प्रधानमन्त्री शाह नयाँदिल्लीमा



काठमाडौँ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा निस्किएका शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा, आर्थिक साझेदारीको विस्तार र द्विपक्षीय कूटनीतिक प्राथमिकताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्य सहभागी छन् । यसैगरी निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएको छ । यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भेटघाटसँगै आर्थिक सम्बन्ध र निजी क्षेत्रको साझेदारी विस्तार गर्ने अवसरका रूपमा लिइएको छ ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल पुगेका थिए । सोही होटलमा आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका छन् । भ्रमणको पहिलो दिन यसबाहेक प्रधानमन्त्रीको अन्य औपचारिक कार्यक्रम तय गरिएन । प्रधानमन्त्री शाहको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय वार्ता हो । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामसँगै आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विषयमा छलफल हुने कार्यसूची छ ।

भारतीय समयअनुसार बिहान १० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता हुनेछ । दुवै प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय छलफलअघि वा त्यसक्रममा करिब आधा घण्टा एक्लाएक्लै वार्ता गर्ने तयारीसमेत छ । भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।

वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउने विषयमा दुवै पक्षले आफ्नो धारणा राख्नेछन् । विशेषगरी ऊर्जा उत्पादन, प्रसारण लाइन, विद्युत् व्यापार तथा सीमापार पूर्वाधार विकासका क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने विषय महत्वपूर्ण रहने छ ।

नेपालमा उत्पादित विद्युत्को भारतीय बजारमा पहुँच विस्तार, ऊर्जा पूर्वाधार निर्माण र दीर्घकालीन व्यापारिक सम्भावनाको उपयोग नेपालका लागि आर्थिक दृष्टिले महत्वपूर्ण विषय हुन् । त्यस्तै, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारीले भ्रमणलाई बहुआयामिक बनाएको छ ।

भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री शाहको भ्रमणलाई भारतको तीव्र आर्थिक वृद्धिबाट नेपालले अधिकतम लाभ लिने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनका अनुसार वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण, जनस्तरमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने र आर्थिक वृद्धिदर उकास्ने विषयलाई प्राथमिकतामा राखेको अवस्थामा भारतसँगको छलफल पनि यिनै उद्देश्यसँग जोडिनुपर्छ । नेपाल र भारतबीच विशेषगरी ऊर्जा विकास तथा व्यापारका माध्यमबाट बलियो आर्थिक साझेदारी निर्माण गर्ने दिशामा ठोस प्रगति भइरहेको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीको भ्रमणले यस प्रक्रियालाई थप परिणाममुखी बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सेनाको सलामी

प्रधानमन्त्री शाहको भारत भ्रमणसँगै उनको स्वागत तथा सम्मानको विषयले पनि राजनीतिक र सार्वजनिक वृत्तमा चर्चा पाएको छ । नेपालबाट भारत प्रस्थान गर्दा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएनन् । नियमित उडानमार्फत कुनै विशेष तामझामबिना दिल्ली प्रस्थान गरेका उनले भारत पुग्दा भने भारतीय सेनाको सलामी ग्रहण गरेका छन् । नयाँदिल्लीस्थित विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामी दिएका थिए ।

नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्रीले भारतमा भने सैनिक सम्मान ग्रहण गरेपछि सामाजिक तथा राजनीतिक वृत्तमा यस विषयलाई लिएर विभिन्न टिप्पणी सुरु भएका छन् । प्रधानमन्त्रीको भ्रमणलाई सादगीपूर्ण बनाउने प्रयास र अर्को देशमा प्राप्त हुने औपचारिक राजकीय सम्मानबीचको भिन्नतालाई लिएर समेत बहस भइरहेको छ । तर राजकीय भ्रमणका क्रममा आयोजक राष्ट्रले आफ्नो कूटनीतिक तथा सैनिक प्रोटोकलअनुसार सम्मान प्रदान गर्ने अभ्यास रहँदै आएको छ ।नेपाल सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई राष्ट्रहित केन्द्रित भ्रमणका रूपमा व्याख्या गरेको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने र प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार हुने सरकारको अपेक्षा छ ।

एजेन्डामा परेन सीमा विवाद विषय 

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सबैभन्दा बढी चासोका साथ हेरिएको अर्को विषय नेपाल–भारत सीमा विवाद हो । तर भ्रमणको औपचारिक कार्यसूचीमा सीमा विवादको विषय समावेश छैन । भ्रमणको पूर्वसन्ध्यासम्म परराष्ट्र मन्त्रालयका उच्च तहका कर्मचारीबीच प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको विषय कसरी उठाउलान् भन्ने चर्चा भइरहेको थियो ।

यसको मुख्य कारण प्रधानमन्त्री शाहले विगतमा संसद्मा व्यक्त गरेको धारणा र काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा अपनाएको राजनीतिक अडान थियो । गत जेठ १७ गते संसद्मा प्रधानमन्त्री शाहले नेपाल र भारत दुवै देशले एकअर्काको भूभाग मिचेको विषय अध्ययन गरेर तथ्यका आधारमा समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले संसद्मा भनेका थिए, ‘एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ ।’

यसअघि काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । भारतको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटिएको अखण्ड भारतको भित्तेचित्र राखिएपछि उनले त्यसको प्रतिक्रियास्वरूप ग्रेटर नेपालको नक्सा राखेका थिए । यी पृष्ठभूमिका कारण प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादले स्थान पाउने अपेक्षा गरिएको थियो । तर आइतबार सार्वजनिक भएको भ्रमणको औपचारिक कार्यसूचीमा सीमा विवादसम्बन्धी विषय कतै उल्लेख छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणमा विवादित विषय नराख्न स्पष्ट निर्देशन दिएका थिए । यसले प्रधानमन्त्री शाहले तत्कालका लागि विवादभन्दा आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारलाई प्राथमिकता दिएका हुुन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा सीमा विवाद समाधानका लागि भावनात्मक अभिव्यक्तिभन्दा तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो ।

त्यसैले प्रधानमन्त्री शाहको वर्तमान भ्रमणमा सीमा विवादलाई औपचारिक रूपमा प्राथमिकता नदिइए पनि भविष्यमा यस विषयलाई कसरी अघि बढाइन्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले औपचारिक एजेन्डामा नरहे पनि सीमा विवादको विषय उठ्नुपर्ने बताएका छन् । उनका अनुसार सीमा विवादबारे छलफल नगरी दुवै देशलाई सहज अवस्था रहन सक्दैन । त्यस्तै, कूटनीतिक मामिलाका जानकार मोहनकृष्ण श्रेष्ठले पनि प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको विषय छुट्न नहुने बताए । सीमा समस्या दुवै देशका लागि संवेदनशील विषय भएकाले यसबारे पर्याप्त छलफल र कूटनीतिक पहल आवश्यक भइसकेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार