दुर्गा बञ्जाडे ती पात्र हुन्, जसको नेपालको निजामती वृत्तमा उनको प्रशासनिक क्षमताको निकै प्रशंसा हुन्छ । नेपालको दुर्गम क्षेत्रदेखि सुगम क्षेत्रमा आफ्नो प्रशासनिक क्षमता प्रदर्शन गरिसकेकी बञ्जाडेको आगमनले सुनवलमा छुट्टै आशाको किरण छाएको हो । कुशल प्रशासकको परिचय बनाएकी उनले नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेकी छन् । सामान्य प्रशासन समूहकी उपसचिव बञ्जाडे नगरपालिका तहको नेतृत्व सम्हाल्न सुनवल आइपुगेकी हुन् ।
पुरुषोत्तम सुवेदी । नवलपरासी ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका स्थानीय तहहरूमध्ये महिला नेतृत्व भएको एकमात्र नगरपालिका हो, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुुनवल नगरपालिका । जहाँ २०७९ को स्थानीय तह निर्वाचनमा प्रदेशमै एकमात्र महिला नगरप्रमुखका रूपमा विमला अर्याल निर्वाचित भएकी थिइन् । त्यसो त लुम्बिनी प्रदेशभरी अर्यालसहित पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्ष सरस्वती दर्लामी (चिदी) छन् । सुनवलमा ‘विमला दिदी’को पहिचान बनाएकी विमलाले २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै नगरप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
दलगत राजनीतिबाहेक स्थानीय खानेपानी तथा सरसफाइ संस्था, भूमी व्यवस्था आयोगलगायत थुप्रै सामाजिक संघसस्थामा लामो समय काम गरेकी उनी नेकपा एमालेबाट निर्वाचित हुँदै नेपाली काँग्रसका जिल्ला सभापतिसमेत रहेका अर्जुनकुमार पोखरेललाई साढे ३ हजार बढी मतले पराजित गरेकी थिइन् । अर्यालले कूल १४ हजार ८३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पोखरेलले ११ हजार ६२० मत ल्याएका थिए । नगरप्रमुख निर्वाचित हुनेबित्तिकै नगरपालिकाभित्रका विपन्न परिवारलाई मासिक ५ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने लोकप्रिय निर्णय गरेकी थिइन्, जुन हाल कार्यान्वयनमा समेत आइसकेको छ ।
यतिमात्रै होइन नगरप्रमुख अर्यालले महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिँदै आएकी छन् । ‘भाषणमार्फत होइन, काममार्फत परिणाम’ भन्ने मूल ध्येयसहित नगरको सफल अभिभावकत्व गरिरहेकी छन्, विमलाले । उनले प्रदेश र संघीय सरकारसँगसमेत प्रभावकारी समन्वय गरेर थुप्रै नमुना काम गरिसकेकी छन् । अर्यालकै नेतृत्वमा ‘सामाजिक सुरक्षा, सुशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरवासी हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित नगरको विकास र समृद्धिका लागि उनी हरेक दिन फिल्डमै खटिएकी हुन्छिन् ।
लुम्बिनी प्रदेशभरी एकमात्र महिला नगरप्रमुख जिताएको सुनवलमा इतिहासकै एउटा अर्को दुर्लभ संयोग जुरेको छ । सुनवलमा राजनीतिक र प्रशासनिक इतिहासमा दुवै क्षेत्रमा महिला नेतृत्वको दुर्लभ संयोग जुरेको हो । नगरपालिकाको राजनीतिक नेतृत्व (नगरप्रमुख) र प्रशासनिक नेतृत्व (प्रमुख प्रशासकीय अधिकृत) दुवै शीर्ष पदमा सक्षम र अनुभवी महिलाहरूको उपस्थितिले सुनवलमा आशाको किरण छाएको छ । समाजको भुइँतहबाट संघर्ष गर्दै नगरको नेतृत्वमा रहेकी विमलाको समृद्ध र विकसित सुनवल बनाउने सपनालाई आकार दिन आइपुगेकी छन्, दुर्गा बञ्जाडे ।
सुनवलमा उनको आगमनपछि कार्यसम्पादन थप छरितो, पारदर्शी र नतिजामुखी बन्ने आशामा नगरवासी छन् । राजनीतिक र प्रशासनिक क्षेत्रका दुई महिलाको सहकार्यमार्फत स्थानीय सरकार सञ्चालनमा सुशासन र समावेशी नेतृत्वको सकारात्मक सन्देश राष्ट्रियस्तरमै प्रवाह हुने विश्वास गरिएको छ । दुर्गा बञ्जाडे ती पात्र हुन्, जसको नेपालको निजामती वृत्तमा उनको प्रशासनिक क्षमताको निकै प्रशंसा हुन्छ । नेपालको दुर्गम क्षेत्रदेखि सुगम क्षेत्रमा आफ्नो प्रशासनिक क्षमता प्रदर्शन गरिसकेकी बञ्जाडेको आगमनले सुनवलमा छुट्टै आशाको किरण छाएको हो । कुशल प्रशासकको परिचय बनाएकी उनले नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेकी छन् ।
सामान्य प्रशासन समूहकी उपसचिव बञ्जाडे नगरपालिका तहको नेतृत्व सम्हाल्न सुनवल आइपुगेकी हुन् । २०६८ सालमा लोकसेवा आयोगमार्फत शाखा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरेकी बञ्जाडे २०७४ सालमा उपसचिव पदमा पदोन्नति भएकी थिइन् । राष्ट्रिय योजना आयोगबाट सरुवा भई हालै सुनवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्न आएकी उनी निजामती वृत्तमा एक अनुभवी, आँटिलो र सफल प्रशासक मानिन्छन् । आफ्नो करिब १५ वर्षको प्रशासनिक यात्राका क्रममा उनले करिब एक दशक देशका दुर्गम तथा विकट क्षेत्रहरूमा रहेर जनताको प्रत्यक्ष सेवा गरेकी छन् ।
प्रशासनिक यात्राका क्रममा उनले नेपालका अत्यन्तै दुर्गम तथा विकट क्षेत्रका सरकारी कार्यालयहरूको सफलतापूर्वक नेतृत्व गरिसकेकी छन् । बञ्जाडेले जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा निकै संवेदनशील जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी छन् । पाल्पा र सिन्धुपाल्चोकमा समेत सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सेवा गरेको अनुभव उनीसँग छ । यसैगरी, जाजरकोटमा जिल्ला हुलाक कार्यालयअन्तर्गत काम गरेकी बञ्जाडेले सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनका क्रममा निर्वाचन अधिकृतको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेकी छन् ।
दुर्गम क्षेत्रको भौगोलिक जटिलता, सीमित स्रोतसाधन र स्थानीय आवश्यकतालाई नजिकबाट बुझेर काम गरेकी उनीसँग कार्यसम्पादनको बलियो र परिपक्व अनुभव रहेको छ । बञ्जाडेको लामो प्रशासनिक अनुभव, स्पष्ट कार्यशैली र नेतृत्व क्षमता समग्र सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरू, कर्मचारी वृत्त तथा आम नागरिकसमेत उत्साहित बनेका छन् ।
कुशल महिला प्रशासक पाउँदा उत्साहित छुः नगरप्रमुख अर्याल
प्रशासनिक प्रमुखका रूपमा दुर्गा बञ्जाडेको आगमनसँगै नगरको समग्र विकास र कार्यसम्पादनमा नयाँ ऊर्जा थपिएको अनुभव भएको नगरप्रमुख विमला अर्यालले बताएकी छन् । स्थानीय तहमा महिला प्रशासकीय नेतृत्व आउँदा काम गर्न धेरै सहजता मिल्नेमा विश्वस्त रहेको उनले बताइन् । नगरप्रमुख अर्यालले भनिन्, ‘उहाँले विगतमा जहाँ जानु भयो त्यहाँ आफूलाई प्रमाणित गरिसक्नुभएको छ ।
उहाँजस्तो कुशल, अनुभवी र अब्बल प्रशासकसँग काम गर्न पाउनु हाम्रौ शौभाग्य हो । मलाई नगरको विकास निर्माण र योजनाहरू अघि बढाउन थप उत्साह र सहजता हुने महशुस भएको छ ।’
प्रमुख प्रशासकीय अधिकृत बञ्जाडेले पनि आफू सुनवल आउन पाउँदा खुसी लागेको बताइन् । उनका अनुसार नगरपालिकामा महिला नेतृत्व भएकोले झन् आफूलाई काम गर्न सहज हुने अपेक्षा छ । आफू सुनवलमा रहुञ्जेल नगरको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता रहेको छ ।
‘सुनवल आउँदा माइतीघर आएकोजस्तो भएको छ । यहाँ महिला नगरप्रमुख हुनुहुन्छ । उहाँ राजनीतिक रूपमा निकै लामो अनुभव भएको व्यक्तित्व हुनुहुन्छ । म पनि आफ्नोतर्फ आफ्नो क्षमताअनुसार काम गर्ने कोशिस गर्नेछु । दुवै जना मिलेर यहाँ जनतालाई केही परिणाम दिन सकियोस् भनेर हामी अघि बढेका छौँ,’ बञ्जाडे भन्छिन् ।









प्रतिक्रिया दिनुहोस्