नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानमा ५२ प्रतिशतभन्दा बढी मतदाताले मतदानमा भाग लिएनन् । निर्वाचनका लागि कूल मतदाता सदस्यहरू तीन हजार आठ सय ६३ जना रहेकोमा एक हजार आठ सय ४७ मतदाताले मात्रै मत खसालेका हुन् । बाँकी दुई हजार १६ जना मतदाता मतदानमा सहभागी भएनन् ।
उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले मौसमको प्रतिकुलताका कारण कम मतदान भएको अनुमान गरिएको बताए । तर, ५२ प्रतिशतभन्दा बढीले मतदान नगर्दा अल्पमतबाट नयाँ नेतृत्व चुनिन लागेको भन्दै टीकाटिप्पणी भैरहेका छन् । संघको नेतृत्वले व्यवसायीहरूमा संघप्रति अपनत्व जगाउन नसकेको देखिएको भन्दै अधिकांशले आलोचना गरेका छन् ।
एक व्यवसायी रिज्वी जरगरले उद्योग वानिज्य संघले मेला महोत्सव गर्नेबाहेक व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यो समाचार तयार पार्दासम्म संघको मतगणना पनि शनिबार रातीबाटै सुरु गर्ने तयारी रहेको जानकारी दिइएको छ । संघको नयाँ अध्यक्षसहित पाँच जना पदाधिकारी र १० जना कार्यसमिति सदस्यका चयन गर्न मतदान भएको हो ।
दुई उपाध्यक्ष र एशोसिएट तथा सम्बद्ध सदस्यमा भने निर्विरोध चयन भइसकेको छ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । बिहानको झरीमा पनि लाइन लागेर मतदाताहरूले मतदान गरेका थिए । संघका एक अध्यक्ष, एकजना महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्यसहित १५ जनाका लागि २३ जना प्रतिस्पर्धामा थिए ।
संघको अध्यक्षमा चिरन्जीवी ओली र ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष महिलामा ओलीको टिमबाट रुपा ओझा सानु र दाहालको टिमबाट उमा ग्राण्डनले उम्मेदवारी दिएका थिए । यस्तै महासचिवमा ओलीको टिमबाट विष्णु श्रेष्ठ र दाहालको टिमबाट दिपेन्द्रकुमार जोशीबीच प्रतिस्पर्धा हुँदा उपमहासचिवमा शिवप्रसाद दाहाल र प्रदीप आचार्यबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्षमा भने टीकामणि उपाध्याय, सूर्यकुमार श्रेष्ठबीच र नारायण प्रसाद प्रसाई तीन जना उम्मेदवार रहेका छन् । उपाध्याय ओलीको टिमबाट हुन् भने श्रेष्ठ दाहालको टिमबाट हुन् ।
यसैगरी प्रत्यक्ष निर्वाचित हुने १० जना सदस्यको कोटामा १३ जनाले उम्मेदवारी दिएका छन् । ओलीको टिमबाट सदस्यमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, शैयद जहाँगिर मुसमान, तोप बहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नरेन्द्र शाहीले उम्मेदवारी दिएका छन् भने दाहालको टिमबाट रामकुमार वैश्य र विकास थापाले उम्मेदवारी दिएका थिए । यसैगरी सदस्यमै सुरजबहादुर भण्डारीले पनि उम्मेदवारी दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्