नन्दराम जैशी । सुर्खेत ।
तीन संस्करणको प्रतीक्षा, लगातार फाइनल पुगेर पनि उपाधि उचाल्न नसकेको पीडा र अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको बदला सुदूरपश्चिम रोयल्सले यस पटक लिएको छ । यी सबैको हिसाब सुदूरपश्चिम रोयल्सले यसपटक एउटै खेलबाट चुक्ता गरेको हो । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्दै सुदूरपश्चिमले नेपाली फ्रेन्चाइज क्रिकेटमा आफ्नो नाम इतिहासमा लेखाएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले ६७ बल बाँकी छँदै कुनै विकेट नगुमाई पूरा ग¥यो । सुदूरपश्चिमको ऐतिहासिक जितका केन्द्रमा रहे स्कटल्यान्डका विस्फोटक ब्याटर जर्ज मुन्से । उनले मात्र ४९ बलमा शतक पूरा गर्दै फाइनललाई एकतर्फी बनाए ।
मुन्सेको आक्रामक ब्याटिङ र विनोद भण्डारीको संयमित साथले लुम्बिनीको उपाधि रक्षा गर्ने सपना चकनाचुर बनाइदियो । यो जित एउटा उपाधि जित्नुमा मात्रै सीमित रहेन । अघिल्लो संस्करणको फाइनलमा यही लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले यसपटक त्यही प्रतिद्वन्द्वीलाई हराएर बदला लिएको हो । लगातार फाइनल पुग्ने तर उपाधिबाट विमुख हुने टोलीको परिचयसमेत उसले अन्त्य गरेको छ । १५६ रनको लक्ष्य सामान्य देखिए पनि फाइनलको दबाबमा त्यसलाई सहज रूपमा पछ्याउनु सजिलो थिएन । तर मुन्सेले मैदानमा उत्रिएदेखि नै लुम्बिनीलाई दबाबमा राखे ।
रुबेन ट्रम्पलमानको पहिलो बलमै चौका प्रहार गरेर आक्रामक लय समातेका मुन्सेले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । अर्का ओपनर विनोद भण्डारीले उनलाई साथ दिँदै स्ट्राइक रोटेट गर्ने तथा आवश्यक पर्दा बाउन्ड्री प्रहार गर्ने भूमिका निर्वाह गरे । पहिलो पाँच ओभरमै सुदूरपश्चिमले ५० रन जोडिसकेको थियो । पावरप्ले समाप्त हुँदा टोलीको स्कोरबिना कुनै विकेटको क्षति ६० रन पुगेको थियो । यसले लुम्बिनीमाथि सुरुदेखि नै मनोवैज्ञानिक दबाब सिर्जना ग¥यो । मुन्सेले २८ बलमा अर्धशतक पूरा गरे । त्यसपछि उनको ब्याटिङ झन् आक्रामक बन्दै गयो। लुम्बिनीका बलरले उनलाई रोक्ने कुनै प्रभावकारी उपाय निकाल्न सकेनन् ।
खेलको ५.३ ओभरमा सन्दीप जोराले मुन्सेको क्याच छाड्नु लुम्बिनीका लागि महँगो गल्ती साबित भयो । त्यसै क्रममा रनआउटको अवसरसमेत गुमाएको लुम्बिनीले फिल्डिङमा देखाएको कमजोरीको मूल्य अन्तत उपाधि गुमाएर चुकाउनुप¥यो । मुन्सेले ४९ बलमा शतक पूरा गर्दा उनको ब्याटबाट ८ छक्का र ७ चौका निस्किएका थिए। अर्थात् उनले १५ बाउन्ड्रीबाट मात्रै ७६ रन जोडे । उनको इनिङ्सले लुम्बिनीको बलिङ आक्रमणलाई पूर्ण रूपमा निरीह बनायो ।
१३ ओभरको समाप्तिमा सुदूरपश्चिम १४० रनमा पुगेको थियो । त्यसपछि मुन्सेले लगातार तीन छक्का प्रहार गर्दै १३.३ ओभरमै खेल समाप्त गरे । उनी अविजित १०० रनमा रहँदा विनोद भण्डारीले पनि अविजित साथ दिए । यो प्रदर्शनले फाइनलमा व्यक्तिगत उत्कृष्टता मात्र देखाएन, सुदूरपश्चिमको सामूहिक आत्मविश्वास र उपाधि जित्ने दृढता पनि उजागर ग¥यो । सुदूरपश्चिम एनपिएलमा लगातार तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।
सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो । सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । उक्त हारको बदला लिँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । विजेता सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, तेस्रो बनेको चितवन राइनोजले ४० र चौथो बनेको काठमान्डु गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
लुम्बिनीको प्रतिस्पर्धात्मक लक्ष्य पर्याप्त भएन
टस जितेर सुदूरपश्चिमले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । निर्णय सही साबित भयो । सुरुदेखि नै अनुशासित बलिङ गरेको सुदूरपश्चिमले लुम्बिनीलाई ठूलो स्कोर बनाउन दिएन । स्कट कुगलेनले तेस्रो ओभरको दोस्रो बलमै आशिफ शेखलाई एलबीडब्ल्यू धरापमा पारे । त्यसपछि कप्तान रोहित पौडेलले डार्सी सर्टसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरे । सर्टले २१ रन बनाएर आउट हुनुअघि केही आकर्षक प्रहार गरेका थिए ।
उनलाई दीपेन्द्रसिंह ऐरीले छैटौँ ओभरमा बोल्ड गरेपछि लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरोसन डिकवेला र रोहित पौडेलले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । तर ११औँ ओभरको पहिलो बलमै थरिन्दु रत्नायकेले डिकवेलालाई बोल्ड गरे । उनले २८ रन बनाएका थिए । कप्तान रोहित पौडेलले पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन् । ३१ बलमा ३० रन बनाएका उनी रनआउट भएपछि लुम्बिनी थप दबाबमा प¥यो ।
सन्दीप जोरा पाँच बलमा चार रन बनाएर आउट भए । मध्यक्रममा अलि शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २४ रन जोडे । उनले १८औँ ओभरमा इसन पाण्डेलाई १६ रन प्रहार गरेर लुम्बिनीको रनगति बढाउने प्रयास गरेका थिए । तर हेमन्त धामीको बलमा स्कट कुगलेनले उनको क्याच लिएपछि लुम्बिनीको ठूलो स्कोर बनाउने सम्भावना कमजोर भयो ।
अन्तिमसम्म क्रिजमा टिकेका दिलीप नाथले ३१ बलमा अविजित ४० रन बनाए । रुबेन ट्रम्पलमान दुई बलमा चार रन बनाएर अविजित रहे । यसरी लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । फाइनलका लागि यो सम्मानजनक योगफल भए पनि मुन्सेको ब्याटिङसामु पर्याप्त हुन सकेन । सुदूरपश्चिमका लागि स्कट कुगलेनले दुई विकेट लिए भने थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
बलिङ र फिल्डिङमा सुदूरको नियन्त्रण
फाइनलको नतिजा हेर्दा मुन्सेको शतक सबैभन्दा ठूलो आकर्षण देखिए पनि सुदूरपश्चिमको जितको आधार पहिलो इनिङ्समै तयार भएको थियो । लुम्बिनीलाई १५५ रनमै सीमित राख्नु सुदूरपश्चिमका लागि महत्त्वपूर्ण उपलब्धि थियो । सुरुवाती ओभरमा दबाब सिर्जना गर्नु, बीचका ओभरमा विकेट लिनु र विपक्षीलाई ठूलो साझेदारी बनाउन नदिनु सुदूरको बलिङ रणनीतिको सफलता थियो । अर्कोतर्फ लुम्बिनीको फिल्डिङ कमजोर रह्यो । मुन्सेजस्ता आक्रामक ब्याटरलाई जीवनदान दिनु फाइनलजस्तो खेलमा ठूलो गल्ती थियो ।
क्याच छुटाउनु र रनआउटको अवसर गुमाउनुको असर स्कोरबोर्डमा मात्र सीमित रहेन, त्यसले सुदूरपश्चिमलाई थप आत्मविश्वास दियो । लुम्बिनीका बलरहरूले पनि मुन्सेलाई नियन्त्रणमा राख्न सकेनन् । ट्रम्पलमानले दुई ओभरमा २६ रन खर्चिए । अन्य बलर पनि प्रभावकारी हुन सकेनन् । यसरी बलिङमा सुदूरपश्चिमको अनुशासन र लुम्बिनीको फिल्डिङ तथा बलिङमा देखिएको कमजोरीले खेलको दिशा सुरुदेखि नै सुदूरतर्फ मोडेको हो ।
अघिल्लो हारको बदला
गत संस्करणको फाइनलमा पनि सुदूरपश्चिम र लुम्बिनी नै आमनेसामने भएका थिए । त्यतिबेला लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । यसपटक पनि फाइनलसम्म पुग्ने क्रममा लुम्बिनीले सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा पराजित गरेको थियो । त्यसैले फाइनलअघि लुम्बिनी मनोवैज्ञानिक रूपमा बलियो देखिन्थ्यो । प्रतियोगितामा यी दुई टोलीबीचको प्रतिस्पर्धामा लुम्बिनीको वर्चस्व थियो । एनपिएल इतिहासमा फाइनलअघि भएका पाँच भेटमध्ये लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेल जितेका थिए ।
तर, फाइनलको दिन विगतका नतिजाले कुनै अर्थ राखेनन् । सुदूरपश्चिमले खेलका दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई स्तब्ध बनायो । विशेषगरी पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमले हारबाट आफूलाई सम्हाल्दै दोस्रो क्वालिफायरमा चितवनलाई हराएर फाइनलमा स्थान बनाएको थियो । लगातार दबाबपूर्ण खेल जित्दै फाइनल पुगेको टोलीले निर्णायक खेलमा आफ्नो वास्तविक क्षमता देखायो ।
यो जितले सुदूरपश्चिमको अघिल्लो संस्करणको असफलतालाई सफलतामा बदलिदिएको छ । लगातार फाइनल पुगेर पनि उपाधि नजितेको टोली यसपटक भने च्याम्पियन बनेर फर्किएको छ । तर, सुदूरपश्चिमको उपाधि यात्रा सहज थिएन । प्रतियोगिताको पहिलो खेलमै लुम्बिनीसँग पराजित भएपछि टोलीले सुरुमै धक्का बेहोरेको थियो । त्यसपछि पोखरालाई हराएर पुनरागमन गरेको सुदूरपश्चिम तेस्रो खेलमा विराटनगरसँग पराजित भयो ।
तर, त्यसपछि टोलीले आफ्नो लय समात्यो । चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार पराजित गर्दै लिग चरणमा दोस्रो स्थान हासिल ग¥यो । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुप¥यो । त्यहाँ चितवनलाई हराउँदै टोलीले लगातार तेस्रोपटक फाइनलमा स्थान सुरक्षित ग¥यो । अर्कोतर्फ लुम्बिनीले लिग चरणमा स्थिर प्रदर्शन गरेको थियो ।
पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको लुम्बिनीको चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि पोखरा र जनकपुरलाई पराजित गरेको लुम्बिनी काठमाडौँसँग भने पराजित भयो । त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै हराएर सिधै फाइनलमा स्थान बनाएको थियो । तर, लिग चरण र पहिलो क्वालिफायरमा देखाएको वर्चस्व फाइनलमा कायम राख्न सकेन । निर्णायक खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई कुनै अवसर नै दिएन ।
दर्शकको उत्साह र राजनीतिक नेतृत्वको उपस्थिति
एनपिएल फाइनल दुई टोलीबीचको क्रिकेट प्रतिस्पर्धा मात्र थिएन । नेपाली क्रिकेटप्रति बढ्दो आकर्षण र दर्शकको उत्साहको पनि उदाहरण बन्यो । फाइनल खेलका लागि टिकट बिक्री खुलेको १५ मिनेटमै सबै टिकट बिक्री भएका थिए । त्रिवि क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति थियो । उपाधि भिडन्त हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उच्चपदस्थ व्यक्तिहरू पनि मैदान पुगेका थिए । दर्शकको उत्साह, मैदानको माहोल र प्रतिस्पर्धाको महत्त्वले एनपीएलको लोकप्रियता थप बढेको देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्