नेपालगन्ज स्वीमिङ च्याम्पियनसीपमा सगरमाथाको अग्रता



नेपालगन्ज ।

नेपालगन्जमा शनिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप प्रतियोगितामा ललितपुरको सगरमाथा स्वीम क्लबले भारी अन्तरले अग्रता लिएको छ । प्रतियोगितामा शनिबार भएका ४० वटा इभेन्टहरूमध्ये २४ वटा इभेन्टमा सगरमाथा स्वीम क्लबका खेलाडीहरूले प्रथम स्थान प्राप्त गरेको छ । प्रतियोगितामा शनिबारसम्म भारतको नयाँ दिल्लीको इलाइट स्वीमिङ एकेडेमीले १० वटा इभेन्टमा प्रथम स्थान प्राप्त गरेको छ । यसैगरी, मेपल बियर क्यानेडियन स्कुल र रातो बंगल स्कुलले दुई–दुई तथा ला मार्टिनेर गलर््स कलेज लखनउ र शिखा एकेडेमी कोहलपुर एक–एक इभेन्टमा अग्र स्थानमा रहेका छन् । कूल ८० वटा इभेन्टमा प्रतिस्पर्धा हुने च्याम्पियनसिपका बाँकी इभेन्टहरू आइतबार आयोजना हुनेछन् ।

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले गरेका थिए । उद्घाटनपछि विष्टले खेलकुदको विकासका लागि नेपालगन्ज उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । आठ वर्षभन्दा मुनि, १७ वर्षभन्दा मुनि र १७ वर्षभन्दा माथि उमेरसमूह बनाएर खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा फ्री स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुट्टै विधा समावेश गरिएका छन् । जसमा कूल ८० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसीप प्रतियोगितामा देशका विभिन्न क्लब तथा विद्यालयका साथै भारतको दिल्ली र लखनउबाट गरी दुई सयभन्दा बढी खेलाडीहरू सहभागी भएका आयोजकले जनाएको छ । नेपालगन्जका स्वीमिङ क्लब पौडी खेलको प्रवद्र्धन गर्ने उद्देश्यले खेलप्रेमी तथा विभिन्न पेशाकर्मीहरू सम्मिलित भई गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडी, खेल सम्बद्ध, प्रशासक तथा नागरिकहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार