रसुवा बाढीमा सम्पर्कविहीन कर्णालीका १९७ जनाको अवस्था अज्ञात



वीरेन्द्रनगर ।

रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका कर्णाली प्रदेशका २६७ जनामध्ये ७० जना सम्पर्कमा आएका छन् । अझै १९७ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार सम्पर्कविहीन हुनेमा १६३ पुरुष, २७ महिला, चार बालक र तीन बालिका छन् । बाढीमा सबैभन्दा धेरै जुम्लाका ११० जना सम्पर्कविहीन भएको जानकारी आफन्तले प्रहरी तथा प्रशासनमा गराएका थिए । तीमध्ये २७ पुरुष र एक महिला गरी २८ जना सम्पर्कमा आएका छन् भने ८२ पुरुषको अवस्था अझै अज्ञात छ ।

सल्यानका ५९ जनामध्ये चार पुरुष सम्पर्कमा आएका छन् । अझै ५५ जना सम्पर्कविहीन छन् । त्यस्तै सुर्खेतका १७ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १४ जनाको अवस्था अज्ञात छ ।दैलेखका सात जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने पाँच जना अझै सम्पर्कविहीन छन् । जाजरकोटका तीनै जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । रूकुम पश्चिमका १९ जनामध्ये १० जना सम्पर्कमा आएका छन् भने चार पुरुष, चार महिला र दुई बालिका गरी १० जना अझै सम्पर्कविहीन छन् । हुम्लाका १४ जनामध्ये सात जनाको अवस्था अज्ञात छ ।

त्यस्तै मुगुको ११, डोल्पाका दुई जना र कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुुसार कर्णालीका नागरिक रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुगेका थिए । आफ्नो परिवारका सदस्य सम्पर्कविहीन भएपछि आफन्तहरूले खोजी दिन सरकारलाई गुुहारेका छन् ।

कुमाख र त्रिवेणी गाउँपालिकाले सहयोग गर्ने

रसुवा तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको छ । यसैबिच सल्यानका कुमाख र त्रिवेणी गाउँपालिकाले पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

गाउँपालिकाले बाढीमा परी सम्पर्कविहीन तथा बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार, घाइतेको सहज उपचार र विस्थापितको सुरक्षित पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावतले विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग र राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय र सहकार्य गर्ने उनले जानकारी दिए ।

यस्तै, त्रिवेणी गाउँपालिकाले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नगद रकम सहयोग गर्ने निर्णय गरेको हो । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचार, सम्पर्कविहीन व्यक्तिको खोजी तथा प्रभावित नागरिकको राहत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

बाढीपछि सम्पर्कविहीन भएका त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको खोजीका लागि पनि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णय समेत गरिएको गाउँपालिकाले जनाएको छ । रोजगारीका सिलसिलामा रसुवा तथा नुवाकोटका त्रिशूली नदी आसपासका क्षेत्रमा गएका र बाढीपछि सम्पर्कमा नआएका नागरिकको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी छ ।

खोज तथा उद्धारका लागि गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्तसहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । यसरी दुवै स्थानीय तहले बाढीपीडितका लागि आर्थिक सहयोगसँगै बेपत्ता नागरिकको खोज तथा उद्धारमा समेत सक्रियता देखाएका छन् । उक्त बाढीपछि सल्यान जिल्लाका मात्रै ५० जना बढी नागरिक सम्पर्कविहीन छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार