शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
२०८३ वैशाख २६ मा डोजर चलेपछि खण्डखर शान्तिनगर क्षेत्र शनिबार बिहानैदेखि एकाएक चर्चाको विषय बन्यो । बाँकेको कोहलपुर–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको यो सरकारी जग्गा तीन महिनायता सुनसान थियो । तीन दशकभन्दा लामो समयदेखि भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी घरटहरा निर्माण गरेर बसिरहेका थिए । जहाँ, कोहलपुर नगरपालिकाले १६ बैशाखमा १० दिने सूचना जारी गर्दै बैशाख २६ गते त्यहाँ रहेका ७ सय ५१ घर टहरामा बल प्रयोग गरेर डोजर लगाउन सुरु गरेको थियो ।
त्यसपछि ११० परिवारलाई नगरपालिकाले कोहलपुर बसपार्कस्थित होल्डिङ सेन्टरमा राख्यो । बहुसंख्यक भूमिहीन दलित र अव्यवस्थित बसोबासी विस्थापित हुनुका साथै घरबारविहीन बन्न पुगे । लामो समयदेखि कोहलपुर नगरपालिका र नेपाल सरकारसँग स्थायी व्यवस्थापनको माग गरिरहेका उनीहरू फेरि उही स्थानमा फर्किनका लागि प्रयास सुरु गरेका छन् । विस्थापित भएको तीन महिनापछि उनीहरू शनिबार बिहान ६ बजेदेखि एकाएक बस्तीमा देखिए । राज्यसँग स्थायी बसोबास गर्दै शान्तिनगर क्षेत्रमा केही विस्थापितहरू त्रिपाल टाँगेर बस्न थालेका छन् ।
नगरपालिकाले डोजर लगाएर घरटहरा भत्काइदिएपछि विस्थापित भएकाहरू फेरि त्रिपाल टाँगेर बस्न थालेपछि शनिबार दिउँसो केही समय तनावपूर्ण स्थिति सिर्जना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोहलपुर नगर प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाउन खोज्दा केहीबेर स्थिति तनावग्रस्त बन्यो । शनिबार अपरान्ह्र ५ बजेतिर मिसन टुडे त्यहाँ पुग्दा विस्थापितहरूले दर्जनाँै त्रिपाल टाँगिसकेका थिए । केही डोजर चलेर खण्डहर बनेको क्षेत्र सफा गर्दै थिए ।
कोही त्रिपाल टाँग्नको लागि बाँसको जोहो गर्दै थिए । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनीहरूले एक सुत्रीय माग सुनाए । उनीहरूको माग रहेको छ, ‘राज्यले स्थायी बसोबासको ज्ञारेन्टी गर्नुपर्छ ।’ सुकुम्वासी तथा अव्यस्थित बसोबासी संघर्ष समिति कोहलपुर बाँकेको ब्यानरसमेत त्यहाँ टाँसिएको छ । जहाँ लेखिएको छ, ‘सम्पूर्ण भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी एकजुट होऔँ ।’
स्थानीय सरकार र नेपालसँग स्थायी बसोबास र व्यवस्थापनको माग गर्दै, ‘हामी विस्थापित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई स्थायी बसोबासको व्यवस्था नगरेसम्म हामीलाई उठाएको जमिनमा अस्थायी त्रिपाल हालेर बस्न बाध्य भएका छौँ’ ब्यानरमा उल्लेख गरिएको छ । आफूहरूले स्थानीय सरकार र राज्यसँग जमिनको पूर्ण स्वामित्व, शिक्षा, खानेपानी, स्वास्थ्य र रोजगारको यथाशीघ्र व्यवस्थाको माग गरेको उनीहरूको भनाइ छ ।
‘व्यवस्थापन नभएसम्म त्रिपाल टाँगेर बस्छौँ’
उचित व्यवस्थापनको माग गर्दै केही महिनादेखि आन्दोलन गरिरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू नगरपालिकाले डोजर चलाएपछि व्यवस्थापनमा चासो नदिएपछि रहरले नभई बाध्यताले फेरि फर्किएको बताएका छन् । नागरिकको गाँस, बाँस र कपास जस्तो आधारधूत अधिकारको हनन् गर्दै संविधानको मर्मविपरित बस्तीमा डोजर लगाई अलपत्र अवस्थामा छाडिएका कारण आफूहरू पुरानै स्थानमा फर्किएको बताएका हुन् ।
सुकुम्वासी तथा अव्यस्थित बसोबासी उचित व्यवस्थापनको एक सुत्रीय मागसहित आफूहरू शान्तिनगर फर्किएको सुकुम्वासी तथा अव्यस्थित बसोबासी संघर्ष समिति कोहलपुर बाँकेका संयोजक वीर बहादुर दमाइ बताउँछन् । उनका अनुसार नगरपालिकाले व्यवस्थापनका नाममा होल्डिङ सेन्टरमा केहीलाई कैद बनाइयो । पटकपटक हामीले उचित व्यवस्थापनको माग गर्दा सुनुवाई भएन् । कोहलपुर नगरपालिकाका नगरप्रमुखले हामीलाई नागरिक नै होइनन् भन्दै होच्याए । आफूहरूको माग कसैले नसुनेपछि फेरि शान्तिनगरमा फर्किएको उनको भनाइ छ ।
आफूहरू त्यहाँ फर्किएपनि तत्काल स्थायी संरचना नबाउने र आन्दोलन स्वरूप त्रिपाल टाँगेर बस्ने संयोजक दमाईले मिसन टुडे दैनिकलाई बताए । ‘बस्तीमा डोजर लगाएर हाम्रो बिचल्ली पारियो । व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझायौँ । विरोध ¥याली निकाल्यौँ । हाम्रो मागको सुनुवाईँ भएन । सम्पूर्ण पीडितहरू एकजुट भएर त्रिपाल टाँगेर बस्नको लागि आएका हौँ,’ उनले भने । आफूहरूको स्थायी बसोबासको व्यवस्थापन नहुँदासम्म अस्थायी रूपमा त्रिपाल हालेर बस्नेसमेत घोषणा उनले गरेका छन् ।
शान्तिनगर बस्तीमा फर्किएकी राधिका शाही आफूहरूको स्थायी बसोबास नहुञ्जेलसम्म आन्दोलन जारी रहने र आफूहरू अब यहाँबाट नफर्किने बताइन् । उनका अनुसार राज्यले आफूहरूलाई नेपाली नागरिकसमेत होइनन् जस्तो व्यवहार गरेर अपहेलित गर्ने काम भयो । श्रम गरेरसमेत कमाएको पैसा तिर्छौँ भन्दासमेत कोठा नपाएपछि बाध्य भएर फर्किनु परेको उनले बताइन् ।
उनले भनिन्, ‘हाम्रो बिचल्ली भयो । छोराछोरीले पढ्न पाएनन् । हामीले सुरक्षित महशुस गर्न पाएनौँ । राज्यले हाम्रा माग सुनेन् । नगरप्रमुखले हामीलाई अपहेलित गर्ने काम गर्नुभयो । हाम्रो पीडा कसैले पनि सुनेनन् ।’ अर्का पीडित कर्णबहादुर विक १४ जनाको परिवारलाई स्थानीय सरकारले विस्थापित बनाएको आरोप लगाए । आफूहरू रहरले नभई बाध्यताले फेरि त्रिपाल टाँगेर बस्नको लागि फर्किएको विक बताउँछन् ।
उनले नगरपालिकाले आफूहरूलाई जग्गा दिन्छौँ भनेर आश्वासन दिएको तर, वाचा पूरा नगरेको आरोपसमेत लगाए । अर्का पीडित गोर बहादुर शाही आफूहरूलाई चरम अन्याय भएको भन्दै न्याय नभएसम्म अब कतैपनि नजाने बताए । ‘हामीलाई नगरपालिकाले विस्थापित गरेका हो । हाम्रो माग सुनियोस् । हामीसँग वार्ता गरोस् । हामीलाई उचित व्यवस्थापन गरियोस् । यो बाहेक हाम्रो अरु कुनै माग छैन्,’ उनले भने ।
‘हामी व्यवस्थापनको प्रक्रियामै छौँ’
शान्तिनगर बस्तीमा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी फर्किएपछि कोहलपुर नगरपालिका दबाबमा परेको छ । शनिबार दिउँसो सयाँै जना नागरिक त्रिपाल टाँगेर बस्न थालेपछि बल प्रयोग गरेर हटाउन खोजेको थियो । तर, उनीहरू त्यहाँ बस्न थालिसकेका छन् । तीन महिनादेखि शान्तिनगर बस्तीमा पीडित नागरिक बस्न थालेपछि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले संघर्षका संयोजक वीरबहादुर दमाईलाई फोन गरेका थिए ।
नगरप्रमुखले आफूलाई परेको गरेको बताउँदै उनले भने, ‘उहाँले मलाईँ फोन गर्नु भएको थियो । हामीले स्पष्ट रूपमा माग राखेका छौँ । उहाँ संवादको माध्यमबाट समस्याको समाधान गरौँ भन्नु भएको छ ।’ संयोजक दमाईको भनाई पुष्टि हुनेगरी कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा पनि नगरप्रमुखले पीडित भनिएका नागरिकका अगुवासँग कुराकानी गरेको बताउँछन् । उनका अनुसार सोमबार विस्थापित पक्ष र नगरपालिकाबीच छलफलको कार्यक्रम राखिएको छ । यस्तै उनले वास्तविक सुकुम्वासीहरूको व्यवस्थापनको काम नगरपालिकाले गरिरहेको जानकारी दिए ।
‘उहाँहरूका केही माग छन् । ती मागका सम्बन्धमा छलफलको माध्यमबाट टुंग्याऔँ भन्ने भएको छ । बाँकी काम नगरपालिकाले गरिरहेको छ,’ नगर प्रहरी प्रमुख थापाले भने । उनले आफूहरूले तथ्यांक संकलन गर्दा वास्तविक सुकुम्वासी देशभरका २३ जिल्लाका ६८ पालिकाका र नागरिक भेटिएको बताए । वास्तविक सुकुम्वासी हुन की होइनन् भनेर थप पुष्टि गर्नको लागि सम्बन्धित पालिकामा पत्राचारसमेत गरिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्