श्रद्धा र भक्तिपूर्वक मनाइयो ‘श्रीकृष्ण जन्माष्टमी’



कोहलपुर (बाँके) ।

भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइएको छ । वैदिक सनातन धर्मावलम्बीले देशभर श्रद्धा र भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाएका हुन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् । देशका अधिकांश जिल्लाहरूमा ‘श्रीकृष्ण जन्माष्टमी’ हर्ष र उल्लासका साथ मनाउने गरिन्छ ।

वैदिक सनातन धर्मावलम्वीहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सव अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । यस विशेष अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो । यस वर्ष भने भदौ १० गतेको विनाशकारी रसुवाका बाढीका कारण देश राष्ट्रिय शोकमा छ । बाढीमा परी ठूलो सङ्ख्यामा मानवीय क्षति पुगेको छ । अहिलेपनि हजारौँ नागरिक सम्पर्कविहीन छन् । सयौँ नागरिक जिवित उद्धारको पखाईमा रहेका छन् ।

‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको अवसरमा अधिकांशले बाढीमा परेका ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पर्कविहीनहरूको खोजी र सुरुङमा फसेकाहरूको सफल उद्धारको कामना गरेका छन् । यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले ‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा सम्पूर्ण नेपालीलाई कतृव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै जन्माष्टमीको शुभकामना दिएका थिए । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले भनेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्,’ यस्तो बेलामा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्तीलगायत नामले पनि चिनिन्छ । यस अवसरमा विशेषगरी कृष्ण मन्दिरमा भजन–कीर्तन, पूजा तथा धार्मिक अनुष्ठान गरिन्छ ।

श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर र माखनचोरलगायत विभिन्न नामले पुकारिन्छ । धार्मिक विश्वासअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको थियो । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको उपदेश तथा भगवद्गीतामार्फत कर्म, धर्म र कर्तव्यको सन्देश दिएको धार्मिक विश्वास छ । ‘श्रीकृष्ण जन्माष्टमी’ का दिन नेपालका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार