नरेन्द्र देवकोटाको नियात्राकारिताः ‘रारादेखि ताजमहलसम्म’को समीक्षात्मक अध्ययन



डा. राज कुमार थारु

१. नियात्राकार देवकोटा र उनको पहिलो नियात्राकृति

नरेन्द्र देवकोटा ‘प्रशान्त’द्वारा लिखित रारादेखि ताजमहलसम्म (२०८३) नियात्रा कृतिगत हिसाबले उनको दोश्रो कृति हो भने विधागत हिसाबले पहिलो नियात्रासंग्रह हो । यसअघि उनको अनुभूति (२०८१) कवितासङ्ग्रह प्रकाशित भैसकेको छ । यस नियात्रामा लेखकले निजामती सेवामा प्रवेश गरेदेखि विभिन्न जिल्लामा कार्यरत रहँदा तथा व्यक्तिगत र पारिवारिक प्रयोजनमा गरेका स्वदेशी र विदेशी यात्राका अनुभवलाई जम्मा १६५ पृष्ठमा २४ वटा नियात्रामा समावेश गरेका छन् । यस कृतिको मूल विशेषता नियात्राकारको जागिरे जीवनको यात्रालाई सामाजिक सम्बन्ध, प्राकृतिक परिवेश, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सार्वजनिक सेवाका अनुभवसँग जोडेर प्रस्तुत गर्नु हो । रारादेखि ताजमहलसम्मको यात्रा यस अर्थमा भौगोलिक यात्राको विवरण मात्र नभई लेखकको जीवनानुभव, स्मृति र सामाजिक अवलोकनको अभिलेख पनि बनेको छ ।

रारादेखि ताजमहलसम्मको साहित्यिक समीक्षा शुरु गर्नु भन्दा अगाडी नियात्राको केही मुलभूत सिद्धान्तका कुरा गरौँ–

२. विषयप्रवेश

नेपाली नियात्रा साहित्यमा ‘नियात्रा’ शब्दको प्रयोग र प्रचलनसँग भाषाशास्त्री बालकृष्ण पोखरेलको नाम जोडिएको छ । उनले तारानाथ शर्माको बेलायततिर बरालिँदा (२०२६) को भूमिकामा यस शब्दको प्रयोग गरेका थिए । पोखरेलले यात्राको सत्यतथ्य वर्णनसँगै भ्रमणको आनन्द र रमणीयता अभिव्यक्त हुने लेखनलाई नियात्राका रूपमा व्याख्या गरेका छन् । त्यसैगरी, गङ्गाप्रसाद उप्रेतीले नयाँ भूगोलप्रति यात्राकारको वैयक्तिक अनुभूति र निष्कर्षलाई नियात्राको आधार मान्दै सूचनात्मकता, निजात्मकता र चिन्तनशीलतालाई यसका महत्त्वपूर्ण तत्त्वका रूपमा उल्लेख गरेका छन् भने राजेन्द्र सुवेदीले यात्राका क्रममा देखिएका, भोगिएका र अनुभव गरिएका विषयलाई अनुभूतिपरक तथा निबन्धात्मक रूपमा प्रस्तुत गरिएको रचनालाई नियात्राका रूपमा व्याख्या गरेका छन् । तारानाथ शर्माका अनुसार यात्रावर्णनमा लेखकको निजात्मक अनुभूति प्रभावकारी रूपमा समावेश भएको निबन्ध नै नियात्रा हो । यस परिभाषाले नियात्रामा वैयक्तिक अनुभूतिको महत्त्वलाई स्पष्ट पारेको छ । त्यसैगरी, निर्मोही व्यासले नियात्रालाई अनुभूतिप्रधान, रसात्मक र सिर्जनात्मक गद्यलेखनका रूपमा व्याख्या गरेका छन् । उनका विचारमा यात्राका अनुभवलाई लेखकले आफ्नो निजात्मक दृष्टिकोण र आकर्षक शैलीमा प्रस्तुत गर्नु नियात्राको विशिष्टता हो । विदेशी अध्येताहरूमध्ये टिम यङ्सले यात्रा लेखनलाई विविध साहित्यिक स्वरूप र विधाका तत्त्वहरू समेट्ने बहुआयामिक विधाका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यात्रा लेखनले यात्राको विवरण प्रस्तुत गर्नुका साथै लेखकले आफू र अरूलाई कसरी बुझ्छ भन्ने कुरासमेत उजागर गर्छ । त्यस्तै, उनले पल थेरोको “त्चबखभ िष्क ब अचभबतष्खभ बअत” र पिटर बिशपको “त्चबखभ िधचष्तष्लन अचभबतभक धयचमिक, ष्त मयभक लयत कष्mउथि मष्कअयखभच तजझ” भन्ने भनाइ उद्धृत गरेका छन् । यी विचारले यात्रा लेखनमा सिर्जनात्मकता र लेखकको दृष्टिकोणको महत्त्वलाई पुष्टि गर्छन् । उपर्युक्त विचारहरूको आधारमा नियात्रा वास्तविक यात्रामा आधारित भए पनि सामान्य यात्रा विवरणमा सीमित नरहने साहित्यिक विधा हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यसमा यात्राको तथ्यात्मकता, लेखकको निजात्मक अनुभूति, संवेदनशीलता, चिन्तनशीलता र सिर्जनात्मक अभिव्यक्तिको समन्वय हुन्छ । त्यसैले यात्राजन्य अनुभवलाई साहित्यिक कलात्मकतासहित प्रस्तुत गर्नु नै नियात्राको मूल पहिचान हो ।

नियात्राका प्रमुख विशेषताहरू निम्न छन्

१. यात्राको वास्तविकता र प्रामाणिकता २. आत्मपरकता ३. अनुभूति र संवेदनशीलता
४. प्रकृति र भूगोलको चित्रण ५. सामाजिक तथा सांस्कृतिक जीवनको प्रस्तुति
६. स्थान र परिवेशको जीवन्त चित्रण ७. संस्मरणात्मकता ८. वर्णनात्मकता र कथात्मकता
९. भाषिक कलात्मकता १०. ऐतिहासिक तथा धार्मिक चेतना ११. मानवीय सम्बन्ध र पात्रहरूको प्रस्तुति
१२. सामाजिक तथा राजनीतिक चेतना १३. तुलनात्मक दृष्टिकोण १४. विचार र जीवनदर्शन

१६. मौलिकता र सिर्जनात्मकता

सामान्य यात्रा विवरणमा लेखकले कहाँ गयो, के देख्यो, कसरी पुग्यो र के–के भयो भन्ने कुरालाई प्राथमिकता दिन्छ । तर नियात्रामा यी विवरणसँगै यात्राले लेखकको मनमा के प्रभाव पा¥यो, उसले के अनुभूति ग¥यो, देखेको परिवेशलाई कसरी व्याख्या ग¥यो र त्यसबाट कस्तो जीवनबोध प्राप्त ग¥यो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यसैले नियात्राको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको वास्तविक यात्राको अनुभवलाई आत्मपरक अनुभूति, सामाजिक चेतना र साहित्यिक कलात्मकतासँग जोडेर प्रस्तुत गर्नु हो ।

२.१ रारादेखि ताजमहलसम्मको विषयवस्तु र संरचना

कृतिमा समेटिएका नियात्राहरूलाई विषयगत रूपमा हेर्दा तिनलाई केही प्रमुख समूहमा विभाजन गर्न सकिन्छ । प्राकृतिक तथा भौगोलिक यात्राः ‘धित नमरेको रारा यात्रा’, ‘बडीमालिकामा हराउँदा’, ‘आँखामा नाचिरहेको मुस्ताङ’, ‘ओखरकोट’, ‘मनमोहक ठाउँ गौमुखी’ र ‘आहा ! मनोरम प्युठान’ जस्ता रचनामा प्राकृतिक दृश्य, पहाडी भूगोल, दुर्गम बाटो र स्थानीय परिवेशको चित्रण पाइन्छ । धार्मिक तथा सांस्कृतिक यात्राः ‘महाप्रभुको तपोभूमि स्वर्गद्वारी’, ‘सुपादेवी धामसम्म’, ‘धारपानी यात्रा’ र ‘ओभेलमा परेको पालुकास्थान मन्दिर र पर्यटकीय सम्भावनाको केन्द्रस्थल’ मा धार्मिक आस्था, स्थानीय सांस्कृतिक पहिचान र तीर्थस्थलको महत्त्व प्रस्तुत भएको छ ।
पेसागत तथा प्रशासनिक अनुभवः ‘स्मृतिमा दिपायल’, ‘जाजरकोटको सफल बसाइ’, ‘चुनौतीपूर्ण बसाइका बाइस महिना’, ‘काठमाडौँ यात्रा र सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन’ तथा ‘मजुवा मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत भएर जाँदा’ मा लेखकको सरकारी सेवासँग जोडिएका अनुभव र जिम्मेवारीहरू अभिव्यक्त भएका छन् । सामाजिक तथा राजनीतिक यथार्थः ‘गाउँमा पुग्दासम्म’ र ‘सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा’ जस्ता रचनामा दुर्गम भूगोल, विकासको अवस्था, राज्यको उपस्थिति तथा द्वन्द्वकालीन प्रभावका पक्षहरू देखिन्छन् ।विदेशी तथा अन्तरदेशीय यात्राः ‘दिल्ली यात्रा र नागरिकताको महत्त्व’, ‘नोयडा हुँदै आगरा र ताजमहलसम्म’ र ‘आग्राबाट लखनउ हुँदै कपिलवस्तु’ मा भारतका सहर, यातायात, सहरी विकास र ऐतिहासिक पर्यटकीय स्थलसँगको साक्षात्कार प्रस्तुत गरिएको छ । यसरी कृतिको संरचना एउटै प्रकारको यात्रा अनुभवमा सीमित छैन । यसमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, प्रशासनिक, सामाजिक र अन्तरदेशीय यात्राको मिश्रित स्वरूप पाइन्छ ।

२.२ नियात्रात्मकताको स्वरूप र विधागत विशेषता

नियात्रा सामान्य यात्रा विवरणभन्दा फरक साहित्यिक विधा हो। यसमा लेखकले यात्रा गरेको स्थान, मार्ग र घटनाको विवरण मात्र दिँदैन; यात्राका क्रममा देखेका, भोगेका र अनुभूत गरेका विषयलाई आफ्नो दृष्टिकोण, संवेदना र कलात्मक अभिव्यक्तिसहित प्रस्तुत गर्छ । यस दृष्टिले हेर्दा रारादेखि ताजमहलसम्म मा नियात्राका आधारभूत तत्त्वहरू उपस्थित छन् । लेखकले भूमिका खण्डमा नियात्राका बारेमा आफ्नो विचार व्यक्त गरेको आधारमा लेखकमा नियात्रा विधाप्रतिको आधारभूत सैद्धान्तिक चेतना रहेको देखिए पनि विधाबारे लेखकको सैद्धान्तिक बुझाइ र कृतिमा त्यसको सफल कलात्मक प्रयोग पूर्णरुपले हुन नसक्नुलाई विधागत रुपले पहिलो नियात्रा भएको हिसाबले सामान्य नै मानुपर्ने हुन्छ । कृतिका सबै रचनामा यात्रा विवरणलाई समान रूपमा साहित्यिक अनुभूतिमा रूपान्तरण गर्न सकिएको छैन । कतिपयमा अनुभूति र आत्मपरकता प्रभावकारी छन् भने कतिपयमा यात्रा र घटनाको विवरण नै बढी प्रभावशाली देखिन्छ ।

२.३ प्रकृति र भूगोलको चित्रण

यस कृतिको उल्लेखनीय पक्ष प्राकृतिक तथा भौगोलिक परिवेशको चित्रण हो । लेखकले नेपालको हिमाली तथा पहाडी भूभाग, दुर्गम बस्ती, सडकमार्ग, नदी, पहाड, वनजङ्गल र धार्मिक स्थललाई आफ्ना यात्राका अनुभवसँग जोडेर प्रस्तुत गरेका छन् । ‘धित नमरेको रारा यात्रा’ (पृष्ठ १–७) मा डाँफेलेकबाट देखिने हिमाली दृश्य, रारातालको प्राकृतिक सौन्दर्य र यात्राका कठिनाइले पाठकलाई यात्राको भौतिक तथा भावनात्मक दुवै पक्षसँग परिचित गराउँछन् । लेखकले डाँफेलेकबाट देखिने पाटमारा लेक र पातारासी हिमालको दृश्यलाई स्वर्गको टुक्रा देखेझैँ अनुभूति गरेको प्रसङ्ग प्रस्तुत गरेका छन् । यसले प्रकृति लेखकका लागि केवल हेर्ने वस्तु नभई भावनात्मक आनन्दको स्रोत पनि बनेको देखाउँछ । ‘महाप्रभुको तपोभूमि स्वर्गद्वारी’(पृष्ठ ९४–९९ ) मा यात्राको कठिनाइ, उकालो बाटो, साँझको वातावरण र मन्दिर परिसरको दृश्यले यात्राको अनुभूतिलाई जीवन्त बनाएका छन्। त्यस्तै, ‘आँखामा नाचिरहेको मुस्ताङ’(पृष्ठ १००–१११) मा मुस्ताङको भौगोलिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई लेखकको बाल्यकालदेखिको आकर्षण तथा धार्मिक यात्रासँग जोडिएको छ । ‘ओखरकोट’(पृष्ठ ११५–१२०) मा स्थानीय धार्मिक सम्पदा र पर्यटनको सम्भावना प्रस्तुत गरिएको छ । यी माथि उल्लिखित नियात्राहरुले प्राकृतिक दृश्यलाई केवल पर्यटकीय आकर्षणका रूपमा मात्र प्रस्तुत गरेका छैनन्, तिनलाई व्यक्तिगत स्मृति, धार्मिक आस्था र स्थानीय जीवनसँग पनि जोड्ने प्रयास गरेका छन् । तर प्रकृति चित्रणको साहित्यिक प्रभाव अझ बढाउन दृश्यको विवरणसँगै त्यसले लेखकको मनमा उत्पन्न गरेको गहिरो अनुभूति, प्रतीकात्मक अर्थ र दार्शनिक चिन्तनलाई अझ सघन बनाउन सकिने ठाउँमा नियात्राकार देवकोटाको चुकेका छन् ।

२.४ सामाजिक तथा सांस्कृतिक जीवनको चित्रण

यस कृतिले विभिन्न स्थानका सामाजिक र सांस्कृतिक जीवनलाई नियात्राको विषय बनाएको छ । लेखकले यात्रा गरेका ठाउँको भौगोलिक अवस्थासँगै त्यहाँका मानिसको जीवनशैली, सामाजिक व्यवहार, स्थानीय संस्कृति, धार्मिक विश्वास र सामुदायिक सम्बन्धबारे पनि चर्चा गरेका छन् । ‘ओखरकोट’(पृष्ठ ११५–१२०) मा झिमरुक गाउँपालिकाको पहिचान, ऐतिहासिक महत्त्व र सांस्कृतिक सम्पदाको चर्चा छ । लेखकले ओखरकोटले स्थानीय क्षेत्रको पहिचान बोकेको र संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पु¥याएको उल्लेख गरेका छन् । तर त्यति महत्त्वपूर्ण स्थानमा सरसफाइको अवस्था कमजोर रहेको विषय पनि उठाएका छन् । यसबाट लेखकको दृष्टि केवल सौन्दर्यको प्रशंसामा सीमित नभई स्थानीय व्यवस्थापन र संरक्षणका समस्यातर्फ पनि केन्द्रित भएको देखिन्छ । त्यस्तै, “आहा ! मनोरम प्युठान’(पृष्ठ ८८–९३ ) र ‘मनमोहक ठाउँ गौमुखी’(पृष्ठ १२१–१२७) जस्ता नियात्रामा प्युठानको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनाको चर्चा गरिएको छ । ‘ ओझेलमा परेको पालुकास्थान मन्दिर’(पृष्ठ १३४–१३७) सम्बन्धी रचनामा स्थानीय धार्मिक सम्पदा र त्यसको पर्यटन विकाससँगको सम्बन्धलाई प्रस्तुत गरिएको छ । यी तीनवटा नियात्राको साहित्यिक महत्त्व स्थानको परिचय दिने विवरणमा मात्र सीमित नभई, स्थानीय पहिचान, सम्पदा संरक्षण र पर्यटन विकासजस्ता सामाजिक सरोकारलाई पनि उठाएको छ । तर सामाजिक जीवनको चित्रणमा स्थानीय मानिसका आन्तरिक भावना, वर्गीय सम्बन्ध, आर्थिक असमानता, सांस्कृतिक द्वन्द्व र दैनिक जीवनका जटिलतालाई अझ गहिराइमा विश्लेषण गर्न सकिने सम्भावना रहँदारहँदै पनि धेरै ठाउँमा नियात्राकारको दृष्टि पर्यवेक्षकको रूपमा बढी देखिन्छ, स्थानीय पात्रहरूको आफ्नै आवाज र जीवनानुभूति तुलनात्मक रूपमा कम विस्तारमा आएका छन् ।

२.५ धार्मिक आस्था र आध्यात्मिक चेतना

कृतिका धेरै नियात्रामा धार्मिक आस्था र आध्यात्मिक चेतनाको प्रभाव पाइन्छ । ‘बडीमालिका जाँदा जङ्गलमा हराउँदा’(पृष्ठ ३६–४७), ‘महाप्रभुको तपोभूमि स्वर्गद्वारी’, (पृष्ठ ९४–९९) ‘आँखामा नाचिरहेको मुस्ताङ’, (पृष्ठ १००–१११) “ प्युठानदेखि ‘सुपादेवी मन्दिर सम्म’(पृष्ठ १२८ –१३३) र ‘धारपानी यात्रा’(पृष्ठ १४४–१४६) जस्ता नियात्रामा धार्मिक यात्रालाई विषय बनाईएको छ, जसमा लेखकले धार्मिक स्थलसम्म पुग्ने भौतिक यात्रा र त्यससँग सम्बन्धित मानसिक तयारी, पारिवारिक सहभागिता, आस्था तथा श्रद्धालाई प्रस्तुत गरेका छन् । उदाहरणका लागि, मुस्ताङ यात्रामा पितृहरूको सम्झना, श्राद्ध–तर्पण र मुक्तिनाथ दर्शनको उद्देश्य एकसाथ जोडिएका छन् । यसले धार्मिक यात्रा केवल तीर्थदर्शन नभई पारिवारिक स्मृति र सांस्कृतिक निरन्तरतासँग पनि सम्बन्धित रहेको देखाउँछ । यसरी धार्मिक आस्था कृतिको एउटा महत्त्वपूर्ण भावनात्मक आधार बनेको छ । तथापि धार्मिक विषयलाई साहित्यिक रूपमा अझ प्रभावकारी बनाउन आस्था, विश्वास, जीवनदर्शन र मानवीय अस्तित्वसम्बन्धी प्रश्नहरूको गहन विश्लेषण गर्न सकिने सम्भावना रहन्छ ।

२.६ आत्मपरकता, स्मृति र अनुभूतिको प्रस्तुति

नियात्रा साहित्यको एउटा प्रमुख विशेषता लेखकको आत्मपरक उपस्थिति हो । रारादेखि ताजमहलसम्ममा नियात्राकारले आफूले देखेका दृश्य र भोगेका घटनालाई तटस्थ रूपमा मात्र प्रस्तुत गरेका छैनन्, कतिपय ठाउँमा आफ्ना खुसी, दुःख, आश्चर्य, असन्तुष्टि, सन्तुष्टि र पुराना सम्झनालाई पनि अभिव्यक्त गरेका छन् । ‘स्मृतिमा दिपायल’(पृष्ठ ८–१६) यसको उदाहरण हो । यसमा नियात्राकारले सरकारी कामका सिलसिलामा भोगेको प्रशासनिक अनुभव, कार्यसम्पादनको मूल्याङ्कन र वरिष्ठ अधिकारीहरूसँगको सम्बन्धलाई स्मृतिका रूपमा प्रस्तुत गरेका छन् । लेखकले आफ्नो काम र जिम्मेवारीका विषयमा भएका संवाद तथा त्यसबाट उत्पन्न मनोभावलाई पनि समेटेका छन् । त्यस्तै, ‘”जाजरकोटको सफल बसाइ” (पृष्ठ १७–२३) मा जिल्ला सरकारी वकिल कार्यालयका लागि जग्गा प्राप्ति र आफ्नै भवन निर्माण गर्न सफल भएको अनुभवले लेखकलाई आत्मसन्तुष्टि दिएको छ । यसले लेखकको व्यक्तिगत उपलब्धिलाई सार्वजनिक सेवासँग जोडेको छ । यसरी नियात्राकरले आफ्नो जीवनका अनुभवलाई साहित्यिक सामग्री बनाउने प्रयास गरेका छन् । तर आत्मपरकता सधैँ गहिरो आत्मविश्लेषणमा परिणत भएको छैन । कतिपय ठाउँमा लेखकले घटना सुनाएका छन्, तर त्यस घटनाले आफ्नो सोच, जीवनदृष्टि वा मानवीय सम्बन्धमा पारेको प्रभावलाई थप गहिराइमा केलाएका छैनन् ।

२.७ पेसागत जीवन र प्रशासनिक अनुभवको साहित्यिक उपयोग

यस कृतिको विशिष्ट पक्ष लेखकको निजामती सेवाको अनुभवलाई नियात्राको विषय बनाउनु हो। लेखक २०५३ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका र क्रमशः बढुवा हुँदै राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदसम्म पुगेका व्यक्ति हुन् । भूमिकामा उनले सरकारी सेवाका क्रममा विभिन्न स्थानमा पुगेका र त्यहाँका अनुभवलाई लेखनमा समेटेको उल्लेख गरेका छन् । यस दृष्टिले ‘चुनौतीपूर्ण बसाइका बाइस महिना’ (पृष्ठ २९–३५), ‘स्मृतिमा दिपायल’, (पृष्ठ ८–१६) ‘जाजरकोटको सफल बसाइ’(पृष्ठ १७–२३) र ‘मजुवा मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत भएर जाँदा’(पृष्ठ १४७–१५५) महत्त्वपूर्ण छन् । विशेषगरी ‘जाजरकोटको सफल बसाइ’ मा कार्यालय भवन निर्माणको प्रसङ्ग उल्लेखनीय छ । लेखकले कार्यालयका लागि जग्गा प्राप्त गर्न एक रुपैयाँ पनि खर्च नगरी जग्गा उपलब्ध गराउन सकेको र पछि त्यही जग्गामा भवन निर्माण गरी सेवा प्रवाह सुरु भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । यसबाट सार्वजनिक सेवामा व्यक्तिगत इमानदारी, संस्थागत विकास र सामाजिक उत्तरदायित्वको महत्त्व अभिव्यक्त हुन्छ । ’मजुवा मतदान केन्द्र’ मा मतदान अधिकृतको जिम्मेवारी, निर्वाचन व्यवस्थापन र लोकतान्त्रिक प्रक्रियासँग जोडिएका अनुभवलाई प्रस्तुत गरिएको छ । यसले नियात्रा विधाले केवल पर्यटकीय वा प्राकृतिक यात्रालाई मात्र होइन, प्रशासनिक तथा संस्थागत अनुभवलाई पनि साहित्यिक विषय बनाउन सक्छ भन्ने देखाउँछ । तर यी नियात्राहरुमा प्रशासनिक विवरण कतिपय ठाउँमा यति विस्तृत हुन्छ छ कि साहित्यिक अनुभूति र कथात्मक प्रवाह ओझेलमा पारेको छ । सरकारी कामको विवरणलाई मानवीय द्वन्द्व, नैतिक प्रश्न, पात्रको मनोविज्ञान र सामाजिक प्रभावसँग अझ सशक्त रूपमा जोड्न सकेको भए साहित्यिक प्रभाव बढ्ने थियो ।

२.८ राजनीतिक तथा ऐतिहासिक चेतना

यस कृतिमा यात्रा गरिएका स्थानको राजनीतिक र ऐतिहासिक अवस्थाप्रति पनि लेखक सचेत देखिन्छन् । ‘कोहलपुरबाट गाउँमा पुग्दासम्म’(पृष्ठ ४८–५४) मा कर्णाली क्षेत्रको दुर्गम भूगोल, सडक यातायातको कठिनाइ र विकाससम्बन्धी प्रश्न उठाइएको छ । लेखकले कर्णालीका नागरिकले विकास र राज्यको व्यवहारका सन्दर्भमा अनुभव गर्ने असमानतालाई आफ्नै यात्राको अनुभूतिसँग जोड्ने प्रयास गरेका छन् । जोखिमपूर्ण साँघुरो सडकमा यात्रा गर्दा उत्पन्न भय र असुरक्षाको अनुभूति पनि प्रस्तुत भएको छ । ”सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा’(पृष्ठ १५६–१६५) मा अछामको भौगोलिक परिचयसँगै द्वन्द्वकालीन घटनाहरू र तिनले सरकारी संरचना तथा समाजमा पारेको प्रभावको चर्चा रहेको छ । यसले यात्रालाई इतिहास र राजनीतिक स्मृतिसँग जोडेको छ । यस प्रकारका नियात्राहरुले कृतिलाई केवल प्रकृति र पर्यटकीय स्थलको वर्णनमा सीमित हुन दिएका छैनन् । तिनले राज्य, विकास, नागरिकको अपेक्षा र राजनीतिक घटनाले समाजमा पारेको प्रभावसमेत उठाएका छन् ।

२.९ अन्तरदेशीय यात्रा र तुलनात्मक दृष्टि

“दिल्ली यात्रा र नागरिकताको महत्त्व”(पृष्ठ ६२–६८), ‘‘नोयडा हुँदै आगरा र ताजमहलसम्म’ (पृष्ठ ६९–७४) तथा ‘आग्राबाट लखनउ हुँदै कपिलवस्तु’(पृष्ठ ७५–७९) यस सङ्ग्रहका अन्तरदेशीय यात्रासँग सम्बन्धित नियात्रा हरु हुन् । ‘नोयडा हुँदै आगरा र ताजमहलसम्म’ मा लेखकले परिवारका सदस्यसँग गरेको यात्रालाई प्रस्तुत गरेका छन् । नयाँ दिल्लीको चिसो मौसम, गणतन्त्र दिवसको वातावरण, सडक तथा सहरी संरचना र मेट्रो रेलको विकासले लेखकको ध्यान आकर्षित गरेको छ । विशेषगरी मेट्रो रेलको विकासले सहरभित्र आवागमन सहज बनाएको पक्षलाई उनले उल्लेख गरेका छन् । यी यात्रा बर्णनहरुमा पारिवारिक यात्रा, सहरी जीवन, यातायात र ऐतिहासिक पर्यटकीय स्थलको अनुभव एकसाथ आएका छन् । ताजमहलजस्तो विश्वप्रसिद्ध सम्पदासँगको साक्षात्कारले कृतिको भौगोलिक दायरा नेपालको सीमाभन्दा बाहिर विस्तार गरेको छ। तर तुलनात्मक नियात्राको दृष्टिले हेर्दा नेपाल र भारतका स्थानबीचको सामाजिक, सांस्कृतिक, आर्थिक र ऐतिहासिक भिन्नतालाई अझ गहिराइमा विश्लेषण गर्न सकिने सम्भावना छ । विदेशी स्थानको परिचय दिनु मात्रभन्दा त्यहाँको जीवनपद्धति र आफ्नो समाजबीचको तुलनात्मक दृष्टि प्रस्तुत गर्न सकेको भए यी नियात्राहरु अझ प्रभावकारी हुने थिए ।

२.१० भाषा, शैली र अभिव्यक्ति

कृतिको भाषा सामान्यतः सरल, सहज, संवादात्मक र वर्णनात्मक छ। लेखकले जटिल तथा अलङ्कारिक भाषाभन्दा पाठकले सजिलै बुझ्न सक्ने अभिव्यक्ति शैली अपनाएका छन् । यसले यात्रा विवरणलाई सहज र पठनीय बनाएको छ । लेखनमा प्रथम पुरुष कथनको प्रयोग पाइन्छ । लेखक आफैँ यात्राको सहभागी, पर्यवेक्षक र अनुभूतिकर्ता बनेर प्रस्तुत भएका छन् । यसले पाठकलाई लेखकसँगै यात्रामा सहभागी भएको अनुभूति दिन सक्छ । कृतिमा वर्णनात्मक, संस्मरणात्मक, आत्मपरक शैली, संवादात्मक,सूचनात्मक र कथात्मक शैलीको प्रयोग भएको छ । यद्यपि भाषा र शैलीमा अझ परिष्कार आवश्यक देखिन्छ । कतिपय ठाउँमा विवरणको विस्तारले कथ्यको गति सुस्त बनाउँछ । केही प्रसङ्गमा एउटै प्रकृतिका सूचनात्मक विवरणलाई संक्षिप्त र सघन बनाउन सकिन्छ । साथै दृश्य वर्णनलाई बिम्बात्मक, प्रतीकात्मक र भावात्मक अभिव्यक्तिसँग जोड्न सकेको भए कृतिको कलात्मक प्रभाव अझ बढ्ने थियो ।

२.११ शीर्षकको औचित्य र प्रतीकात्मकता

देवकोटाको ‘रारादेखि ताजमहलसम्म’ (२०८३) नियात्रासङ्ग्रहमा समाविष्ट २४ वटै नियात्राको विषयवस्तु र स्वरूपलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा यसको शीर्षकले समग्र कृतिको प्रतिनिधित्व गर्न सकेको देखिदैन । रारादेखि ताजमहलसम्म शीर्षक आकर्षक, प्रतीकात्मक तथा पाठकमा जिज्ञासा उत्पन्न गर्न सक्ने प्रकृतिको छ । तथापि, यस सङ्ग्रहमा प्राकृतिक तथा भौगोलिक अवलोकनका अतिरिक्त धार्मिक–सांस्कृतिक स्थलहरूको वर्णन, सामाजिक जीवनको चित्रण, प्रशासनिक अनुभव, ऐतिहासिक चेतना तथा निजात्मक संस्मरणसमेत समेटिएका छन् । यीमध्ये कतिपय नियात्राका विषयवस्तु शीर्षकले सङ्केत गरेको रारादेखि ताजमहलसम्मको भौगोलिक विस्तारसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखिँदैनन् । यसर्थ, प्रस्तुत शीर्षकले कृतिको एउटा महत्त्वपूर्ण पक्षलाई आकर्षक ढङ्गले अभिव्यक्त गरे पनि यसको विषयगत विविधता र अनुभूतिगत व्यापकतालाई पूर्ण रूपमा समेट्न सकेको छैन । कृतिको समग्र अन्तर्वस्तु र विषयगत बहुलतालाई दृष्टिगत गर्दा ‘यात्रा, भूगोल र अनुभूति’, ‘भूगोलदेखि जीवनसम्म’ वा ‘यात्राका अनेक आयाम’ जस्ता शीर्षक बढी प्रतिनिधिमूलक हुन सक्ने देखिन्छ ।

२.१२ कृतिका प्रमुख बिशेषता

समग्रमा यस कृतिका बिशेषताहरूमा १.अनुभवको अभिलेखीकरण २.भौगोलिक विविधता ३.स्थानीय सम्पदाको परिचय ४.प्रशासनिक अनुभवको साहित्यिक उपयोग ५.सामाजिक चेतना ६.पारिवारिक तथा मानवीय सम्बन्ध र ७.पठनीयता जस्ता कुराहरु रहेका छन् ।

२.१३ नियात्रात्मक अनुभूति र असान्दर्भिक विवरणको अधिकता

कृतिमा नियात्रात्मक अनुभूतिलाई प्रभावकारी बनाउने प्रशस्त सम्भावना रहे पनि कतिपय पाठमा यात्राको मूल कथ्यसँग प्रत्यक्ष सम्बन्ध नराख्ने निजी, पारिवारिक, कार्यालयीय तथा प्रशासनिक विवरणको अनावश्यक विस्तार भएको देखिन्छ। उदाहरणका लागि, ‘हिउँ नपरेको रारा यात्रा’ (पृ.१) मा लेखकले आफ्नी श्रीमती चार महिनाकी गर्भवती भएको, भाइ देवेन्द्र एसएलसी दिइरहेको, आमाले घरको सम्पूर्ण काम गर्नुपरेको र बुबा सरुवा भएर दाङ गएको प्रसङ्ग उल्लेख गरेका छन् । यी विवरणले यात्राको मूल अनुभूतिमा उल्लेखनीय योगदान दिएको देखिँदैन । त्यसैगरी, सोही नियात्रामा यात्राका क्रममा गरिएका खानपान, विश्राम तथा दैनिक गतिविधिको सूक्ष्म विवरण (पृ.२–३) र रारा तालको लम्बाइ, चौडाइ, गहिराइ, उचाइ तथा जैविक विविधतासम्बन्धी तथ्याङ्कको विस्तृत प्रस्तुति (पृ.६) ले कतिपय ठाउँमा कथ्यको गतिलाई सुस्त बनाएको छ । ‘स्मृतिमा दिपायल’ (पृ.८–१६) मा कार्यालयीय कामकारबाही तथा कानुनी प्रक्रियासम्बन्धी विवरणको विस्तारले नियात्रात्मक अनुभूतिभन्दा व्यावसायिक संस्मरणको प्रभाव बढी पारेको छ । त्यसैगरी, ‘काठमाडौँ यात्रा र सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन’ (पृ.५४–६०) मा सम्मेलनका औपचारिक कार्यक्रम, मन्तव्य तथा घोषणापत्रसम्बन्धी विवरणको विस्तृत प्रस्तुतिले यात्रानुभूतिलाई तुलनात्मक रूपमा ओझेलमा पारेको देखिन्छ। ‘नोएडा हुँदै आगरा र ताजमहलसम्म’ (पृ. ६८–७३) मा भौगोलिक, ऐतिहासिक तथा वास्तुकलासम्बन्धी सूचनाको अधिकता र ‘ओखरकोट’ (पृ. ११४–११९) मा स्थानीय प्रशासनिक तथा विकाससम्बन्धी तथ्याङ्कको विस्तृत प्रस्तुतिले लेखकको निजात्मक अनुभूति र कलात्मक अभिव्यक्तिलाई तुलनात्मक रूपमा पछाडि पारेको छ । ‘प्युठानदेखि सुपादेवी मन्दिरसम्म (पृ. १२७–१३२) मा छोराको शारीरिक बनावट तथा पहिरनसम्बन्धी विवरण (पृ.१२८) ले यात्राको मूल विषयसँग पर्याप्त सम्बन्ध स्थापित गर्न सकेको छैन । त्यस्तै, ‘अझै सर्दी कस्तो छ हँ !’ (पृ.१३७–१४२) मा खानपान, परिकार तथा शारीरिक असहजतासम्बन्धी विवरणको विस्तारले केही ठाउँमा यात्राको मूल अनुभूतिभन्दा सहायक प्रसङ्गलाई बढी स्थान दिएको छ । यसर्थ, कृतिका कतिपय पाठमा विषयवस्तुको छनोट, विवरणको सङ्क्षेपीकरण तथा निजात्मक अनुभूति र सूचनात्मक प्रस्तुतिबीच सन्तुलन कायम गर्न सकेको भए यसको नियात्रात्मक प्रभाव अझ सघन र कलात्मक बन्ने थियो ।

२.१४ समग्र नियात्राहरुको बिशेषतागत बर्गीकरण

नरेन्द्र देवकोटा ‘प्रशान्त’को रारादेखि ताजमहलसम्म (२०८३) मा सङ्कलित रचनाहरूलाई नियात्राका मूलभूत विशेषताका आधारमा मूल्याङ्कन गर्दा सबै रचनामा ती विशेषता समान रूपमा उपस्थित देखिँदैनन् । कुनै रचनामा यात्राको अनुभूति, आत्मपरकता, प्रकृतिचित्रण र भाषिक कलात्मकता बढी पाइन्छ भने कुनैमा स्थानको परिचय, प्रशासनिक अनुभव र तथ्यात्मक विवरणले प्राथमिकता पाएको देखिन्छ । कुनै रचनामा साहित्यिक गुण कम हुनु र त्यो नियात्रा नै नहुनु एउटै कुरा होइन । त्यसैले तलको वर्गीकरणमा ‘नियात्रात्मक तथा साहित्यिक गुण तुलनात्मक रूपमा बढी भएका’ र ‘विवरणात्मक तथा सूचनात्मक पक्ष बढी भएका’ रचनालाई छुट्याइएको छ ।

