बडीमालिकामा अलपत्र परेका एकको हेलिकप्टरबाट उद्धार



बाजुरा ।

बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । कार्की बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पु¥याइएको बताए । उनकाअनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।

यस्तै, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन रहेका अर्का कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यस क्षेत्रमा प्रस्थान गर्नेभएको छ । उनी बडीमालिकाबाट फिर्ता हुने बेला सम्पर्कविहीन बनेका थिए । यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार