रिले टावर बिग्रिँदा हुम्ला र मुगुका चार स्थानीय तह सञ्चारविहीन



हुम्ला ।

मुगुको सोरु गाउँपालिका–१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आएपछि हुम्लाका तीन र मुगुको एक स्थानीय तहका सेवाग्राही सञ्चारविहीन बनेका छन् । टावर मर्मत गरिए पनि पाँच दिनपछि फेरि बिग्रिएकाले दुवै जिल्लाका बासिन्दाले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको छ । गत १ कात्तिकदेखि उक्त रिले टावरले राम्ररी काम गरेको छैन । केही दिनअघि मर्मतपछि सेवा सुचारु भए पनि ५ दिनपछि फेरि समस्या देखिएको हो ।

हुम्लाका चंखेली, सर्केगाड र अदानचुली तथा मुगुको सोरु गाउँपालिकाका सेवाग्राही प्रभावित भएका हुन् । चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीका अनुसार नेपाल टेलिकमको नेटवर्कमा पटकपटक समस्या आउने गरेकाले नागरिकको गुनासो बढ्दै गएको छ । एकपटक मर्मत भएर सेवा चल्न थालेपछि केही दिनमै फेरी ठप्प हुने क्रम दोहोरिँदा सेवाप्रतिको विश्वासमै असर परेको स्थानीयको भनाइ छ ।

सर्केगाड गाउँपालिका–१ जैर बेतालमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि गाउँपालिकाका विभिन्न स्थानका बासिन्दा सञ्चारविहीन बनेका छन् । वडा नम्बर १ का सचिव पाण्डव बुढाले टावरमा पटकपटक समस्या आउँदा हुम्लाका तीन स्थानीय तह सञ्चारविहीन बनेको बताए । उनका अनुुसार हुम्ला र मुगु सडक, स्वास्थ्य सेवा र बजारको पहुँचका हिसाबले कठिन भूगोल भएका जिल्ला हुन् । यस्ता ठाउँमा मोबाइल फोन र इन्टरनेट सुविधा सम्पर्क गर्ने प्रमुख माध्यम हुन् ।

पत्कालीन अवस्थामा स्वास्थ्यकर्मीसँग सम्पर्क, विपद्को सूचना आदानप्रदान, स्थानीय सरकारका काम, बैंकिङ र मोबाइल वालेट जस्ता डिजिटल कारोबार तथा बाहिर रहेका परिवारसँगको सम्पर्क यही सञ्जालमा निर्भर हुन्छन् । सञ्जाल ठप्प हुँदा यी सबै सेवा प्रभावित हुने स्थानीयको अनुभव छ । नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाका अनुसार समस्या मुगुको सोरुकोटमा रहेको रिले टावरमा देखिएको छ ।

प्राविधिक टोली घटनास्थल पुगेर मर्मतको काम गरिरहेको उनले जानकारी दिइन् । यता सेवाग्राहीले रिले टावरको स्थायी मर्मत तथा आवश्यक उपकरण परिवर्तन गर्न माग गरेका छन् । यस्तै, वैकल्पिक सञ्चार व्यवस्था वा ब्याकअप प्रणाली व्यवस्थापन गर्न र सेवा अवरोध हुँदा स्थानीय तहलाई समयमै जानकारी दिने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार