कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा सरकारी विद्यालयको क्यान्टिनमै सुर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको भेटिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ स्थित श्री जनता माध्यमिक विद्यालय मैटहवाको क्यान्टिनमै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्दै आएको भेटिएको हो ।विद्यालयमा सुर्तीजन्य पदार्थ बिक्री भइरहेको सूचना पाएपछि वडा नम्बर ३ का वडाअध्यक्ष माधव रिजालको नेतृत्वमा कोहलपुर नगर प्रहरीसहितको सरोकारवालाको टिमले क्यान्टिनमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा क्यान्टिनमा मेघाश्री, चुरोट, गुट्खा र सुर्ती भेटिएको कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष माधव रिजालले बताए । उनका अनुसार विद्यालयमै सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको सूचनापछि सरोकारलासहित अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विद्यालयको क्यान्टिनमा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सुर्तीजन्य पदार्थ बिक्री–वितरण पाइएको उनले बताए ।वडाअध्यक्ष रिजालले भने, ‘पहिलेदेखि नै गुनासो आइरहेको थियो ।
विद्यालय प्रशासनले ताकेता लगाइरहेको थियो । मैले पनि बोलाएरै गुनासो आएको कुरा भनेको थिएँ । क्यान्टिन सञ्चालकले अटेरी गर्नुभयो । व्यापक गुनासो बढ्न थालेपछि अनुगमनको क्रममा त्यस्तो भेटियो ।’ त्यतिमात्रै होइन क्यान्टिन विद्यालय समयभन्दा पछि राति अबेरसम्म खुल्ने गरेको थियो । क्यान्टिन सोही विद्यालयकी विव्यस सदस्य लक्ष्मी डाँगीले सञ्चालन गर्दै आएकी थिइन् । जनता माध्यमिक विद्यालयकी विव्यस अध्यक्ष शान्ता बस्यालले अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिएको स्वीकार गरिन् । उनका अनुसार विद्यालयले समेत क्यान्टिनमा सुर्तीजन्य पदार्थ नराख्न यसअघि निर्देशन दिएको थियो ।
अध्यक्ष बस्यालले भनिन्, ‘गुनासो आइरहेको थियो । मैले पनि भनेको थिएँ । तर, हिजो एक्कासि भेटियो । उहाँले श्रीमान्ले खानको लागि ल्याएको भन्नुहुन्छ ।’ विद्यालयको विषयमा बाहिर नराम्रो सन्देश गएको भन्दै उक्त क्यान्टिन बन्द गर्ने निर्णय गरिएको अध्यक्ष बस्यालले बताइन् । शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विव्यस सदस्य डाँगीले सञ्चालन गर्दै आएको क्यान्टिन नै बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले पनि यसअघि धेरै गुनासो आएपछि क्यान्टिनमा छापा मारिएको बताए । बिहीबार स्थलगत अनुगमनको क्रममा सुर्तीजन्य पदार्थ भेटिएको र त्यसपछि सबै बरामद गरिएको जानकारी दिए । विद्यालयको क्यान्टिनभित्रै सुर्तीजन्य पदार्थ भेटिएपछि कोहलपुर नगरपालिकाको आलोचना भएको छ ।









प्रतिक्रिया दिनुहोस्