नन्दराम जैशी । सुर्खेत ।
बाढी प्रभावित क्षेत्रमा भौतिक उद्धार र राहतका कार्यक्रम तीव्र पारिएका छन् । तर अत्यावश्यक औषधिसँगै पीडित नागरिकका लागि मनोपरामर्श तथा मानसिक स्वास्थ्य सेवाको अभाव चुुलिएको छ ।चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएपछि रसुवा, नुवाकोटलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीले परिवार, घर, सम्पत्ति र थातथलो गुमाएका नागरिक अहिले शारीरिक पीडासँगै गहिरो मानसिक आघातमा छन् । तर प्रभावित क्षेत्रमा औषधि, प्राथमिक उपचार र उद्धारलाई प्राथमिकता दिइँदा मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा भने पर्याप्त रूपमा पुग्न सकेको छैन ।
प्राप्त विवरणअनुसार भोटेकोशीको बाढीमा परेर सोमबार साँझ ६ बजेसम्म ९३९ जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर कति जना बेपत्ता भएका छन् भन्ने यकिन तथ्यांक अझै सार्वजनिक हुन सकेको छैन्, सोमबार साँझ ६ बजेसम्म तीन हजार ९२५ जना सम्पर्कविहीन भएको तथ्यांक छ । तर सरकारी निकायहरूले पनि सबै प्रभावित क्षेत्रबाट तथ्यांक संकलन गरिसकेका छैनन् । बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका ११ हजार ३७१ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये धेरैजसो नागरिक घरबारविहीन भएका छन् भने कतिपयले परिवारका सदस्य गुमाएका छन् ।
यस्तो अवस्थामा शारीरिक उपचारसँगै मानसिक स्वास्थ्य उपचार आवश्यक हुने सरोकारवालाहरू बताउँछन् । मनोरोेग विशेषज्ञ सुशील समदर्शीका अनुसार प्राकृतिक विपत्तिपछि देखिने मानसिक समस्या तत्काल देखिन पनि सक्छ । तर केही समयपछि गम्भीर रूपमा प्रकट हुन्छ । बाढी, पहिरो वा भूकम्पजस्ता विपत्तिबाट प्रत्यक्ष प्रभावित व्यक्तिमा डर, त्रास, निद्रामा समस्या, बेचैनी, अत्यधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झिने समस्या देखिन सक्ने भएकाले औषधि मात्र पर्याप्त नहुने उनको भनाइ छ ।
‘विपत्तिपछि मानिसको शरीरमा लागेको चोट मात्र देखिन्छ, तर मनमा लागेको चोट धेरै समयसम्म रहन सक्छ,’ उनले भने, ‘गम्भीर मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई आवश्यक औषधि उपलब्ध गराउनुपर्छ भने आघातमा रहेका अन्य नागरिकलाई समयमै मनोपरामर्श, मनोसामाजिक सहयोग र परिवार तथा समुदायको साथ आवश्यक हुन्छ ।’ प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्दा सामान्य स्वास्थ्य सेवासँगै मानसिक स्वास्थ्यसम्बन्धी जनशक्ति पनि अनिवार्य रूपमा परिचालन गर्नुपर्ने उनले बताए । विशेषगरी परिवारका सदस्य गुमाएका, घरबारविहीन भएका, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा पहिलेदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने उनको सुझाव छ ।
मनोविद् पूर्ण रावतका अनुसार विपत्तिपछि नागरिकको मानसिक अवस्था बुझेर सेवा प्रदान नगरे दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य समस्या बढ्न सक्छ । ‘औषधि आवश्यक पर्ने व्यक्तिलाई औषधि दिनुपर्छ, तर सबै मानसिक पीडाको समाधान औषधिले मात्र हुँदैन,’ उनले भने, ‘मानिसले आफ्नो पीडा व्यक्त गर्ने ठाउँ, सुन्ने व्यक्ति र सुरक्षित महसुस गर्ने वातावरण पनि उत्तिकै आवश्यक हुन्छ ।’ रावतका अनुसार विपत्तिबाट बाँचेकाहरूमा ‘पोस्ट ट्रमाटिक स्ट्रेस’, डिप्रेसन, चिन्ता र अन्य मनोसामाजिक समस्या देखिन सक्ने भएकाले प्रारम्भिक चरणमै मनोपरामर्श सेवा विस्तार गर्नुपर्छ । राहत वितरण र अस्थायी बसोबासको व्यवस्थासँगै मनोसामाजिक सहायता केन्द्र सञ्चालन गर्न सके प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्किन सहयोग पुग्ने उनको भनाइ छ ।
विशेषगरी बालबालिकाको मानसिक अवस्थाप्रति गम्भीर हुनुपर्ने उनले बताए । ‘बाढीमा घर भत्किएको, परिवारका सदस्य गुमाएको वा मृत्यु देखेको बालबालिकाको मनमा त्यसको प्रभाव लामो समयसम्म रहन सक्छ,’ उनले थपे, ‘त्यसैले बालमैत्री मनोसामाजिक सेवा र परामर्शको व्यवस्था पनि तत्काल गर्नुपर्छ ।’ रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले प्रभावित क्षेत्रको अवस्था गम्भीर रहेको भन्दै संघी सरकारसँग अपेक्षाअनुसार समन्वय हुन नसकेको गुनासो गरे । उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा बाढीले ठूलो क्षति पु¥याएको छ । घर, सडक र अन्य संरचनामा क्षति पुगेपछि स्थानीय नागरिक विस्थापित भएका छन् ।
‘गाउँपालिकाभित्रका मात्रै करिब २०० जना व्यक्ति बेपत्ता छन् । खोज तथा उद्धारको काम जारी रहेकाले बेपत्ताको सङ्ख्या अझै बढ्न सक्छ,’ उनले भने, ‘बेपत्ता परिवारजनको खोजीमा रहेका नागरिकहरूमा अत्यधिक तनाव र मानसिक पीडा देखिएको छ । आफन्त जीवित छन् वा छैनन् भन्ने जानकारी नहुँदा धेरै परिवार मानसिक रूपमा विक्षिप्तजस्तै अवस्थामा रहेका छन् ।’ उनका अनुसार यस्तो अवस्थामा खोज तथा उद्धारसँगै पीडित परिवारका सदस्यलाई मनोसामाजिक सहयोग पु¥याउनुपर्ने आवश्यकता बढेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको आमाछोदिङमो गाउँपालिकामा स्वास्थ्य सेवा नै संकटमा परेको छ ।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका तथा अक्सिजनको सहायता आवश्यक पर्ने बिरामीको अवस्था निकै दयनीय बनेको छ । ‘विद्युत् आपूर्ति बन्द हुँदा अक्सिजन कन्सन्ट्रेटर मेसिन सञ्चालन गर्न समस्या भएको छ,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा नयाँ अक्सिजन सिलिन्डर प्रभावित क्षेत्रमा पु¥याउन पनि कठिनाइ भएको छ ।’ उनका अनुसार सरकार तथा सहयोगी संस्थासँग तत्काल जेनेरेटर वा सोलार प्यानलजस्ता वैकल्पिक ऊर्जा स्रोत उपलब्ध गराइदिन आग्रह गरिएको छ । स्वास्थ्य सेवा प्रभावित हुँदा दीर्घरोगी, नियमित औषधि सेवन गर्ने बिरामी तथा मानसिक स्वास्थ्यसम्बन्धी औषधि आवश्यक पर्ने नागरिकसमेत जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीहरूको चिन्ता छ ।
विपत्तिका बेला मानसिक स्वास्थ्यको औषधि सेवन गरिरहेका बिरामीले नियमित औषधि नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने विशेषज्ञहरू बताउँछन् । नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि बाढीको प्रभाव गम्भीर देखिएको छ । नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङका अनुसार वडा नम्बर ५, ७ र ८ बाढीबाट बढी प्रभावित भएका छन् । ती क्षेत्रमा नदी किनारका बस्ती जोखिममा परेका छन् भने केही परिवार विस्थापित भएका छन् । ‘तत्कालका लागि नागरिकको जीवनरक्षा र सुरक्षित बसोबास प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘तर राहतसँगै प्रभावित नागरिकको मानसिक अवस्था बुझ्न र आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने चुनौती रहेको छ ।’
विशेषगरी घरबार गुमाएका, आफन्त बेपत्ता भएका र भविष्यप्रति अनिश्चित भएका नागरिकमा मानसिक तनाव बढ्दै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । यता नुवाकोटको विदुर नगरपालिकाले भने विस्थापित नागरिकका लागि अस्थायी बसोबासको व्यवस्थासँगै मानसिक स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राख्न थालेको छ । उपमेयर प्रभा बोगटीका अनुसार बाढीका कारण धेरै नागरिक आफ्नो थातथलोबाट विस्थापित भएका छन् । विस्थापित नागरिकका लागि नगरपालिकाले विभिन्न १५ स्थानमा ‘होल्डिङ सेन्टर’ स्थापना गरी सामूहिक रूपमा खाना र बस्ने व्यवस्था मिलाएको छ ।
उनले भनिन्, ‘अकल्पनीय प्राकृतिक विपत्तिका कारण त्रसित बनेका नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले फिल्डमै स्वास्थ्यकर्मी परिचालन गरी मानसिक स्वास्थ्य हेरचाह तथा मनोवैज्ञानिक परामर्श सेवा पनि सुरु गरेका छौँ ।’ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट थप निर्णय गरी व्यक्तिगत रूपमा पाल र टेन्ट वितरण गर्ने तयारी भइरहेको उनले बताइन् । प्रभावित क्षेत्रमा अस्थायी बसोबास, स्वास्थ्य सेवा र अन्य वैकल्पिक उपायको खोजीलाई तीव्रता दिइएको उनको भनाइ छ ।
राहतसँगै ‘मनको उपचार’ आवश्यक
विपत्तिपछि सामान्यतया राहत सामग्री, खाद्यान्न, औषधि, कपडा र अस्थायी बसोबासलाई प्राथमिकता दिइन्छ । तर विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा प्रभावित नागरिकले लामो समयसम्म पीडा भोग्नुपर्ने अवस्था आउन सक्छ । विशेषज्ञ समदर्शीका अनुसार विपद्पछि पहिलो चरणमै मानसिक स्वास्थ्य समस्या पहिचान गर्ने संयन्त्र आवश्यक हुन्छ । स्वास्थ्य शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी सामान्य जाँच, आवश्यक औषधि र मनोपरामर्शको व्यवस्था गर्न सके गम्भीर समस्या हुनबाट रोक्न सकिने उनको भनाइ छ ।
मनोविद् रावत भने प्रभावित क्षेत्रमा सामुदायिक स्तरमै मनोसामाजिक सहायता विस्तार गर्नुपर्ने बताउँछन् । उनका अनुसार मनोपरामर्शदाता मात्र नभई स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, महिला समूह र स्वयंसेवकलाई समेत प्रारम्भिक मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण दिन सकिन्छ । बाढीले प्रभावित क्षेत्रका नागरिक अहिले दुई प्रकारको संकटबाट गुज्रिरहेका छन् । एकातिर शारीरिक चोट, रोग र औषधिको अभाव, अर्कोतर्फ आफन्त गुमाउनु, घरबार उजाडिनु र भविष्यप्रतिको अनिश्चितताबाट उत्पन्न मानसिक पीडा छ । त्यसैमा उद्धार र राहतको काम जारी रहँदा प्रभावित नागरिकलाई औषधि, खाना र सुरक्षित आश्रयको आवश्यकता झन् चुुलिएको छ ।
तर उनीहरूको मनमा बसेको डर, त्रास र पीडालाई सम्बोधन गर्न समयमै मनोपरामर्श तथा मानसिक स्वास्थ्य सेवा नपुगे विपत्तिको प्रभाव वर्षौँसम्म रहन सक्ने सरोकारवालाहरूको चेतावनी छ । त्यसैले प्रभावित क्षेत्रमा राहत सामग्रीसँगै औषधि र मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक औषधि पु¥याउनुका साथै व्यवस्थित मनोपरामर्श र मनोसामाजिक सहयोग सेवा विस्तार गर्नु अहिलेको अत्यावश्यक आवश्यकता बनेको छ ।
बाढी अवलोकन गर्न टिमुरेमा सीसी क्यामेरा जडान
रसुवाको टिमुरेमा रियलटाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए । छलफलका क्रममा नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको थियो ।
सोही छलफलपछि पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ गर्ने क्रममा सोमबार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको कार्य भइरहेको छ । मन्त्रालयका अनुसार यसबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्