वीरेन्द्रनगर ।
नेपाली काँग्रेसभित्रको विवादबीच शेरबहादुर देउवा पक्षले आफ्नो १५औँ कर्णाली प्रदेश अधिवेशन मंसिर १३ र १४ गते वीरेन्द्रनगरको सिटी हलमा गर्ने भएको छ । देउवा पक्षकी नेतृ तथा कर्णाली प्रदेश संयोजक रंगमती शाहीका अनुसार अधिवेशनको सम्पूर्ण तयारी भइसकेको छ । दुई दिन सञ्चालन हुने अधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । उनी सहभागी हुन १२ गते नै सुर्खेत आउने शाहीले जानकारी दिइन् ।
बिहीबार वीरेन्द्रनगरमा अधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो । सो अधिवेशनमा दुई हजारदेखि दुुई हजार ५०० जना नेता कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ, जसमध्ये एक हजार २०० जना प्रतिनिधि छन् । शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरू पनि सहभागी हुने शाहीले जानकारी दिइन् । देउवा पक्षका कर्णालीमा आठ वटा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् ।
सुर्खेत र डोल्पामा बाँकी छ । शाहीका अनुसार सुर्खेत जिल्ला र कर्णाली प्रदेशको अधिवेशन सँगसँगै गर्ने गरी तय गरिएको हो । विवाद चर्किरहेका बेला देउवा पक्षकी नेतृ शाहीले नेता पूर्णबहादुर खड्काले पार्टीको रुख चिह्न आन्तरिक रूपमा अपहरण गरेको आरोप लगाएकी छन् । उनले खड्का अब आफ्नो समूहको नेता नरहेको घोषणा पनि गरिन् । पत्रकार सम्मेलनमा शाहीले बाहिरी रूपमा गगन थापाले रुख चिह्न खोस्ने काम गरेको र आन्तरिक रूपमा त्यसमा खड्काको पनि ठूलो हात रहेको दाबी गरिन् ।
शाहीका अनुसार देउवा पक्षले खड्कालाई देउवापछिको पहिलो नेताका रूपमा सम्मान गर्दै आएको थियो । सोही कारण उनी देशको उपप्रधानमन्त्रीदेखि कार्यवाहक सभापतिसम्म बनेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले परिस्थिति फेरिएको छ । त्यसैले हामीले पूर्णबहादुर दाइलाई नेता त मान्थ्यौँ, मानेका पनि थियौँ । अब हाम्रो टिमले, शेरबहादुर देउवाको टिमले पूर्णबहादुर खड्कालाई नेता मान्दैनौँ ।’
शाहीले खड्काले आफ्ना अधिकांश मान्छेलाई गगन काँग्रेसको अधिवेशनमा पठाइसकेको आरोप पनि लगाइन् । गाउँगाउँमा प्रतिनिधिहरूलाई फोन गरेर धम्क्याएको र त्यसको रेकर्ड आफूसँग रहेको उनको दाबी छ । तर उनले उक्त रेकर्ड सार्वजनिक गरेकी छैनन् । काँग्रेस महाभारतको युद्धमा रहेको टिप्पणी गर्दै पार्टीको रुख चिह्न अदालतमा रहेको उनको तर्क छ । तर चिह्न कसले पाउने भन्ने लडाइँ जारी रहेको देउवा पक्षको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्