वीरेन्द्रनगर ।
युवालाई सुशासन, सामाजिक जवाफदेहिता र सामाजिक रूपान्तरणका संवाहकका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेत (वाईजीजीपी)को नवौँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले युुवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई नेतृत्वमा जोड्नुुपर्नेमा जोड दिएका हुुन् । स्थानीय तहमा सुशासन कायम गर्न नागरिक, युवा, सञ्चार क्षेत्र र नागरिक समाजबीचको सहकार्यमा युुवालाई जोड्न आवश्यक रहेको उनीहरूले बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सुशासन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने बताए । योजना निर्माणदेखि सार्वजनिक सेवा प्रवाहसम्म नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले युवालाई सामाजिक उत्तरदायित्व र विकासको अभियानमा जोड्नुपर्ने बताए । भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाले सरकारी सेवा सुधारका लागि सहजीकरण र साझेदारीको भूमिका निर्वाह गर्दै आए पनि राज्यले संघसंस्थाप्रति गर्ने व्यवहारमा विभेद रहेको गुनासो गरे । उनले सामाजिक न्याय, समावेशीकरण तथा महिला र युवाको नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक किशोरजङ्ग शाहले कर्णालीमा युवाका सवालमा वाईजीजीपीले सञ्चालन गरेको अभियान प्रशंसनीय रहेको बताए । आगामी दिनमा पनि युवाका मुद्दालाई थप सशक्त ढंगले उठाउन उनले सुझाव दिए । प्लान इन्टरनेसनल नेपालका विनय ज्ञवालीले एउटा पालिकाबाट सुरु भएको युवा अभियान कर्णाली हुँदै देशका विभिन्न जिल्लासम्म विस्तार हुनु उल्लेखनीय उपलब्धि भएको बताए । सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन तथ्यमा आधारित सूचना प्रवाह र निरन्तर खबरदारी आवश्यक रहेको बताए । सञ्चार क्षेत्र, नागरिक समाज र युवाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । युवा परिषद् सुर्खेतका पूर्वअध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नहेरी समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्नुपर्ने बताए । युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई सही ढंगले परिचालन गर्न सके स्थानीय तहमा सुशासन र सामाजिक रूपान्तरण प्रभावकारी हुने उनले बताए ।
वाईजीजीपीकी अध्यक्ष रिता चन्दले सुशासन प्रवद्र्धन, जवाफदेही शासन र युवाका सवालमा पैरवी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले नौ वर्षको अवधिमा आफ्ना उद्देश्य प्राप्तितर्फ निरन्तर काम गरिरहेको बताइन् । संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीका अनुसार स्थापनादेखि हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लासहित २३ जिल्लाका ३३ स्थानीय तहमा १९ वटा कार्यक्रम तथा परियोजना सञ्चालन गरिएका छन् ।
साधारणसभामा संस्थाको नौ वर्षे कार्यकालमा सुशासन, सामाजिक जवाफदेहिता, युवा सशक्तीकरण, स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन, विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भएका कामको समीक्षा गरिएको थियो । संस्थाका कोषाध्यक्ष मेलिना बिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा विभिन्न परियोजनाका लागि १ करोड १४ लाख ११ हजार ४२६ रूपैयाँँ खर्च भएको जानकारी दिइन् ।
साधारणसभाका अवसरमा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा परियोजनाको सामाजिक परीक्षणसमेत गरिएको थियो । सामाजिक परीक्षणमार्फत कार्यक्रमको प्रगति, उपलब्धि, खर्च तथा लक्षित समुदायमा परेको प्रभावबारे समीक्षा गरिएको संस्थाले जनाएको छ । नागरिक समाज अगुवा नवीन शाहीले सामाजिक परीक्षणको सहजीकरण गरेका थिए । वाईजीजीपीले सुशासनलाई केन्द्रमा राखेर सार्वजनिक सुनुवाइ, सामुदायिक संवाद, युवा सशक्तीकरण, सामाजिक जवाफदेहिता, स्वास्थ्य, जलवायु अनुकूलन तथा सामाजिक समावेशीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
यसैबीच, साधारणसभाका अवसरमा संस्थाका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापती सम्मानित भएका छन् । संस्थागत विकास, सुशासन प्रवद्र्धन, कार्यक्रम कार्यान्वयन तथा सामाजिक जवाफदेहिताका क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । सिजापतीले विगत तीन दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामार्फत सामाजिक विकास र सामुदायिक परिचालनका क्षेत्रमा काम गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्