मासपुरका २६ मध्ये २२ घरधुुरीका लालपुर्जा कार्यालयमै थन्किए



हुम्ला ।

राज्यले नागरिकलाई जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा उपलब्ध गराउनुपर्ने हो । तर हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका नागरिकका लागि यही सामान्य प्रशासनिक प्रक्रिया वर्षौँदेखिको प्रतीक्षामा परिणत भएको छ । गाउँका अधिकांश बासिन्दाले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा तयार भइसके पनि उनीहरूको हातमा पुग्न सकेको छैन ।

मासपुरका २६ घरधुरीमध्ये २२ घरधुरीका जग्गाधनीले अझै आफ्नो जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । तीन वर्षअघि नै तयार भएका ती लालपुर्जा भूमि प्रशासन कार्यालयमा थन्किएका छन् । चार घरधुरीका व्यक्तिले भने सदरमुकाम सिमकोटसम्म आउजाउ गर्न सक्ने भएकाले आफ्नो लालपुर्जा बुझिसकेका छन् । बाँकी २२ परिवारका लागि भने आफ्नै जग्गाको स्वामित्व प्रमाणित गर्ने सरकारी कागज लिनु पनि ठूलो चुनौती बनेको छ ।

राज्यको सेवा नागरिकको घरदैलोसम्म पुग्न नसक्दा दुर्गम बस्तीका नागरिकले आफ्नै अधिकार प्राप्त गर्नसमेत कति ठूलो मूल्य चुकाउनुपर्ने अवस्था छ । मासपुर जिल्लाकै दुर्गम बस्तीमध्ये एक हो । सडक सञ्जालले नछोएको यस गाउँका नागरिकलाई सामान्य सरकारी सेवा लिनसमेत लामो दूरी पार गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सिमकोट पुग्नु उनीहरूका लागि सामान्य आवतजावत नभई समय, श्रम र आर्थिक स्रोत खर्चिने कठिन यात्रा हो ।

तीन वर्षअघि तत्कालीन मालपोत कार्यालय तथा हालको भूमि प्रशासन कार्यालयका कर्मचारी गाउँमै पुगेर स्थानीयको जग्गा नापजाँच गरेका थिए । जग्गाधनीको विवरण संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेपछि लालपुर्जा तयार गरिएको थियो । तर गाउँमै पुगेर जग्गाको विवरण संकलन गर्न सक्ने राज्यले तयार भएको लालपुर्जा सम्बन्धित नागरिकको हातसम्म पु¥याउन सकेन ।

नापजाँच र कागजी प्रक्रिया पूरा भए पनि वितरणको अन्तिम चरणमा नागरिकलाई नै सदरमुकाम धाउनुपर्ने अवस्था आयो । यसले राज्यको सेवा प्रवाहमा रहेको एउटा ठूलो विरोधाभास उजागर गरेको छ । नागरिकको अवस्था र भौगोलिक कठिनाइ बुझेर गाउँमै पुग्ने प्रशासनिक तत्परता देखिए पनि सेवा वितरणको अन्तिम जिम्मेवारी भने नागरिककै काँधमा छाडिएको छ । स्थानीय ठानबहादुर बुढाका अनुसार गाउँबाट सदरमुकाम सिमकोट आउन सहज छैन ।

आर्थिक अवस्था कमजोर भएका र यात्रा खर्च जुटाउन नसक्ने परिवारले लालपुर्जा लिन चाहेर पनि कार्यालयसम्म पुग्न नसकेको अवस्था उनले बताए । ‘मासपुरका स्थानीयले वर्षौँदेखि आफ्नो जग्गा भोगचलन गर्दै आएका छन् । खेतीपाती गर्छन्, घर बनाएका छन् र त्यही जमिनलाई आफ्नो जीविकोपार्जनको आधार बनाएका छन्,’ उनले भने, ‘तर उनीहरूको हातमा जग्गाको स्वामित्व पुष्टि गर्ने आधिकारिक कागजात छैन ।’

कानुनी रूपमा जग्गाको स्वामित्व प्रमाणित गर्ने महत्वपूर्ण आधार लालपुर्जा हो । यस्तो प्रमाणपत्र नहुँदा जग्गाधनीले कारोबार, हक हस्तान्तरण तथा अन्य प्रशासनिक प्रक्रियामा समस्या भोग्नुपर्ने जोखिम छ । लालपुर्जा कार्यालयमा तयार भएर बसेको छ भन्ने जानकारी हुँदाहुँदै पनि लिन जान नसक्नुले दुर्गम नागरिकको वास्तविक समस्या देखाउँछ । एकातिर सरकारले लालपुर्जा तयार गरिसकेको छ, अर्कोतिर सम्बन्धित जग्गाधनी त्यसको प्रत्यक्ष लाभ लिनबाट वञ्चित छन् ।

मासपुरका सबै नागरिकलाई आफ्नो लालपुर्जा तयार भइसकेको जानकारीसमेत छैन । सरकारी सेवा र प्रक्रियाबारे पर्याप्त सूचना नपाउँदा कतिपय स्थानीयले लालपुर्जा बनेको विषयलाई नै प्राथमिकतामा राख्न सकेका छैनन् । स्थानीय धनबहादुर बुढाका अनुसार गाउँका कतिपय नागरिकलाई लालपुर्जाको महत्वबारे जानकारी छैन । केहीलाई आफ्नो जग्गाको लालपुर्जा तयार भएको विषयसमेत थाहा नभएकाले लिन जानेतर्फ ध्यान पुग्न नसकेको उनले बताए ।

उनका अनुसार विकासका आधारभूत पूर्वाधारसमेत पर्याप्त रूपमा नपुगेको मासपुरमा वडा कार्यालय, गाउँपालिका र भूमि प्रशासन कार्यालयले नागरिकलाई लालपुर्जाको महत्वबारे जानकारी गराउन आवश्यक छ । भूमि प्रशासन कार्यालय, हुम्लाका अनुसार मासपुरका स्थानीयको जग्गाको लालपुर्जा तयार भइसकेको छ । तर सम्बन्धित जग्गाधनी लिन नआउँदा ती लालपुर्जा कार्यालयमै थन्किएका हुन् ।

कार्यालयका अनुसार स्थानीयलाई पटकपटक खबर गर्दा पनि लालपुर्जा बुझ्न कोही नआएको उल्लेख छ । कार्यालयको भनाइमा कागजात तयार भइसकेपछि सम्बन्धित व्यक्तिले कार्यालयमा उपस्थित भएर बुझ्नुपर्ने हुन्छ । मासपुरको समस्या समाधानका लागि अब नागरिकलाई सदरमुकाम बोलाउने परम्परागत प्रक्रियामै सीमित हुनु पर्याप्त देखिँदैन ।

तीन वर्षदेखि कार्यालयमा थन्किएका २२ घरधुरीका लालपुर्जा सम्बन्धित नागरिकसम्म पु¥याउन स्थानीय तह र भूमि प्रशासन कार्यालयले संयुक्त पहल गर्नुपर्ने देखिन्छ । ताँजाकोट गाउँपालिकाले पनि यस विषयलाई सामान्य प्रशासनिक कामका रूपमा मात्र नलिई नागरिकको सम्पत्तिसम्बन्धी अधिकारसँग जोडेर हेर्न आवश्यक छ । गाउँपालिकाले भूमि प्रशासन कार्यालयसँग समन्वय गरी लालपुर्जा वितरणका लागि विशेष अभियान सञ्चालन गर्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार