29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

साइक्लिङमा मानिसको आकर्षण बढ्दैछः आले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१  

केशर आले
संरक्षक
स्वर्गद्वारी साइक्लिङ क्लब

१. नयाँ वर्षको अवसर पारेर तपाईंहरूले साइक्लिङ प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ । यसको खास उद्देश्य के हो ?

साइक्लिङका धेरै फाइदा छन् । यसले मानिसको स्वास्थ्यदेखि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई पर्यटनसँग जोडेर आय आर्जनको स्रोत पनि बनाउन सकिन्छ । साइक्लिङले दुर्घटना न्यूनीकरण गर्न पनि मद्दत गर्छ ।

हामीले मुख्यगरी तीन उद्देश्य राखेका छौँ, स्वास्थ्यका लागि साइकल, पर्यटन प्रवद्र्धन र राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने । हामीले कोहलपुरमा साइक्लिङ सुरु गरेपछि यहीँबाट रूपा थारू र जंगु थाङ जस्ता राष्ट्रिय खेलाडीसमेत उत्पादन भएका छन् । साइकल चढ्नुुका विभिन्न फाइदाबारे आम जनमानसमा सचेतना जगाउन पनि यो प्रतियोगिताले आयोजना गरिएको हो ।

२. यहाँकै पहलमा कोहलपुरमा साइक्लिङको विकास भइरहेको छ । कसरी यतातिर आकर्षित हुनुभयो ?

मैले काठमाडौँ पोखरातिर साइकल राइड गरेको देखेको थिएँ । त्यहाँ विभिन्न क्लबहरू पनि निर्माण भएका थिए । बेलाबेला म उनीहरूले सराङ्कोट, नौडाँडालगायतका डाँडाहरूमा साइक्लिङ गरेको देख्थेँ ।

म कोहलपुर आएपछि यहाँ पनि त्यस्तै क्लब बनाउने सोच आयो । नेपालगन्जबाट हामीले यसको सुरुवात ग¥यौँ । पछि २०७६ मा कोहलपुरका केही साइक्लिस्ट जम्मा भएर क्लब खोलिएको हो ।

३. साइक्लिङमा मानिसहरूको आकर्षण कत्तिको पाउनुभएको छ ?

आकर्षण बढिरहेको छ । नेपालगन्जमा क्लब खोल्दा पहिला हामीले यहाँका उच्च तहका व्यापारी, राननीतिकर्मीलगायतलाई क्लबमा आबद्ध गराएका थियौँ । धवलशमशेर राणा, सुरेश कनौडियालगायत ३ सय जना क्लबको सदस्य हुनुहुन्थ्यो ।

कोहलपुरमा पनि विस्तारै साइक्लिस्टहरूको संख्या बढ्दो क्रममै छ । अहिले हाम्रो क्लबमा ३० जना मेम्बर आबद्ध भए पनि कोहलपुरमा साइकल चलाउनेको संख्या सयभन्दा बढी छ ।

४. आगामी दिनमा कस्ता कस्ता कार्यक्रमहरू गर्ने सोच बनाउनु भएको छ ?

वास्तवमा मेरो एउटा सपना छ । कोहलपुरमा एउटा अन्तर्राष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता गर्ने । कोहलपुुरबाट सुरु गरेर रारासम्म साइक्लिस्टहरूलाई पु¥याउने मेरो सपना हो । यसमा प्रतियोगी मात्र सहभागी हुने छैनन् ।

फन राइडरहरू पनि सहभागी हुनेछन् । यदि यो काम गर्न सकियो भने अन्तर्राष्ट्रिय रूपमा यो क्षेत्रको निकै प्रचारप्रसार हुने थियो । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न त्यसले निकै सघाउ पु¥याउने थियो ।

५. साइक्लिङका लागि विशेष प्रकारका साइकलको आवश्यकता पर्छ । के सबैले त्यस्ता साइकल अफोर्ड गर्न सक्छन् त ?

हेर्नोस, अन्य सवारी साधन चढ्नुभन्दा साइकल चढ्नु आफैँमा हरेक हिसाबले फाइदाजनक छ । यसले मानिसको स्वास्थ्यमा सुधार ल्याउनुका साथै आर्थिक बचत पनि गरिरहेको हुन्छ । म तपाईलाई एउटा उदाहरण दिन्छु ।

कोहलपुरका एक जना व्यापारी सुगर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय नियमित साइकल चलाउनुहुन्छ । साइकल चलाउन थालेको एक वर्षदेखि उहाँको सुगर नर्मल भएको छ ।

हो, उहाँले एक डेढ लाखको साइकल किन्नुभएको होला तर उहाँको नियमित साइकल चलाउ बानीले जिन्दगीभरि औषधि खानुपर्ने सुगर त नियन्त्रित भएको छ नि ! त्यसबाट उहाँको स्वास्थ्यमा भएको सुधारले कति आर्थिक बचत भएको छ हिसाब गर्नुस् त ।

साइक्लिङ गर्नु भनेको पिच रोडभन्दा अफ रोडमा जानु हो जहाँ उकालो ओरालो पनि चलाउनुपर्ने भएकाले तिनमा गियरलगायतका सुविधा हुन्छन् । नेपालमा अहिले ३० हजारदेखि ६ लाखसम्मका यस्ता साइकल पाइन्छन् ।

कोहलपुरमै पनि ६० हजारदेखि १ लाखसम्मका साइकल साथीहरूले चढिरहनुभएको छ । जे होस् साइकलको मूल्यभन्दा पनि साइकल चढ्ने बानीको विकास गर्नु आफैँमा राम्रो कुरा हो । यसले व्यक्ति, समाज र राष्ट्र सबैलाई फाइदा गर्छ ।

प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१     7:36:34 AM  |