सुर्खेत ।
कर्णाली प्रदेशलाई ‘विषादीमुक्त’ तथा ‘अर्गानिक प्रदेश’ बनाउने उद्देश्यसहित वर्षौँअघि निर्माण गरिएको सुर्खेतको हर्रेस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बल्ल औपचारिक रूपमा सञ्चालनमा आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा (कार्की)ले उक्त प्रयोगशालाको उद्घाटन गरेकी हुन् । कर्णाली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक हर्रेमा निर्माण गरिएको प्रयोगशाला भवन लामो समयसम्म प्रयोगविहीन बनेपछि अहिले आएर सञ्चालनमा ल्याइएको हो ।
प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने अवधारणा आर्थिक वर्ष २०७५–७६ मै अघि सारेको थियो । त्यसैअनुसार दुई प्रयोगशाला निर्माणका लागि १ करोड ५० लाख रूपैयाँँ बजेट विनियोजन गरिएको थियो । तर बजेट छुट्याएर भवन निर्माण गरिए पनि उपकरण, प्राविधिक जनशक्ति र आवश्यक व्यवस्थापन हुन नसक्दा प्रयोगशाला वर्षौंसम्म सञ्चालनमा आउन सकेन ।
हर्रेमा जग्गा खरिददेखि भवन निर्माणसम्म करिब ७० लाख रूपैयाँँ खर्च भएको मन्त्रालयसम्बन्धी विवरण सार्वजनिक भएको थियो । हर्रेको भवन २०७७ सालमा निर्माण सम्पन्न भएको भए पनि त्यसपछि लामो समय प्रयोगविहीन रह्यो । प्रयोगशाला सञ्चालन नहुँदा लाखौँ रूपैयाँँ खर्च गरेर बनाइएको संरचना जीर्ण बन्दै गएको थियो भने विषादी परीक्षणका लागि आवश्यक मेसिनसमेत लामो समय एकीकृत कृषि प्रयोगशालाको कार्यालयमा थन्किएको थियो । जनशक्ति अभावलाई प्रयोगशाला सञ्चालनमा ढिलाइको मुख्य कारणका रूपमा औंल्याइएको थियो ।
यसअघि प्रदेश सरकारले पटक–पटक हर्रे र कपुरकोटमा विषादी परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गर्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत हर्रे र कपुरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गरिएको थियो । कृषि उत्पादनको गुणस्तर सुनिश्चित गर्ने र उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्ने सरकारको भनाइ थियो ।
कपुरकोटको प्रयोगशाला पनि चार वर्षपछि सञ्चालनको चरणमा
हर्रेसँगै सल्यानको कपुरकोटमा निर्माण गरिएको विषादी परीक्षण प्रयोगशालाको कथा पनि उस्तै छ । कपुरकोट गाउँपालिका–३ बजार क्षेत्रमा २०७७ सालमा करिब ५० लाख रूपैयाँँ लागतमा प्रयोगशाला निर्माण सुरु गरिएको थियो । भवन २०७८ मै निर्माण सम्पन्न भए पनि उपकरण जडान र प्राविधिक अभावका कारण चार वर्षसम्म प्रयोगशाला सञ्चालनमा आउन सकेन ।प्रयोगशाला सञ्चालन नहुँदा कपुरकोट क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी तथा अन्य कृषि उपजमा विषादीको मात्रा परीक्षण गर्न समस्या हुँदै आएको थियो ।
कपुरकोट कर्णालीकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्र भएकाले यहाँबाट उत्पादन हुने तरकारी देशका विभिन्न बजारमा पुग्ने गर्छ । पछिल्लो समय आवश्यक उपकरण सल्यान पठाइएको र प्राविधिक व्यवस्थापनको काम अघि बढेको जनाइएको छ । प्रदेश सरकारले हर्रे र कपुरकोटमा तीन–तीन जना जनशक्ति परिचालन गर्ने तयारीसमेत गरेको छ । दुवै प्रयोगशाला प्रदेशको एकीकृत कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्