रूकुम पश्चिम ।
जिल्लाको त्रिवेणी गाउँपालिका–२ स्थित राप्ती राजमार्गको छेउमा रहेको सिम्रुतु बजार प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको यो बजार तीन खोलाको संगम क्षेत्र र साँघुरो भूभागमा विस्तार भइरहेको छ । जसकारण बाढी, पहिरो तथा अन्य सम्भावित प्राकृतिक विपद्को जोखिम बढ्दै गएको हो । रुँघाखोला, खाराखोला र मुरुतर्फबाट बगेर आएका तीन खोला सिम्रुतु क्षेत्रमा मिसिएपछि सिम्रुतु खोला बनेको छ । ती खोलाको संगम तथा किनार क्षेत्रमै बजार, बाक्लो बस्ती, शैक्षिक संस्था र विभिन्न सरकारी संरचना निर्माण गरिएकाले वर्षायाममा आउने बाढीले ठूलो क्षति पु¥याउन सक्ने चिन्ता बढेको छ ।
स्थानीयका अनुसार विशेषगरी वर्षायाममा ती खोलामा एक्कासि पानीको बहाव बढ्ने र ठूलो मात्रामा ढुंगा, माटो तथा गेग्रान बगाएर ल्याउने गरेको छ । तर खोला आसपासको क्षेत्र क्रमशः साँघुरो बनाउँदै घर तथा अन्य भौतिक संरचना निर्माण भइरहेकाले भविष्यमा खोलाको प्राकृतिक बहाव अवरुद्ध हुन सक्ने जोखिम बढेको हो । सिम्रुतु बजार क्षेत्रमा १५० भन्दा बढी घरधुरी बसोबास गर्दै आएका छन् । बजारको एकातर्फ सिम्रुतु क्याम्पस, त्रिवेणी माध्यमिक विद्यालय तथा स्थानीयका घरहरू रहेका छन्, भने अर्कोतर्फ मुख्य बजार क्षेत्र फैलिएको छ । त्यसैगरी प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत महत्वपूर्ण सार्वजनिक संरचनासमेत खोलाको नजिक तथा जोखिमयुक्त क्षेत्रमा निर्माण भएका छन् ।
बाढीको सम्भावित असरबाट जनधनसँगै शिक्षा, स्वास्थ्य र सुरक्षा सेवासमेत प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ । जिल्ला सुरक्षा समितिले समेत उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले सिम्रुतु बजार क्षेत्र उच्च जोखिममा रहेको बताए । उनका अनुसार खोलाको प्राकृतिक धार तथा बहावलाई असर पुग्ने गरी निर्माण भएका संरचना र तीन खोलाको संगम आसपासको अवस्था गम्भीर देखिएको हो । विशेषगरी खाराखोला र रुँघाखोलाको बीचमा निर्माणाधीन कभर्डहल तथा खोला आसपास निर्माण भएका अन्य संरचनाले जोखिम बढाउन सक्ने उनले बताए ।
‘सम्भावित विपद्लाई ध्यानमा राख्दै स्थानीय तहले ठोस योजना बनाएर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्छ,’ उनले भने, ‘स्थानीय तहबाट स्पष्ट योजना प्राप्त भएपछि आवश्यक सुरक्षा तथा पूर्वतयारीका लागि माथिल्लो निकायसँग समन्वय र पत्राचार गर्न सकिन्छ ।’ सम्भावित बाढीको जोखिमबारे स्थानीयलाई समयमै जानकारी दिन पूर्वसूचना प्रणालीको व्यवस्था गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । खोलाको बहाव खतराको तहमा पुग्दा स्थानीयलाई सचेत गराउन साइरन प्रणाली जडानका लागि तत्काल पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
सिम्रुतु क्याम्पसका प्रमुख सूर्यविक्रम खड्काका अनुसार केही वर्षअघि रुँघाखोलामा आएको बाढीले क्याम्पस क्षेत्रमा क्षति पु¥याएको थियो । ‘वर्षौँअघि नदी तथा खोलाको बगर क्षेत्रमा विद्यालय, क्याम्पस र अन्य संरचना निर्माण गरिएकाले अहिले पनि जोखिम कायमै छ,’ उनले भने, ‘अघिल्लो वर्ष पनि रुँघाखोलाले क्याम्पसमा क्षति पु¥याएको थियो ।’ क्याम्पस तथा आसपासका संरचनालाई सुरक्षित राख्न बलियो पर्खाल र व्यवस्थित तटबन्ध निर्माण गर्नुपर्ने उनको माग छ । सामान्य संरक्षणका कामले मात्र जोखिम न्यूनीकरण नहुने भन्दै दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए । त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष सुन्दर ओलीका अनुसार सिम्रुतु बजारबाट वडा नम्बर १ को रुँघाहुँदै रोल्पातर्फ जाने सडकखण्डमा विभिन्न समयमा पहिरो जाने गरेको छ ।
स्थानीयले सिम्रुतु बजारमाथि रहेको मुरुडाँडा क्षेत्रबाट समेत सम्भावित जोखिम रहेको बताएका छन् । मुरुडाँडातर्फ रहेको ठूलो चट्टान फुट्ने र भासिने क्रम बढेको भन्दै स्थानीयले उक्त चट्टान खसेमा बजार क्षेत्रमा ठूलो क्षति हुन सक्ने आशंका व्यक्त गरेका छन् । त्यसैगरी बजारको माथिल्लो क्षेत्रमा हरो खस्ने वा ठूलो रूख ढलेर खोला थुनिने अवस्था आएमा पानीको बहाव अवरुद्ध भएर अचानक ठूलो बाढी आउन सक्ने खतरा रहेको स्थानीय बताउँछन् । खोला थुनिएर पानी जम्मा हुने र त्यसपछि बाँध फुटेझैँ अचानक पानीको ठूलो बहाव बजारतर्फ आएमा जनधनको ठूलो क्षति हुन सक्ने सम्भावना छ । तीन खोलाको संगम, साँघुरो भूगोल, खोलाको किनारमै बढ्दो बस्ती तथा सार्वजनिक संरचना, सडक पहिरो र माथिल्लो क्षेत्रबाट खस्न सक्ने चट्टानका कारण सिम्रुतु बजार बहुआयामिक प्राकृतिक जोखिमको क्षेत्रमा रहेको विज्ञहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्