दाङ ।
देउखुरीमा १६ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरिएको छ । शुक्रबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी बस्ती नजिकै खरकट्टि क्षेत्रमा करिब ४५ देखि ५० किलोभन्दा बढी तौलको अजिङ्गरको फेला परेको हो ।खरकट्टिमा च्याउ टिप्न गएको बेला अजिङ्गरले वनमा चरिरहेको चित्तललाई खाएर बसेको देखेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
टोलीले स्थानीयको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर सकुशल उद्धार गरेको हो । उद्धारपछि अजिङ्गरलाई डिभिजन वन कार्यालय देउखुरीमा बुझाइएको छ भने आवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक वासस्थानमा छाडिने जनाइएको छ । घटनापछि स्थानीयमा केही समय त्रासको अवस्था सिर्जना भए पनि समयमै उद्धार टोली पुगेकाले थप क्षति हुन पाएन ।
उद्धारकर्ता शिवु खनालले वन्यजन्तु देखिएमा आत्तिने वा मार्ने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरे । उनका अनुसार अजिङ्गर विषालु नभए पनि निकै बलियो हुने भएकाले आफैँ नियन्त्रणमा लिन खोज्दा जोखिम हुन सक्छ ।डिभिजन वन कार्यालय देउखुरीका अनुसार अजिङ्गर नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको प्रजाति हो ।
त्यसैले यसको संरक्षणसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको कार्यालयले जनाएको छ ।डिभिजनल वन अधिकृत गणेशबहादुर थारूका अनुसार देउखुरी क्षेत्रबाट हालसम्म एक दर्जनभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ । गत र चालू आर्थिक वर्षको साउनयता मात्रै पाँच वटा अजिङ्गरको सफल उद्धार गरिएको उनले जानकारी दिए ।देउखुरीका सिमसार, नदी, खोला, तालतलैया, उखुखेती र पर्याप्त आहाराका कारण यो क्षेत्र अजिङ्गरका लागि उपयुक्त वासस्थान बनेको छ । पछिल्ला वर्षहरूमा लमही, गढवा, राजपुर र राप्ती क्षेत्रबाट पनि अजिङ्गर उद्धारका घटना बढ्दै गएका छन् ।वन कार्यालयले स्थानीयलाई वन्यजन्तु देखिएमा हतारमा कुनै कदम नचाल्न, सुरक्षित दूरी कायम राख्न र तत्काल वन कार्यालय वा उद्धारकर्तालाई खबर गर्न आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्