काठमाडौँ ।
चालू आर्थिक वर्ष २०८३–०८४ पहिलो चार महिना (साउन–कात्तिक)मा करिब साढे ५ अर्ब रूपैयाँँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रूपैयाँँ बराबरको ६८ हजार २ सय २७ टन (६ करोड ८२ लाख २७ हजार ३ सय ९९ किलो) धानचामल आयात भएको छ । साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक व्यापार तथ्यांकअनुसार गत आव २०८२–०८३ को सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ र मूल्यमा ४६.८३ प्रतिशत भारी गिरावट आएको छ । गत आव पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार बराबरको १ लाख ८५ हजार १ सय ९८ टन धानचामल भित्रिएको थियो ।
अघिल्लो वर्षको तुलनामा चालू आव सोही अवधिमा धानचामल आयात परिमाण १ लाख १६ हजार ९ सय ७० टन र मूल्य ४ अर्ब ७७ करोड ८८ हजार रूपैयाँँ घटेको हो । चालू आव साउन–कात्तिक अवधिमा १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रूपैयाँँ बराबरको २२ हजार ९ सय २ टन धान मात्रै आयात भएको छ ।
यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजारको २२ हजार ९ सय २ टन र ५ लाख १ हजार रूपैयाँँको ६७ किलो धानको बीउ समावेश छ । गत आव पहिलो चार महिनामा भने ३ अर्ब ५९ करोड ९० लाख १६ हजार ९६ हजार ९ सय ७० टन धान आयात भएको थियो । जसमा ३ अर्ब ५९ करोड ६७ लाख ५९ हजारको ९६ हजार ९ सय १३ टन धान र २२ लाख ५७ हजारको ५६.५ टन धानको बीउ थियो ।
तथ्यांक तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष धान आयात परिमाण ७४ हजार ६७ टन र मूल्य २ अर्ब ५६ करोड २० लाख २० हजार रूपैयाँँ घटेको छ । यस्तै चालू आव चार महिनामा चामल मात्रै (खैरो चामल, बासमती, अन्य चामल र कनिका सहित) ४ अर्ब ३७ करोड ७८ लाख २५ हजार बराबरको ४५ हजार ३ सय २४ टन आयात भएको छ । गत आव सोही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख ९३ हजारको ८८ हजार २ सय २७ टन चामल आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा चामल आयात ४२ हजार ९ सय ३ टन र मूल्य २ अर्ब २० करोड ८० लाख ६८ हजार रूपैयाँँ घटेको छ ।
चामलका विभिन्न प्रकारमध्ये चालू आव चार महिनामा बासमती चामल मात्रै २ अर्ब ४५ करोड ८४ लाख ९९ हजार रूपैयाँँको १८ हजार ९८ टन आयात भएको छ । गत वर्ष सोही अवधिमा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार बराबरको २२ हजार ८८ टन बासमती चामल भित्रिएको थियो । बासमतीबाहेक अन्य सेमिमिल्ड वा होल्लीमिल्ड चामल आयात भने उल्लेख्य घटेको छ । गत वर्ष ४ अर्ब ४ लाख ७९ हजार रूपैयाँँ बराबरको ६२ हजार ८ सय ८३ टन आयात भएको चामल चालू आव चार महिनामा १ अर्ब ८९ करोड २० लाख ९९ हजारको २६ हजार ५ सय ७५ टनमा झरेको छ ।
त्यसैगरी कनिका आयात गत वर्षको १३ करोड ३२ लाख १९ हजार रूपैयाँँ (३ हजार २ सय ५२ टन)बाट यस वर्ष २ करोड ७१ लाख ९ हजार रूपैयाँँ (६ सय ४९ टन )मा सीमित भएको छ । खैरो चामल पनि गत वर्ष ४ लाख २० हजार रूपैयाँँको ३.४ टन आएकोमा यस वर्ष १ लाख १८ हजार रूपैयाँँको शून्य दशमलव ८ टन मात्रै आयात भएको छ । चालू आव चार महिनामा धानचामल आयातबाट कूल ४४ करोड ६२ लाख ६८ हजार बराबर राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा भने कूल ७७ करोड ४१ लाख ३२ हजार राजस्व संकलन भएको थियो । नेपालको धानचामल आयातमा यस अवधिमा पनि भारतकै एकछत्र वर्चस्व देखिएको छ ।
एक खर्ब ५६ अर्बको वस्तु आयात (बक्स)
नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ । गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ । कात्तिकमा ३० दिनमध्ये १९ दिन बिदा परेको थियो । लामो बिदाका कारण व्यापारिक गतिविधि प्रभावित हुँदा आयात पनि केही प्रभाव परेको हुन सक्ने अधिकारीहरूको बुझाइ छ । भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ खर्ब ४६ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो ।
कात्तिकमा आयात ९० अर्ब रूपैयाँले घटेको हो । अघिल्लो महिनाको तुलनामा आयात ३६.५ प्रतिशत कम भएको छ । तर, गत वर्षको कात्तिकसँग तुलना गर्दा आयात बढेको छ । गत वर्ष कात्तिकमा १ खर्ब ४१ अर्ब ३६ करोड रूपैयाँको वस्तु आयात भएको थियो । यस वर्ष कात्तिकमा १ खर्ब ५६ अर्ब ३१ करोड रूपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा आयात १०.५७ प्रतिशतले बढेको हो । कात्तिकमा निर्यात भने घटेको छ । गत वर्ष कात्तिकमा २० अर्ब ७१ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष १९ अर्ब ८५ करोड रूपैयाँको मात्रै निर्यात भएको छ । निर्यात ४.१३ प्रतिशतले घटेको हो । आयात घटे पनि निर्यातमा कमी आउँदा कात्तिकमा व्यापार घाटा बढेको छ ।
गत वर्ष कात्तिकमा १ खर्ब २० अर्ब ६५ करोड रूपैयाँ व्यापार घाटा रहेकोमा यस वर्ष १ खर्ब ३६ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ । व्यापार घाटा १३.०९ प्रतिशतले बढेको हो । कात्तिकमा नेपालको कूल वैदेशिक व्यापार १ खर्ब ७६ अर्ब १७ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कात्तिकमा १ खर्ब ६२ अर्ब ८ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो । कूल वैदेशिक व्यापार ८.६९ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्मको चार महिनामा भने आयात ३१.७७ प्रतिशतले बढेको छ । यस अवधिमा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँको वस्तु आयात भएको छ । गत वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँको आयात भएको थियो । चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रूपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा ९३ अर्ब ४९ करोड रूपैयाँको निर्यात भएको थियो । चार महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्