24 September 2023  |   आइतवार, अशोज ७, २०८०

एमाले सांसद सीता गिरीले उम्मेदवारको चुनाव हारिन्, तीन जनाको नाम सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

१८ असोज, पोखरा / नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारीलाई सर्वसम्मत सिफारिस गरेको छ ।  कास्की क्षेत्र नम्बर ३ बाट भने विवादका बिच जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम सिफारिस गरिएको छ । सांसद सीता गिरी ओलीको असहमतिका बाबजुद विश्वकर्मा, बास्तोला र कोइरालाको नाम भोटिङबाट सिफारिस गरिएको हो ।एमाले क्षेत्र नम्बर १ को मंगलबार भएको भेलाले पूर्व स्वास्थ्य मन्त्री तथा एमाले सल्लाहकार परिषदका केन्द्रीय उपाध्यक्ष अधिकारीलाई कास्की क्षेत्र नम्बर १ को उम्मेद्वार बनाउन सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको हो ।

एमाले क्षेत्रीय कमिटीको भेलामा २ महिलासहित ४ जनाले क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बन्न चाहेको बताएका थिए । एमाले केन्द्रीय समितिले सकभर सर्वसम्मत १ जनाको नाम वा सर्वसम्मत नभए ३ जनाको मात्र नाम सिफारिस गर्न र त्यसमा १ महिला अनिवार्य सिफारिस गर्न गरेको निर्देशन अनुसार सहमतिको प्रयास भएको थियो । तर सहमतिको प्रयास बिफल भएपछि क्षेत्रीय कमिटीले पुरुषबाट २ जना सर्वसम्मत र महिलाबाट १ जनाको नाम भोटिङबाट उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेपछि विवाद सुरु भएको थियो ।

भेलामा सांसद तथा एमाले केन्द्रीय सदस्य सीता गिरी ओलीले मतदान गर्ने भए चार जनाबीच नै गर्नुपर्ने नत्र पार्टीगत तालमेल र एकीकरणको प्रक्रिया चलिरहेकाले स्थगित गर्नुपर्ने माग गरिन् । तर, ओलीको माग सुनुवाई नगरी २ महिला बीचमामात्र प्रतिष्पर्धा गराउनका लागि मतदान प्रक्रिया शुरु गरेपछि उनी छनौट प्रक्रियाप्रति बिरोध जनाउँदै बाहिरिएकी थिइन् । ओली पक्षले नेपाल पक्षका सांसद ओलीलाई बाइपास गरेर आफ्नो पक्षको मात्र पार्न सिफारिस गर्न षडयन्त्रपूर्वक महिला/महिला बिचमात्र भोटिङ गराउन खोजेको नेपाल पक्षको बुझाई छ ।

निर्वाचनमा ओलीको २० र उमा कोइरालाको ५५ मत आएकाले कोइरालाको नाम सिफारिस गरिएको निर्वाचन समितिका संयोजक कमल अर्यालले जानकारी दिए । उनका अनुसार ८९ मतदाता रहेकोमा ७६ मत खसेको थियो ।

यसैबीच, ओलीले आफूलाई नियोजित रुपमा सिफारिस गर्नबाट रोक्न महिलाको बीचमा मात्र चुनाव गराइएको आरोप लगाएकी छन् । ‘चार जना उम्मेदवार भएपछि सबैको बीचमा चुनाव हुुनुपर्छ भनेर निर्वाचन समितिमा निवेदन दिँदा पनि कुनै सुनवाई भएन’ उनले भनिन्, ‘नियम विपरीत चुनाव गराइएकोले त्यसप्रति मेरो असहमति छ ।’ केन्द्रीय माहोल पनि फरक भएकोले चुनाव स्थगित गरेर सहमतिमा अगाडि बढ्न आग्रह गर्दा त्यसलाई वेवास्ता गरेर चुनाव गराइएको उनले जिकिर गरिन् ।

एमालेका स्थानीय नेताहरुले पनि मतदानबाटै छान्नुपर्ने अवस्थामा चार जना बीचमै प्रतिष्पर्धा गराएको भए राम्रो हुने बताएका छन् । नाम नबताउने शर्तमा एमाले कास्कीका एक नेताले भने, ‘चारै जनाबीच चुनाव भएको दुबै महिला पनि सिफारिसमा पर्ने सक्थे, ‘महिलाको बीचमा मात्र चुनाव गराउनु न्यायसंगत छैन ।’ कास्की क्षेत्र नम्बर २ र प्रदेशका लागि भने विहीबारसम्ममा सिफारिस गर्ने तयारी गरिएको एमाले कास्कीले जनाएको छ ।                                                             – अनलाइनखबर

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     1:39:17 PM  |