लैंगिक हिंसाविरुद्धको दिवसःकानुन र अभियानबीच पनि रोकिएन महिला हिंसा



शेरबहादुर ऐर । कैलाली ।

कैलालीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाका घटना न्यूनीकरण हुन सकेका छैनन् । लैंगिक हिंसाविरुद्ध वर्षौँदेखि विभिन्न अभियान सञ्चालन हुँदै आए पनि घरेलु हिंसा, जबरजस्ती करणी, बालविवाह, बहुविवाह, बाल यौन दुरुपयोगलगायतका घटना अझै कायमै छन् । लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन भएको ३४ वर्ष पुगिसक्दा पनि हिंसाका घटनामा अपेक्षित कमी नआउनु चुनौतीका रूपमा देखिएको छ । चेतनाको कमी, लागूऔषधको प्रयोग, कुरीति, कुसंस्कार तथा पितृसत्तात्मक सोचका कारण महिलामाथि हुने हिंसा निरन्तर भइरहेको सरोकारवालाहरू बताउँछन् ।

कैलालीमा पछिल्लो तीन वर्षमा मात्रै एक हजार पाँच सयभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म पुगेका छन् । गत आर्थिक वर्षमा मात्रै घरेलु हिंसासम्बन्धी पाँच सय २३ वटा उजुरी प्रहरीमा पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म पनि एक सय ७५ वटा घरेलु हिंसाका घटना प्रहरीमा पुगेका छन् । घरेलु हिंसासँगै जबरजस्ती करणीका घटनाको अवस्था पनि चिन्ताजनक देखिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा कैलालीमा ८२ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०८१–०८२ मा यो सङ्ख्या बढेर ८९ पुगेको थियो भने २०८२–०८३ मा ९७ वटा घटना दर्ता भएका छन् । चालू आर्थिक वर्षको हालसम्म मात्रै ४७ वटा जबरजस्ती करणीका घटना प्रहरीमा पुगेका छन् । बालविवाह, बहुविवाह तथा बाल यौन दुरुपयोगका घटना पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेका छैनन् । बहुविवाहसम्बन्धी आर्थिक वर्ष २०८०–०८१ मा २९ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१–०८२ मा २५ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा २२ वटा मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको हालसम्म पनि नौ वटा बहुविवाहसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरीमा पुगेका उजुरीमध्ये घटनाको प्रकृति र अवस्थाअनुसार मिलापत्र गराउने, न्यायिक समितिमा पठाउने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार कैलालीमा विशेषगरी बोक्सी आरोप, बालविवाह, बहुविवाह र जबरजस्ती करणीसम्बन्धी उजुरी आउने गरेका छन् । प्रहरीसम्म पुगेका तथ्यांकले मात्रै पनि समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था गम्भीर रहेको देखाउने उनको भनाइ छ ।

अभियान चलिरहे पनि सोचमा परिवर्तन भएन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भए पनि बर्सेनी अभियान सञ्चालन हुँदैमा मात्रै हिंसा अन्त्य हुन नसकेको सरोकारवालाहरू बताउँछन् । सहरदेखि गाउँसम्म महिलाहरू घरेलु हिंसाको सिकार बन्नुपरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, आर्थिक निर्भरता तथा समाजको डरका कारण कतिपय महिला हिंसा सहेर बस्न बाध्य हुने गरेका छन् ।

त्यसका कारण प्रहरी वा सम्बन्धित निकायसम्म पुग्ने घटनाको सङ्ख्या वास्तविक घटनाभन्दा कम हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् ।महिला अधिकारकर्मी साबित्रा घिमिरेका अनुसार अझै पनि समाजमा पितृसत्तात्मक सोच बलियो भएकाले महिलामाथि हिंसा हुने गरेको छ । महिलाले मात्रै घरको काम गर्नुपर्ने, महिलाको भूमिका पुरुषभन्दा पछाडि हुनुपर्ने तथा निर्णय प्रक्रियामा महिलाको सहभागितालाई कमजोर ठान्ने सोच अझै कायम रहेको उनको भनाइ छ ।

त्यसका साथै सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पनि हिंसा न्यूनीकरणमा समस्या देखिएको उनले बताइन् । महिला अधिकारकर्मी गीता चौधरीले पनि महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच परिवर्तन आवश्यक रहेको बताइन् । सबै पक्षको सोच सकारात्मक भए समाज परिवर्तन गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।

दुई निकायबीच समन्वय अभाव 

बुधबारदेखि कैलालीसहित देशभरी ३५औँ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भयो । तर, धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच नै समन्वय अभाव देखिएको छ । सचेतना जगाउने उद्देश्यसहित सुरु भएको अभियानमा दुई निकायले अलग–अलग कार्यक्रम गर्दा मन्त्रालय र उपमहानगरबीच दूरीजस्तै देखिन्छ ।
धनगढी उपमहानगरपालिकाले प्रभातफेरी ¥यालीको आयोजना गरि अभियानको शुभारम्भ गरेको थियो भने धनगढीमै रहेको सामाजिक विकास मन्त्रालयले सरोकारवालाहरूसँगको सहभागितामा कार्यक्रम गरेको थियो ।

धनगढी उपमहानगरपालिकाले ट्राफिक चौराहदेखि जेनजी मार्गसम्म बाजागाजासहित ¥यालीको आयोजना गरेको थियो । उपप्रमुख कन्दकला रानाको सहभागितामा सुरु भएको ¥यालीमा उपमहानगरपालिका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघ–संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
जेनजी मार्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रमुख कन्दकला रानाले धनगढी उपमहानगरपालिकाले महिलामाथि हुने हिंसा अन्त्यका लागि सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

महिलालाई सामाजिक र आर्थिक रूपमा बलियो नबनाएसम्म हिंसा अन्त्य गर्न कठिन हुने भएकाले सीप विकास तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाकी उपप्रमुख रानाले बताइन् । महिलाको आर्थिक निर्भरता घटाउँदै उनीहरूलाई सीप, रोजगारी र आयआर्जनसँग जोड्न सके हिंसाविरुद्ध प्रतिरोध गर्ने क्षमता बढ्ने उनको भनाइ छ । प्रदेशभरि नै सचेतना कार्यक्रम अघि बढाउने जिम्मेवारी पाएको सामाजिक विकास मन्त्रालयले बन्द कोठाभित्र अभियानको शुभारम्भ गरेको थियो ।

समाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा महिलाबाट निर्वाचित प्रदेशसभा सदस्य, मन्त्रालयका कर्मचारी र सरोकारवालाहरूको सहभागितामा कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्माले हिंसामा परेका महिलाहरूलाई न्यायको पहुँचमा ल्याउन दिवसले सहयोग गर्ने बताइन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विशेष अधिकार समितिकी सभापति तुलसी देवकोटाले राज्यको पहुँचबाहिर रहेका महिलाहरूले आफनो कुरा राखेर पीडकलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको बताइन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मी विकले सबैखाले हिंसाको न्यूनीकरण गर्न जरुरी रहेको बताइन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव संगिता ओझाले जिल्लामा सेफ हाउस नहुँदा हिंसामा परेका महिलाहरू पुनस्र्थापना गर्न समस्या देखिएको बताइन् । दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता पदमबहादुर विष्टले महिला हिंसाको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार