
जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गतको सडकमा ठूलो क्षति पु¥याएको छ । बाढीले सडकका विभिन्न भाग कटान गर्नुका साथै सडक किनारमा रहेका घर तथा अस्थायी टहरा, पसल, व्यवसाय र कृषि तथा पशुपालनसँग सम्बन्धित संरचनासमेत बगाएको हो । ठूूलो क्षतिपछि स्थानीयले लाखौँ रूपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन् ।तर बाढी र पहिरोका कारण अवरुद्ध भएको भेरी करिडोर सोमबार दिउँसोदेखि भने पुनः सञ्चालनमा आएको छ । सडक खुले पनि बाढीले पु¥याएको भौतिक तथा आर्थिक क्षतिको पूर्ण विवरण अझै संकलन भइसकेको छैन । करिडोर आयोजना कार्यालय प्रमुख नरेशप्रसाद केशरीका अनुसार बहुला खोलासहित सडकका अन्य चार–पाँच स्थानमा समेत पहिरो खसेका कारण सडक सञ्चालनमा ल्याउन समय लागेको हो ।
उनका अनुसार बिहान ६ बजेदेखि निरन्तर गरिएको प्रयासपछि सोमबार दिउँसो सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । ‘सडक खुलाउन सकिए पनि बाढीले छाडेको क्षतिको असर तत्काल हट्ने अवस्था छैन,’ उनले भने, ‘स्थानीयका घर तथा व्यवसाय बग्नुका साथै सडक र आसपासका संरचनामा क्षति पुगेपछि प्रभावित परिवार तत्काल राहत र पुनःस्थापनाको पर्खाइमा छन् ।’
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि जाजरकोटसँगै रुकुम पश्चिम र डोल्पातर्फ आवतजावत गर्ने यात्रु तथा स्थानीय प्रभावित भएका थिए । भेरी करिडोर यस क्षेत्रको महत्वपूर्ण यातायात सञ्जाल भएकाले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्थानीय आवतजावत तथा अन्य आर्थिक गतिविधिसमेत प्रभावित हुने अवस्था बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार स्थानीयका भौतिक संरचनामा बाढीले ठूलो क्षति पु¥याएको छ । नलगाड नगरपालिका–१ को बैरीतालमा बसोबास तथा व्यापार गर्दै आएका आठ जनाको भौतिक क्षति भएको उनले बताए । बैरीतालमा व्यवसाय सञ्चालन गर्दै आएका उनीहरको घर तथा अस्थायी टहरा बगाएको प्रहरीले जनाएको छ ।
बाढीले पसल, फ्रेस हाउस, कुखुरापालनसँग सम्बन्धित संरचना तथा अन्य व्यवसायिक सामग्रीमा क्षति पु¥याएको छ । प्रहरीका अनुसार मानबहादुर विकको तीन कोठे टहरा पूर्ण रूपमा बगेको छ । बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महराको एक कोठे अस्थायी टहरा र मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने अस्थायी टहरा बगाएको छ ।
यस्तै नन्दे महराको कपडा पेल्ने मेसिनसहितको टहरा तथा बलबहादुर विकको किराना पसल रहेको टहरा बाढीले बगाएको छ । जनक भण्डारीको अस्थायी टहरामा सञ्चालनमा रहेको फ्रेस हाउस पनि बाढीको चपेटामा परेको छ । फ्रेस हाउससँगै त्यहाँ रहेका करिब १०० वटा बोइलर कुखुरा बाढीले बगाएको प्रहरीले जनाएको छ । दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा भने हिलो र पानी पसेर आंशिक क्षति भएको छ । स्थानीयका सवारीसाधन र जीविकोपार्जनका साधनमा समेत क्षति पु¥याएको छ ।
छवि महराको भे १ ह २६३३ नम्बरको अटो हिलोपानीमा पुरिएको छ । हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्र्याक्टरसमेत माटोले पुरिएर आंशिक क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयको परम्परागत तथा जीविकोपार्जनको अर्को आधार पानीघट्ट पनि बाढीबाट जोगिन सकेन । सत्यदेव चनाराको पानीघट्ट बाढीले पूर्ण रूपमा बगाएको हो । पहिरोका कारण नलगाड नगरपालिका–२ डाँडागाउँको खर्कमा हजारी खत्रीका एक हल गोरुसमेत मरेका छन् । यसले बाढी–पहिरोबाट स्थानीयको घर–व्यवसायसँगै पशुधनमा समेत क्षति पुगेको छ । तर बाढीले ठूलो भौतिक क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
क्षतिको मूल्यांकन हुँदै
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले सडक खुलाउन नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरेको बताएका छन् । बाढीबाट प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउन आवश्यक पहल भइरहेको उनले बताए ।यता प्रमुख जिल्ला अधिकारी नवराज बरालले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको जानकारी दिए । प्रशासनको निर्देशनपछि सडक खुलाउन सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गरेको उनको भनाइ छ ।
‘बाढीबाट भएको क्षतिको एकिन मूल्यांकनपछि प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोगका लागि पहल गरिनेछ,’ उनले भने, ‘बाढीले घर तथा व्यवसायका संरचना बगाएका परिवारको पुनःस्थापनासँगै क्षतिग्रस्त सडक तथा सडक छेउका संरचनाको दीर्घकालीन संरक्षण र आगामी वर्षायाममा दोहोरिन सक्ने जोखिम न्यूनीकरण पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।’ उनका अनुसार बहुला खोलाको बाढीले भेरी करिडोरको भौगोलिक जोखिमलाई पुनः सतहमा ल्याएको छ । पहाडी भूभाग, खहरे खोला र कमजोर सडक संरचनाका कारण वर्षायाममा यस क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहने गरेको छ । एकातिर बाढीले स्थानीयको घर, पसल र जीविकोपार्जनका साधन बगाएको छ,
भने अर्कोतर्फ महत्वपूर्ण सडक पूर्वाधारमा समेत क्षति पुगेको छ । सोमबार सडक सञ्चालनमा आए पनि क्षतिग्रस्त स्थानको दीर्घकालीन व्यवस्थापन नगर्ने हो भने सामान्य वर्षामै पुनः सडक अवरुद्ध हुने जोखिम कायमै रहने देखिन्छ । अहिले स्थानीयको पहिलो माग सडक सञ्चालनमा निरन्तरता र क्षतिको यथार्थ मूल्यांकन रहेको छ । त्यसपछि मात्र घर तथा व्यवसाय गुमाएका परिवारलाई राहत, पुनःस्थापना र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्