२.१४.१. नियात्रात्मक तथा साहित्यिक गुण तुलनात्मक रूपमा बढी भएका रचनाहरू

यी रचनामा यात्राको प्रत्यक्ष अनुभवसँगै आत्मपरकता, अनुभूति, प्रकृतिचित्रण, संस्मरणात्मकता र
साहित्यिक अभिव्यक्तिको राम्रो सम्भावना देखिन्छ ।

१. धित नमरेको रारा यात्रा (पृष्ठ १–७) २. स्मृतिमा दिपायल (पृष्ठ ८–१६ )
३. राजविराजको यात्रा (पृष्ठ २४–२८) ४. बडीमालिकाजाँदा जङ्गलमा हराउँदा (पृष्ठ ३६–४७)
५. कोहलपुरबाट गाउँमा पुग्दासम्म (पृष्ठ ४८–५४) ६. सान्त मसान्तको यात्राको सम्झना (पृष्ठ ८०–८७)
७. आहा! मनोरम प्युठान (पृष्ठ ८८–९३) ८. महाप्रभुको तपोभूमि स्वर्गद्वारी (पृष्ठ ९४–९९)
९. आँखामा नाचिरहेको मुस्ताङ (पृष्ठ १००–१११) १०. खलङ्गादेखि केसरीसम्म (पृष्ठ ११२–११४)
११.ओखरकोट (पृष्ठ ११५–१२०) १२.मनमोहक ठाउँ गौमुखी (पृष्ठ १२१–१२७)
१३.प्युठानदेखि सुपादेवी मन्दिरसम्म (पृष्ठ १२८–१३३) १४.अझै सर्दी कस्तो छ हँ ! (पृष्ठ १३८–१४३)
१५.धारपानी यात्रा (पृष्ठ १४४–१४६) १६.सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा (पृष्ठ १५६–१६५)

२.१४.२. विवरणात्मक तथा सूचनात्मक पक्ष बढी भएका रचना

यी रचनामा यात्रा र स्थानको परिचय, प्रशासनिक अनुभव, कार्यालयीय जिम्मेवारी, ऐतिहासिक वा सामाजिक सूचना तथा घटनाको विवरणले तुलनात्मक रूपमा बढी स्थान पाएको देखिन्छ । यिनमा नियात्राका केही साहित्यिक तत्त्व पनि छन्, तर आत्मपरक अनुभूति र कलात्मक अभिव्यक्तिको पक्षलाई अझ सशक्त बनाउन सकिने देखिन्छ ।

१. जाजरकोटको सफल बसाइ(पृष्ठ १७)
२. चुनौतीपूर्ण बसाइका बाइस महिना (पृष्ठ २९ )
३. सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन (पृष्ठ ५५)
४. दिल्ली यात्रा र नागरिकताको महत्त्व (पृष्ठ ६२)
५. नोयडा हुँदै आगरा र ताजमहलसम्म (पृष्ठ ६९)
६. आगराबाट लखनउ हुँदै कपिलवस्तु (पृष्ठ ७५)
७. ओभेलमा परेको पालुकास्थान मन्दिर (पृष्ठ १३४)
८. मजुवा मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत भएर जाँदा (पृष्ठ १४७)

३. कृतिका सुधार गर्नुपर्ने पक्ष

कुनै पनि साहित्यिक कृतिको मूल्याङ्कन गर्दा त्यसका उपलब्धिसँगै सीमाको पहिचान पनि आवश्यक हुन्छ। रारादेखि ताजमहलसम्म मा निम्न पक्षहरू थप परिष्कार गर्न सकिने देखिन्छ ।

१. विवरणात्मकताको प्रधानताः केही नियात्रामा स्थान, बाटो, कार्यालय र घटनाको विवरण बढी
छ । यात्राबाट उत्पन्न गहिरो अनुभूति र आत्मविश्लेषणलाई अझ विस्तार गर्न सकिन्थ्यो ।
२. कलात्मक भाषाको सीमित प्रयोगः भाषा सहज र बोधगम्य भए पनि सबै रचनामा बिम्ब,
प्रतीक, रूपक र दृश्यात्मक अभिव्यक्तिको समान प्रयोग पाइँदैन ।
३. सामाजिक विश्लेषणको गहिराइः स्थानीय समाजको परिचय दिइए पनि वर्गीय सम्बन्ध, आर्थिक
असमानता, सामाजिक संरचना र सांस्कृतिक परिवर्तनका पक्षलाई अझ गहिरो रूपमा विश्लेषण
गर्न सकिन्थ्यो ।
४. कथात्मक संरचनाः केही रचनामा घटनाहरू क्रमशः प्रस्तुत भएका छन्, तर तिनको आरम्भ,
विकास, चरम अवस्था र निष्कर्षबीचको कलात्मक सम्बन्धलाई अझ कसिलो बनाउन सकिन्थ्यो ।
५. ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भः ऐतिहासिक र धार्मिक स्थलको चर्चा गर्दा तिनको पृष्ठभूमि,
स्थानीय जनविश्वास र ऐतिहासिक महत्त्वलाई थप अनुसन्धानपरक रूपमा प्रस्तुत गर्न सकिन्थ्यो ।

४. समग्र मूल्याङ्कन तथा निष्कर्ष

नरेन्द्र देवकोटा ‘प्रशान्त’द्वारा लिखित रारादेखि ताजमहलसम्म लाई समग्रतः नेपाली नियात्रा साहित्यको अनुभवपरक, संस्मरणात्मक, विवरणात्मक तथा सामाजिक चेतनासम्पन्न कृतिका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । नियात्राका सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गर्दा यस कृतिमा यात्राको प्रामाणिकता, निजात्मक अनुभूति, संस्मरणात्मकता, प्रकृति तथा भौगोलिक परिवेशको चित्रण, सामाजिक–सांस्कृतिक अवलोकन र ऐतिहासिक चेतनाजस्ता आधारभूत तत्त्वहरूको उपस्थिति देखिन्छ । प्रस्तुत कृतिले यात्रालाई केवल स्थानपरिवर्तन, दृश्यावलोकन वा पर्यटकीय गतिविधिका रूपमा नलिई जीवनजगत्का विविध पक्षको साक्षात्कार गर्ने, सामाजिक यथार्थको अवलोकन गर्ने तथा अनुभूति र चिन्तनलाई अभिव्यक्त गर्ने सिर्जनात्मक प्रक्रियाका रूपमा आत्मसात् गरेको छ । यस कृतिको विशिष्टता लेखकको पेसागत तथा प्रशासनिक अनुभव र निजात्मक यात्रानुभूतिबीच स्थापित अन्तर्सम्बन्धमा निहित छ । सरकारी सेवाका क्रममा विभिन्न भौगोलिक तथा सामाजिक परिवेशसँग साक्षात्कार गर्दा प्राप्त गरेका अनुभव, अवलोकन र अनुभूतिलाई लेखकले नियात्रात्मक लेखनको विषयवस्तु बनाएका छन् । फलतः कृतिको विषयविस्तार प्राकृतिक सौन्दर्य र पर्यटकीय स्थलहरूको वर्णनमा मात्र सीमित नरही सामाजिक संरचना, राज्यव्यवस्था, प्रशासनिक अभ्यास, धार्मिक आस्था, सांस्कृतिक सम्पदा तथा मानवीय सम्बन्धका विविध आयामसम्म विस्तारित भएको छ । यसमा प्रस्तुत स्थान, परिवेश र घटनाहरूले पाठकलाई भौगोलिक तथा ऐतिहासिक जानकारी उपलब्ध गराउनुका अतिरिक्त समाज, संस्कृति, शासनप्रणाली र मानवीय जीवनका बहुआयामिक पक्षबारे विमर्श गर्नसमेत अभिप्रेरित गर्छन् । यस अर्थमा लेखकले आफ्ना व्यक्तिगत तथा पेसागत यात्राका अनुभवलाई निजी स्मृतिको सीमाबाट बाहिर ल्याई सार्वजनिक अनुभूति र साहित्यिक अभिव्यक्तिको विषय बनाउनु कृतिको उल्लेखनीय उपलब्धि हो ।

साहित्यिक मूल्यका दृष्टिले यस कृतिका सबल पक्षमा यात्रानुभवको प्रामाणिकता, विषयवस्तुको विविधता, सहज तथा सम्प्रेषणीय भाषाशैली, परिवेशचित्रण, सामाजिक अवलोकन र जीवनपरक अनुभूतिको प्रस्तुति उल्लेखनीय छन् । विशेषतः केही नियात्रामा प्रकृतिप्रतिको आत्मीय दृष्टि, स्मृतिको पुनरावर्तन, निजात्मक संवेदना र अनुभूतिजन्य अभिव्यक्तिको प्रभावकारिता देखिन्छ । तथापि, सङ्ग्रहका सबै रचनामा अनुभूतिको गहिराइ, चिन्तनको सघनता, आत्मविश्लेषणको स्तर र भाषिक कलात्मकताको समान सन्तुलन कायम भएको पाइँदैन । कतिपय रचनामा साहित्यिक अनुभूति र सिर्जनात्मक अभिव्यक्तिभन्दा तथ्यात्मक विवरण, सूचनापरक प्रस्तुति, प्रशासनिक प्रसङ्ग तथा घटनाको अभिलेखीकरण बढी प्रभावशाली देखिन्छ । त्यस्तै, विवरणात्मकताको प्रबलता र आत्मपरक चिन्तनको सीमितताले केही रचनाको साहित्यिक प्रभावलाई अपेक्षाकृत न्यून बनाएको छ । यस प्रकारको असमानताले सङ्ग्रहमा कलात्मक एकरूपताको अभाव देखाए पनि यसको विषयगत विस्तार, अनुभवको विविधता र सामाजिक सरोकारको महत्त्वलाई न्यूनीकरण गर्दैन । त्यसैले यस कृतिलाई विशुद्ध अनुभूतिपरक वा कलात्मक नियात्राको सङ्ग्रहका रूपमा मात्र नभई साहित्यिक अनुभूति, संस्मरणात्मकता र तथ्यपरक यात्रा विवरणको अन्तर्मिश्रणबाट निर्मित नियात्रासङ्ग्रहका रूपमा ग्रहण गर्नु उचित हुन्छ । यसरी रारादेखि ताजमहलसम्म को साहित्यिक महत्त्व यात्रामा समेटिएका स्थानहरूको परिचय, प्राकृतिक दृश्यको वर्णन वा भौगोलिक सूचनाको सम्प्रेषणमा मात्र अन्तर्निहित छैन, बरु ती यात्राका माध्यमबाट अभिव्यक्त लेखकका निजात्मक अनुभूति, पेसागत जीवनका अनुभव, सामाजिक अवलोकन र जीवनसम्बन्धी दृष्टिकोणमा समेत निहित छ । यस कृतिको मूल्याङ्कन गर्दा स्थापित नियात्राकारका कृतिसँग तुलनात्मके साहित्यिक श्रेष्ठता निर्धारण गर्नुभन्दा लेखकले आफ्ना व्यावसायिक तथा व्यक्तिगत अनुभवलाई नियात्रात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने क्रममा प्रस्तुत गरेको सिर्जनात्मक दृष्टि, विषयगत व्यापकता र सामाजिक प्रतिबद्धतालाई महत्त्व दिनु उपयुक्त हुन्छ । समग्रमा, केही रचनामा देखिने विवरणात्मकता र कलात्मक असमानताका बाबजुद रारादेखि ताजमहलसम्मले नेपाली नियात्रा साहित्यमा पेसागत अनुभव, निजात्मक अनुभूति र सामाजिक यथार्थलाई एकीकृत गर्ने प्रयासद्वारा आफ्नो पृथक् पहिचान निर्माण गर्ने सम्भावना बोकेको कृतिका रूपमा महत्व राख्दछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार