आशा बोकेर दसैँ मनाउन भारतबाट फर्किँदै नेपाली



वीरेन्द्र जैसी । नेपालगन्ज ।

दैलेखका बमबहादुर थापा र उनका साथीहरू भारतको लेह लद्दाखबाट नेपालगन्ज नाका हुँदै दसैँ मनाउन घर फर्किएका छन् । लद्दाख क्षेत्रमा सडक निर्माण कार्यमा मजदुरको रूपमा काम गर्दै आएका थापाले दसैँ नजिकिएसँगै घर फर्किएको बताए । नेपालीहरूको सबैभन्दा ठूलो चाड मानिने दसैँ आउँदा प्रदेशमा बस्न मन नलागेपछि फर्किएको उनले बताए । ‘कमाइ त धेरै भएन । अलिअलि गरेर चाड मनाउने खर्च जोहो गरियो । अब दसैँ मनाउन भनेर फर्कियौँ,’ थापाले भने ।

थापाजस्तै भारतमा काम गर्न गएका पश्चिम नेपालका नागरिकहरू अहिले दसैँ मनाउन धमाधम घर फर्किरहेका छन् । बाँकेको जमुनाह नाकाबाट हाल दैनिक करिब तीन हजार पाँच सयदेखि चार हजार जना भारतबाट काम गरेर फर्किरहेका प्रहरीले जनाएको छ । थापाले यसवर्षको दसैँमा घर फर्किँदा मनमा केही आशाका किरणहरू रहेको बताए । देशमा युवाहरूको बाहुल्यता भएको सरकार रहेको र अब युवाहरूका लागि देशमै रोजगारी पाइने ववातावरण बन्ने उनको अपेक्षा छ । ‘अर्काको देशमा गएर मजदुरी गर्न बाध्य छौँ । अब बालेन सरकारले केही गर्ला भन्ने आशा छ, गर्नुपनि पर्छ,’ थापाले भने ।

उनले देशिभित्रै हुने विकास निर्माणका काममा नेपालीले काम र उचित पारिश्रमिक पाउने अवस्था बनाउन सके पनि धेरै राहत हुने बताए । जाजरकोटको छेडागाडका हरिभान नेपाली र उनका सात जना साथिहरू पनि भारतको केदारनाथबाट दसैँ मनाउन घर फर्किएका छन् । उनले करिब ६, ७ वर्षयता केदारनाथ जाने तीर्थयात्रीहरू र उनीहरूका भारीहरू बोकिदिएर सेवा गर्ने काम गर्दै आएको बताए । तीर्थयात्री र उनीहरूका भारी बोकेर सेवा गर्नेहरूले महिनामा ६० देखि ७० हजारसम्म कमाइ गर्न सक्ने उनले बताए । तर उक्त काम गर्मी सिजनमा मात्रै राम्रो चल्छ । अब दसैँपछि चिसो मौसम सुरु हुने भएकोले घरमै बस्नुपर्ने उनले बताए ।

अहिले देशमा नयाँ सरकार आएपछि केही आशा पलाएको उनको पनि भनाइ छ । तर, जबसम्म युवाहरूले देशमै काम पाउन सक्दैनन् तबसम्म आफूजस्ता नागरिकलाई कुनै फरक नपर्ने उनले बताए । ‘हामीलाई अर्काको देशमा गएर काम गर्न रहर छैन । राम्रो नेता भएको भए हामी काम गर्न अर्काको देशमा जानुपर्थेन । सानोतिनो काम भएपनि गाउँमै गर्न पाउने व्यवस्था हुनुपर्छ,’ नेपालीले भने ।
उत्तरकाशीबाटै फर्किएका सुर्खेतको चौकुने गाउँपालिकाका निर्दोष बरही मगरले भने अहिलेको सरकारले पनि राम्रो छनक देखाउन नसकेको बताए ।

‘नयाँ सरकारको कुनै पनि गतिविधि मैले ठिक देखेको छैनँ । म पनि बालेनभन्दा एक दुई वर्षमात्रै जेठो हुँ । तर उनको गतिविधि ठिक छैन । जेठमा बजेट ल्याउँदादेखि नै उनले गलत गतिविधि देखाए,’ मगरले भने । उनले सहरलाई हेरेर मात्रै योजना बनाएर नहुने बताए । ‘काठमाडौँमा मात्रै विकास भएर जुम्लामा सहज हुँदैन नि त । सुर्खेतमा सहज हुँदैन । त्यहाँ पनि विकास हुनुप¥यो । तर, त्यस्तो छनक देखाएनन्,’ उनले भने ।

दसैँ मनाउन स्वदेश फर्किरहेका नेपालीहरूलाई सहजीकरण र सुरक्षाका लागि सीमामा प्रहरीले सहायता कक्ष स्थापना गरेको छ । नागरिकहरू ठगीगमा नपरुन् भनेर सीमा कटिसकेपछि चेकजाँच र सोधपुछ गरिरहेको प्रहरीको दाबी छ । तर, प्रहरीले भारतबाट फर्किनेहरूको तथ्यांक राख्ने गरेको छैन । समस्या परेर कसैले गुनासो गर्न आएमा मात्रै विवरण टिपोट गर्ने गरेको छ । सहायता कक्षमा नगन्य मात्रै गुनासो टिपोट गरिएका छन् । जसमा केही व्यक्तिहरूले भारतीय क्षेत्रमा रिक्सा भाडा महँगो लगिएको गुनासोबाहेक उल्लेखनीय गुनासो गरेका छैनन् ।

नाकामा खटिएका एक प्रहरीहरूका अनुसार फाट्टफुट्टरूपमा रिक्सा चालकहरूले ठगेका गुनासा आउने गरेका छन् । यसैगरी सीमा नाकामा सञ्चालनमा रहेको हेल्थ डेस्कले नेपाल भित्रिरहेका केही नागरिकहरूको स्वास्थ्य विवरण लिएर शंका लागेका व्यक्तिहरूमा आवश्यक जाँच गरिरहेको छ । पछिल्लो केही दिनमा केही व्यक्तिहरूमा टिबी र मलेरिया संक्रमण फेला परेको हेल्थ डेस्कले जनाएको छ ।

सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका नागरिकहरू आर्थिक जोहोका लागि भारतका उत्तराखण्ड, जम्मु कश्मिर, लद्दाखका पहाडी इलाकामा भारी बोक्ने, स्याउ टिप्ने तथा निर्माण कार्यका लागि मजदुरी गर्न जाने गरेका छन् । उनीहरू त्यस्ता ठाउँहरूमा वर्षेबाली लगाएर जाने र दसैँ तिहारमा घर फर्किने गरेका छन् । यसरी उनीहरूले दसैँ तिहार मनाउने खर्चको जोहोका साथै अरु खर्चको जोहो गर्ने गरेका छन् ।

यसबाहेक भारतको महाराष्ट्र, गुजरात, बैंगलुरु, पन्जाव, राजस्थान लगायतका प्रदेशका विभिन्न सहरहरूमा पनि मजदुर, चौकीदार तथा घरेलु कामदारका रूपमा काम गरेर परिवार पाल्नुपर्ने बाध्यतामा रहेका नेपालीहरू पनि दसैँमा घर फर्किने गरेका छन् । केही नेपालीहरू भारतीय सेना तथा उद्योग र कम्पनीहरूमा पनि रोजागारी गर्ने गरेका छन् । भारतमा कति नागरिकहरू काम गर्न जान्छन् भन्ने विषयमा राज्यका कुनै निकायसँग पनि आधिकारिक तथ्यांक छैन । तर अनौपचारिक रूपमा १० देखि १५ लाख नागरिकहरू भारतको रोजगारीमा आश्रित रहेको अनुमान गरिन्छ ।

सीमापार गर्दा पासपोर्ट आवश्यक नपर्ने भएकोले सहज आउजाउ गर्ने र काम गर्ने अवसर नेपाली र भारतीयहरूलाई दुवै देशमा रहेको छ । यही सहजताले पश्चिम नेपालका अधिकांश युवा तथा काम गर्ने उमेर समुहका मानिसहरू भारत गरेर कमाइ गर्ने गर्दछ्न भने भारतीय नागरिकहरू पनि नेपालमा आएर रोजगारी गर्ने गर्दछन् । पछिल्लो समय भारत सरकारले नेपालीसँग परिचयपत्रमा कडाइ गर्र्न थालेको भारतबाट फर्किरहेका नेपालीहरूले बताएका छन् ।

गुजरातमा एक झोला बनाउने उद्योगमा काम गर्दै आएकी सुर्खेत गुर्भाकोटकी दिलसरा बुढाले तलब बैंक खातामा लिनका लागि पासपोर्ट चाहिने भनेर कम्पनीले भनेको बताइन् । ‘कि आधार कार्ड कि पासपोर्ट चाहिन्छ भनिरहेको छ । हामीसँग आधार कार्ड छैन । अब पासपोर्ट नै बनाउनुपर्ने भएको छ,’ बुढामगरले भनिन् । खुला सिमानाका कारण नेपालबाट रोजगारीका लागि भारत जाने श्रमिकहरूको आधिकारिक रेकर्ड वा तथ्यांक सरकारले राख्ने गरेको छैन । तर, सरकारसँग आधिकारिक रेकर्ड नहुँदा र श्रम सुरक्षाका लागि उपयुक्त व्यवस्था नहुँदा भारतमा काम गर्ने नेपालीहरूले कानुनी संरक्षण पाउनबाट बञ्चित छन् ।

नेपाली श्रमिकहरूले रोजगारदाताबाट सास्ती, जोखिम र शोषण भोग्दा कानुनी लडाइँ गर्न सक्ने अवस्था छैन भने नेपाल र भारतबीच श्रम आप्रवासनलाई व्यवस्थित गर्ने कुनै विशेष द्विपक्षीय श्रम सम्झौता पनि भएको छैन । भारतमा कार्यरत नेपाली श्रमिकहरूमध्ये धेरैजसो अनौपचारिक क्षेत्रमा कार्यरत छन् । उनीहरूले स्थानीय श्रम कानुनले ताकेको न्यूनतम ज्यालासमेत नपाउने रोजगार सम्झौता र आधिकारिक रेकर्ड नहुने भएकाले कार्यस्थलमा दुर्घटनामा पर्दा, बिरामी हुँदा वा साह्रोगाह्रो पर्दा नेपाल सरकार वा भारतीय निकायबाट कुनै पनि किसिमको राहत, क्षतिपूर्ति वा कानुनी सहायता पाउन नसक्ने अवस्था रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार