सुरुङमा फसेकाको उद्धारका गर्न चिनियाँ र भारतीय टोली परिचालन



नेपालगन्ज ।

बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि भारतीय र चिनियाँ टोली नेपाल आएका छन् ।परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतबाट उद्धारका लागि ११ सदस्यीय भारतीय प्राविधिक टोली परिचालन भएको छ । यसैगरी उद्धार कार्यमा चिनियाँ विज्ञ टोली पनि परिचालन गरिएको छ ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको सरकारले जनाएको छ । चीनका उद्धारकर्ताको टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम गरिरहेको बताइएको छ ।

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ र प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ । सुरुङभित्रको अवस्था चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि पत्रकार सम्मेलन गरेर चिनियाँ तथा भारतीय उद्धार टोली आएको जानकारी दिँदै भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको समेत जानकारी दिएका छन् । उनले उद्धारको सहयोग र राहतका लागि जापान, अस्ट्रेलियालगायत देशहरूसँग पनि निरन्तर संवाद भइरहेको बताएका छन् । सरकारको प्राथमिकता अहिले उद्धारमा केन्द्रित रहेको मन्त्री खनालको भनाइ छ ।

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले पनि प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै उद्धारको प्रयास गरिरहेको छ । सुरुङ खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली शनिबार साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । टनेलभित्र फसेहरूको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरूको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको र राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्ने काम भइरहेको जानकारी दिएका छन् ।

खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीहरू परिचालन गरिएको जानकारी दिँदै मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक स्रोत, साधन र समन्वयका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् । मन्त्री श्रेष्ठले टनेलभित्र फसेका नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता भन्दै कुनै माध्यमबाट अक्सिजन पुर्याउन प्रयासरत रहेको बताए । मन्त्रालयले पीडित परिवारलाई नियमित आधिकारिक सूचना दिने पनि मन्त्री श्रेष्ठको प्रतिबद्धता छ ।

ऊर्जा मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारका सदस्यले टनेलभित्र जीवित वा मृत्यु के अवस्था हो छिटोभन्दा छिटो जानकारी दिनुपर्ने, टनेलभित्र बाँच्ने व्यवस्था मिलाउनुपर्ने, कम्तीमा अक्सिजन र उद्धारका लागि चाहिने साधनको व्यवस्था गरिदिनुपर्ने माग गरेका थिए । रसुवा बाढीबाट एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन जलविद्युत् आयोजनाको टनेलभित्र पाँच सयभन्दा बढी मजदुर, कर्मचारी र स्थानीय फसेका अनुमान गरिएको छ ।

जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन 

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्त्याएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा कार्यरतमध्ये ८९८ जना अझै सम्पर्कविहीन छन् । उद्धार टोलीले हालसम्म ३६१ जनाको उद्धार गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा अझै पनि ८९८ जना सम्पर्कविहीन छन् ।

उद्धार गरिएकामध्ये ठूलो सङ्ख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ । उक्त आयोजनाको सुरुङमा अझै करिब ३०० जना फसेको अनुमान छ । उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ । यी आयोजनाबाट उद्धार गरिएका समेत गरी हालसम्म उद्धार हुनेको सङ्ख्या ३६१ पुगेको हो ।

रसुवाका सात आयोजना प्रभावित

इप्पानको विवरणअनुसार रसुवामा भोटेकोशी बाढीबाट सात वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना छन् ।
यी आयोजनामा बाढीको प्रत्यक्ष प्रभाव परेपछि त्यहाँ कार्यरत जनशक्तिको अवस्थाबारे चासो बढेको छ । आयोजना क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क स्थापित हुन नसक्दा उद्धार तथा खोजीलाई प्राथमिकता दिइएको छ ।

नुवाकोटमा पनि ६ आयोजना प्रभावित

नुवाकोटतर्फ पनि बाढीले विभिन्न जलविद्युत् तथा ऊर्जा आयोजनामा असर पु¥याएको छ । इप्पानको विवरणमा त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत्, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना प्रभावित सूचीमा छन् । नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३(ए), ३७ मेगावाटको माथिल्लो त्रिशूली–३(बी), १५.६ मेगावाटको मिडिल त्रिशूली गंगा र २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजना छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार