देउखुरीको पर्यटन पहिचान बन्दै ‘जखेराताल’



शिवु खनाल । दाङ ।

वरपर चुरे पहाड, आँखैअगाडि मनमोहक हरियाली, शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यले भरिएको मनोरम दृश्य । चुरे पहाडको फेदीमा अवस्थित दाङ देउखुरीको प्रसिद्ध पर्यटकीय गन्तव्य हो– जखेराताल । प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र मनोरम वातावरणले भरिपूर्ण जखेराताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ । छोटो समयमै देउखुरी क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको जखेरातालले प्रकृतिप्रेमी, धार्मिक पर्यटक तथा घुमफिर गर्न रुचाउनेहरूको मन लोभ्याउँदै आएको छ ।

लमही नगरपालिका वडा नम्बर ३ मा अवस्थित जखेरा तालमा विशेषगरी बिदाको समय, शनिबार तथा विभिन्न चाडपर्वका अवसरमा पर्यटकहरूको चहलपहल बढ्ने गरेको छ । परिवार, साथीभाइ तथा आफन्तसँग घुमफिर गर्न, वनभोज मनाउन, तालमा डुङ्गा सफारी गर्न र प्राकृतिक वातावरणमा रमाउन विभिन्न क्षेत्रबाट पर्यटकहरू यहाँ आउने गरेका छन् । तालको शान्त वातावरण, चुरे पहाडको मनमोहक दृश्य, वरपरको हरियाली र पानीमा देखिने प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ ।

दैनिक जीवनको व्यस्तता र कोलाहलबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि जखेराताल उपयुक्त गन्तव्य बन्दै गएको हो ।जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अनुसार पछिल्लो समय ताल अवलोकन, घुमफिर, वनभोज तथा डुङ्गा सफारीका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढ्न थालेपछि यस क्षेत्रको पर्यटन सम्भावना थप उजागर भएको प्रतिष्ठानको भनाइ छ ।

प्रतिष्ठानका सदस्य केशवराज पोख्रेलका अनुसार जखेराताल प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्र हो । यहाँ आउने पर्यटकले तालको अवलोकन र मनोरञ्जनसँगै धार्मिक आस्थासँग जोडिएका स्थलहरूको समेत भ्रमण गर्ने अवसर पाउने गरेका छन् । पछिल्लो समय पर्यटकको आगमन बढ्दै जानु यस क्षेत्रको पर्यटन विकासका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ ।

त्यस्तै, प्रतिष्ठानका उपाध्यक्ष रविध्वज थापाले जखेराताललाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदाय, प्रतिष्ठान तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँछन् । उनका अनुसार तालको प्राकृतिक सुन्दरता र वातावरणलाई संरक्षण गर्दै पर्यटकका लागि आवश्यक पूर्वाधार, सेवा तथा सुविधाको विस्तार गर्न सके जखेराताललाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।

जखेराताल केवल घुमफिर र मनोरञ्जनको स्थल मात्र नभई देउखुरीको पर्यटन, स्थानीय अर्थतन्त्र र रोजगारीसँग समेत जोडिएको महत्वपूर्ण क्षेत्र हो । यहाँ पर्यटकको आगमन बढ्दै जाँदा स्थानीय व्यवसाय, होटल तथा अन्य सेवामूलक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सके जखेरातालले देउखुरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

त्यसका लागि तालको संरक्षण, सरसफाइ, पूर्वाधार विकास, पर्यटकीय सेवाको गुणस्तर र प्रचारप्रसारमा विशेष ध्यान दिन आवश्यक छ । चुरे पहाडको काखमा प्रकृतिले दिएको अनुपम उपहार जखेराताल आज देउखुरीको पर्यटन पहिचान बन्दै गएको छ । प्रकृतिको सुन्दरता, धार्मिक आस्था र शान्त वातावरणको संगम रहेको यस तालको संरक्षण र प्रवद्र्धन गर्न सके आगामी दिनमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने निश्चित देखिन्छ । जखेरातालको सुन्दरता केवल हेर्नका लागि मात्र होइन, प्रकृतिसँग रमाउन, मनलाई शान्त बनाउन र देउखुरीको पर्यटन सम्भावना बुझ्नका लागि पनि एउटा उत्कृष्ट गन्तव्य हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार