नेपालगन्ज (बाँके) ।
नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न क्रियाशील सार्वजनिक सरोकार कानुन व्यवसायी समूहले लैगिक हिंसाविरुद्धको १६ दिने अभियानभर लैगिक हिंसापीडितलाई निःशुल्क कानुनी सहयोग गर्ने जनाएको छ । अभियान नोभेम्बर महिनाको २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म सञ्चालन गरिन्छ ।
समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार नेपालगन्जमा बसेको बैठकले विशेष गरि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानभर समूहमा आबद्ध कानुन व्यवसायीहरूले कानुनी सहायता परेका पीडितहरूलाई सेवा दिने स्वघोषणा गरेको समूहका सहसंयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए । बैठकले सार्वजनिक सरोकारका मुद्दामा निरन्तर वकालत तथा पैरवी गर्ने, सार्वजनिक सरोकारका विषयमा विभिन्न अदालतबाट भएका महत्वपूर्ण फैसलाको प्रभावकारी कार्यान्वयन, नयाँ सार्वजनिक सरोकारका विषयको पहिचान र न्यायिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्ने कार्यलाई आगामी दिनमा प्राथमिकता दिने गरि जिम्मेवारी बाँडफाँट गरिएको छ ।
बैठकमा सार्वजनिक सरोकारका मुद्दामार्फत नागरिकका अधिकार संरक्षण गर्न हासिल भएका उपलब्धि, फैसला कार्यान्वयनको अवस्था, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको समूहका सहसंयोजक तथा प्रवक्ता गौतमले जानकारी दिए । समूहका संयोजक श्रेष्ठले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका फैसलाले नागरिकको हकअधिकार संरक्षण र सार्वजनिक निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै फैसला कार्यान्वयनलाई उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनका अनुसार अदालतबाट सकारात्मक र दूरगामी महत्वका फैसला भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसके नागरिकले न्यायको वास्तविक अनुभूति गर्न सक्दैनन् । त्यसैले कानुनी लडाइँसँगै फैसला कार्यान्वयनका लागि निरन्तर अनुगमन, सरोकारवालासँग समन्वय तथा आवश्यक कानुनी र दबाबमूलक पहल गरिनेछ ।
बैठकले नयाँ सार्वजनिक सरोकारका मुद्दा तथा विषय पहिचान गरी आवश्यकताअनुसार न्यायिक उपचारको पहल गर्ने, अदालतका फैसला कार्यान्वयनको अवस्थाबारे अध्ययन तथा समीक्षा गर्नेे निर्णय गरेको समूहको सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए ।
समूहले बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्ने विषयमा अदालतबाट भएको फैसलाको कार्यान्वयन अवस्था तथा कर्णाली प्रदेशमा बाल सुधारगृह स्थापनाका लागि भएका प्रगतिबारे जानकारी लिई आवश्यक कार्य गर्ने, बालबालिकाको शिक्षाको अधिकार, बालमैत्री न्यायप्रणाली र सुधारमुखी बालन्यायको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय र जवाफदेहिता आवश्यक रहेको बैठकमा औँल्याइएको थियो ।
यसैगरी, सार्वजनिक सरोकारका मुद्दामा उच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको दोस्रो संग्रह प्रकाशन गर्ने र यसका लागि समूहका सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको समूहका महासचिव अधिवक्ता विकास आचार्यले जानकारी दिए । उक्त संग्रहले सार्वजनिक सरोकारको न्यायिक अभ्यास, स्थापित नजिर तथा नागरिक अधिकारका विषयमा कानुन व्यवसायी, अधिकारकर्मी, विद्यार्थी र आम नागरिकसम्म पु¥याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सदस्य विश्वजित तिवारीले बताए ।
समूहका संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह तथा अधिवक्ता वसन्त गौतम, महासचिव विकास आचार्य, सचिव सुनिता शर्मा, सदस्यहरू अधिवक्ता विश्वजित तिवारी, बलबहादुर चन्द र सुरेशकुमार गौतमलगायतका समूहमा आबद्ध कानुन व्यवसायी तथा सदस्य अधिकारकर्मी भोला महतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्