कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौँ ।

प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशका मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा बढुवा÷नियुक्त भई कार्यभार सम्हालिसकेको देखिएको आदेशमा भनिएको छ । शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएकाले छिटो निरुपण गर्नु पर्ने इजलासको ठहर छ ।

‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्येर्थीहरूबाट लिखित जवाफ परेपछि वा पर्ने अवधि व्यतित भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ ।

यसअघि कात्तिक २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश छलफलमा झिकाउँदै लिखित जवाफ माग गरिसकेको छ । म्याद बुझेको १५ दिनभित्रमा लिखित बुझाउन भनिएको छ । विपक्षीहरू सबैले म्याद बुझिसकेका छन् । अब सबैको लिखित जवाफ परेपछि अन्तिम सुनुवाइका लागि सर्वोच्च प्रशासनले पेसी तोक्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार