नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त मुलुक हो । यहाँ विभिन्न धर्म, समुदाय र संस्कृतिका मानिसले आ–आफ्ना परम्परा र मान्यताअनुसार चाडपर्व मनाउँदै आएका छन् । यस्ता पर्वले धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षण गर्नुका साथै सामाजिक सद्भाव, एकता र सहअस्तित्वलाई बलियो बनाउँछन् । यसैमध्ये सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्व नेपाली समाजको विशिष्ट सांस्कृतिक सम्पदा हो । विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रसम्म फैलिँदै गएको छ । यसले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्वलाई अझ व्यापक बनाएको छ । छठ पर्व सूर्यको उपासना र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने पर्व हो । सूर्यलाई जीवन, ऊर्जा र सृष्टिको आधार मानिन्छ । पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तु र वनस्पतिको अस्तित्व सूर्यको प्रकाश र तापसँग जोडिएको छ । त्यसैले सूर्यको आराधना गर्नु भनेको प्रकृतिले दिएको जीवनप्रति सम्मान र आभार व्यक्त गर्नु पनि हो । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वमा व्रतालुले शुद्धता, संयम, निष्ठा र कठोर अनुशासन पालना गर्छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर गरिने पूजा यसको विशिष्ट विशेषता हो ।
जलाशय, नदी, पोखरी र तलाउका किनारमा भेला भएर गरिने सामूहिक पूजाले सामाजिक एकता र सहकार्यको सन्देशसमेत दिन्छ । छठ पर्वको अर्को महत्वपूर्ण पक्ष यसको समावेशी र समानतामूलक सांस्कृतिक स्वरूप हो । यस पर्वमा जात, वर्ग, भाषा र समुदायभन्दा माथि उठेर मानिसहरू सहभागी हुन्छन् । पूजाका सामग्री तयार पार्नेदेखि घाट सजाउने, सरसफाइ गर्ने र व्रतालुलाई सहयोग गर्नेसम्मका काममा समुदायको सामूहिक सहभागिता रहन्छ । यसले समाजमा आपसी सद्भाव, सहयोग र भाइचाराको भावना विकास गर्छ । पछिल्लो समय विभिन्न समुदायका मानिसले छठ पर्वमा सहभागिता जनाउनुले नेपाली समाजको धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको छ । तर, पर्वको धार्मिक र सांस्कृतिक महत्वसँगै यसको व्यवस्थापन र वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिन आवश्यक छ । छठ मनाउने क्रममा नदी, पोखरी र जलाशयमा ठूलो सङ्ख्यामा भक्तजन भेला हुने भएकाले सरसफाइ, सुरक्षा र व्यवस्थित व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ । पूजा सम्पन्न भएपछि प्लास्टिकका सामग्री, पूजाका अवशेष र अन्य फोहोर जलाशयमा फाल्ने प्रवृत्तिले जल प्रदूषण बढाउन सक्छ । प्रकृति र जलस्रोतको सम्मान गर्ने पर्व मनाउँदा तिनै प्राकृतिक स्रोतलाई प्रदूषित गर्नु विरोधाभासपूर्ण हुन्छ । त्यसैले छठलाई स्वच्छता र वातावरण संरक्षणको अभियानसँग जोड्नुपर्छ ।
स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था र समुदायले घाटको सरसफाइ, सुरक्षित आवागमन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । यसैगरी पर्वका नाममा हुने अनावश्यक खर्च र देखासिकीलाई पनि निरुत्साहित गर्नुपर्छ । छठको मूल भावना श्रद्धा, पवित्रता, त्याग र अनुशासन हो । महँगा सामग्री, भड्किलो सजावट र प्रतिस्पर्धात्मक प्रदर्शनले यसको मौलिकता कमजोर बनाउन सक्छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत अनावश्यक खर्चको दबाब पर्ने अवस्था आउनु हुँदैन । आडम्बरभन्दा आस्था र प्रदर्शनभन्दा सेवाभावलाई प्राथमिकता दिन सके मात्र पर्वको वास्तविक मर्म जोगाउन सकिन्छ । छठ पर्वले हामीलाई प्रकृतिको संरक्षण, सामाजिक एकता, पारिवारिक सुख, स्वास्थ्य र मानवीय सद्भावको महत्व बुझाउँछ । यसले सिकाउने अनुशासन, स्वच्छता, सहकार्य र सहअस्तित्वका मूल्यलाई पर्वको चार दिनमा मात्र सीमित राख्नु हुँदैन । यी मूल्यलाई दैनिक जीवन र सामाजिक व्यवहारमा पनि आत्मसात् गर्नुपर्छ । विशेषगरी नयाँ पुस्तालाई छठको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वबारे जानकारी दिँदै यसको मौलिक परम्परा हस्तान्तरण गर्नु आवश्यक छ । राज्यले पनि सबै समुदायका भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणमा समान प्राथमिकता दिनुपर्छ । विविधताभित्रको एकतालाई बलियो बनाउने यस्ता पर्वको संरक्षण गर्नु साझा दायित्व हो । स्वच्छ जलाशय, व्यवस्थित घाट, मर्यादित उत्सव र सामूहिक सद्भावसहित छठ मनाउन सके यो पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नभई प्रकृति संरक्षण र सामाजिक एकताको प्रेरणासमेत बन्न सक्छ ।









प्रतिक्रिया दिनुहोस्