए । धारा नेपालगन्ज म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले सबैको सामूहिक प्रयत्नबाट यो अभियान सफल हुँदै गएको बताए । आउँदा दिनमा पनि सहकार्य बढाउँदै जान सबैलाई आग्रह गरे । उनले म्याराथनका धावकहरूलाई ठाउँ ठाउँमा स्वागत तथा हौसला प्रदान गर्ने वातावरण बनाउन सम्बद्ध सबैलाई आग्रह पनि गरेका छन् । यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको जानकारी दिँदै ठकुरीले नेपालगन्ज म्याराथनले एम्सको अन्तर्राष्ट्रिय सोसल अवार्ड प्राप्त गर्नु पनि उपलब्धीको रूपमा रहेको बताए ।
आज नेपालगन्ज कन्क्लेभको छैटौँ शृंखला (बक्स)
१२औँ नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा हुँदै आएको नेपालगन्ज कन्क्लेभको छैटौँ शृंखला आज शुक्रबार सञ्चालन हुने भएको छ । कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्यका विविध विषयमा प्यानल विमर्श, साहित्यिक प्रस्तुति तथा देउडा गायन पनि हुने भएको छ । कनक्लेभका निर्देशक जनक नेपालका अनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म सीटी प्यालेसमा सञ्चालन हुने कार्यक्रममा पाँचवटा सेसन रहनेछन् । ‘खेल, पर्यटन र युवाः सम्भावनाको नयाँ ढोका’ शीर्षकको पहिलो सेसनमा एभरेष्ट म्याराथनका सीईओ शिखर पाण्डे, पूर्वखेलाडी नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल २०२६ दीपमाला ढकाल सहभागी हुने जानकारी दिइएको छ ।
त्यस्तै, युवा उद्यमीमार्फत व्यवसाय विस्तार, तीन तहका सरकारबीचको समन्वय र कार्यसम्पादन, कथाको भविष्य तथा प्रकाशनका चुनौतीबारे छुट्टाछुट्टै सेसनमा बहस हुने भएको छ । ती सेसनमा उद्यमी, व्यवसायी, जनप्रतिनिधि, कथाकार तथा प्रकाशक सहभागी हुनेछन् । अन्तिम सेसनमा नेपाली, उर्दु, अवधी, थारू र मगर भाषाका कविहरूले कविता वाचन गर्नुका साथै २० जनाको टोलीले देउडा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । निर्देशक नेपालका अनुसार नेपालगन्जलाई शान्ति, सद्भाव, खेलकुद र विचार विमर्शको सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रयासस्वरुप कन्क्लेभ आयोजना गरिएको हो । उनले कनक्लेभ र म्याराथन दुवै कार्यक्रममा सहभागी हुन सर्वसाधारण, युवा, खेलाडी, साहित्यकार, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह पनि गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्