पुस्तकमा पाकापुरानादेखि नयाँ पुस्ताका कविका कविताले संरक्षणमा गतिला सन्देश प्रवाह गरेका छन् । वातावरण के हो, किन जोगाउने, जोगाउनका लागि कसको भूमिका के रहन्छ, हामी सबै वातावरण संरक्षण गर्न कसरी समर्पित रहने जस्ता प्रश्नका उत्तर पुस्तकमा समेटिएका कवितामार्फत् प्राप्त हुन्छन् । कविताका माध्यमले विद्यार्थीलाई संरक्षणप्रति मोहित बनाउन गरिएको प्रयास उल्लेखनीय मान्नु पर्ला ।
दलबहादुर गुरुङ
डिभिजन वन कार्यालय धादिङद्वारा नानीबाबुहरूमा समर्पित पुस्तकको नाम हो ‘वातावरण शिक्षा’ । वन, वातावरण र जैविक विविधता संरक्षणका लागि सञ्जीवनी बुटीको रूपमा रहेको ‘वातावरण शिक्षा’ नामक यो पुस्तकले पक्कै पनि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकार राख्ने सबैलाई भरपुर सन्देश दिने ठानेको छु । यो पुस्तक अति नै ज्ञानवद्र्धक रहेको पाएँ । रङ्गीन कलेवरमा छापिएको पुस्तकले नानुबाबुलाई पढाइमा अति नै प्रभाव पार्नेछ । पुस्तकमा पाकापुरानादेखि नयाँ पुस्ताका कविका कविताले संरक्षणमा गतिला सन्देश प्रवाह गरेका छन् । वातावरण के हो, किन जोगाउने, जोगाउनका लागि कसको भूमिका के रहन्छ, हामी सबै वातावरण संरक्षण गर्न कसरी समर्पित रहने जस्ता प्रश्नका उत्तर पुस्तकमा समेटिएका कवितामार्फत् प्राप्त हुन्छन् । कविताका माध्यमले विद्यार्थीलाई संरक्षणप्रति मोहित बनाउन गरिएको प्रयास उल्लेखनीय मान्नु पर्ला ।
कवि गङ्गा पोखरेलले ‘पृथ्वीको खवर’ कवितामा लेख्छिन्
डढेलोले पोलेका पेट देखाउँदै रूखहरू
चराचुरुङ्गीको हाल बेहाल भइसक्यो
खानेकुरा भन्दै झुक्किए
प्लाष्टिकका टुक्रासँग
ज्यानमारा रहेछ वंश धान्न सकेन
हेर्दाहेर्दै इतिहासका कुरा गर्ने भइएछ
विकाससँगै विनाश फैलिएको पत्तै भएन ।
बालबालिका भनेका नर्सरीजस्तै हुन् । उनीहरूलाई सानैदेखि घामपानी, मलजल गर्दै हुर्काउँदै लैजान सकेमा पक्कै पनि सक्षम र सबल रूख बन्ने छन् । अर्थात् असल र कर्मठ मानिस बन्नेछन् । बालबालिकाले देखेको र भोगेको वर्तमान परिवेशलाई गहन अध्ययन गर्दै संरक्षणप्रति आकर्षित गर्नुपर्ने देखिन्छ । कहाँ भुलिरहेका छन् उनीहरू यतिबेला ? किताबका पानामा अल्झिएका छन् वा सामाजिक सञ्जालमा ? उनीहरूलाई हाम्रै वरिपरि रहेका वनजंगलमा कहिल्यै पैदलयात्रा गराएका छौँ ? बोटविरुवा चिनाएका छौँ ? जंगली जनावर र चराचुरुङ्गीका स्वर सुनाएका छौँ ? प्रश्न फेरि हामी पाका जिम्मेवार पुस्तातिरै फर्किनेछ ।
‘सहअस्तित्वको आशा’ नामक कवितामा कवि भवानी खतिवडा लेख्छिन्
याद राख
पर्यावरणमाथि यस्तैयस्तै ज्यादती गर्दै गयौँ भने
डायनोसरजस्तै अस्तित्व मेटिने छ
अबको पालो
तिमी हामी मान्छेहरूकै हुनेछ ।
कविले नयाँ पुस्ताका भाइबहिनीहरूलाई कति संवेदनशील सन्देश दिएकी छिन् । पर्यावरणमाथि भइरहेका ज्यादती र यीनले निम्त्याउने भावी अकल्पनीय घटनाको आजै ऐना देखाएकी छिन् ।
नियात्राकार प्रतीक ढकालले आफ्नो ‘धर्तीको जीत’ कवितामा यसरी लेखेका छन् –
ढुंगा, माटो सबै बेच्ने मान्छे मात्र रैछ
मान्छे लोभी भएकैले पर्या बिग्रिँदैछ
ढुंगा भए माटो हुन्छ, माटो भए पानी
पानी शुद्ध भएमात्र चल्छ जिन्दगानी
सायद यो पुस्तकभित्र समाहित यो कविता पढेपछि हाम्रा स्कुले भाइबहिनीहरूले आजको पर्यावरणीय परिवेश बुझ्न सक्नेछन् । माटो र ढुंगोका अर्थ जान्ने छन् । माटोलाई माया गर्नेछन् ।
वातावरण असन्तुलन खडेरी र पहिरो
जीवजन्तुमा पु¥याउँछ है गहिरो
आफ्नोमात्र हित नभई सबको सोच्नुपर्छ
स्वच्छ वातावरण हो समाधान कुरा बुझ्नुपर्छ
कक्षा १२ मा अध्ययनरत पल्पसा कार्कीको ‘हाम्रो अभियान, सन्तुलित वातावरण’ कवितामा आफ्नो गतिलो भाव प्रकट गरेकी छिन् । उनको पर्यावरणीय चेतलाई सलाम गर्नुपर्छ । स्रोत सामग्रीका रूपमा प्रकाशित ‘वातावरण शिक्षा’ पुस्तकमा लक्ष्मीप्रसाद देवकोटा, नरेन्द्र परासर, विजय हितान, डा.ऋषि बस्ताकोटी, कृत्रिका लौडारी, भवानी तिमल्सिना, प्रकाश बराल, सीता कोइराला, दीपेन्द्रसिंह थापा, संयुक्ता खड्गी र सुदीप छत्कुलीका पर्यावरण संरक्षणसम्बन्धी गहन र सन्देशमूलक कविताहरू समाहित छन् । जसले हाम्रा मन, मुटु र मस्तिष्क हल्लाइ दिन्छन् । साहित्यकार डा.नवराज लम्सालले भाइबहिनीहरूलाई चिठ्ठीमार्फत् आफ्नो समाज, संस्कृृति, परम्परा, बाजागाजा, वातावरणका बारेमा मनग्यै जानकारी दिएका छन् । उनले आफ्नो धादिङको भूगोलसँग भावना जोडेका छन् । चिठ्ठीमा कथा हालेका छन् । कविता जोडेका छन् । मिठास तरिकाले भाइबहिनीहरूलाई दिनुपर्ने सन्देशमा कुनै कमी राखेका छैनन् । उनी नेपालका होनाहार साहित्यकार हुन् । स्वरका राजा मानिन्छन् । सक्षम कार्यक्रम प्रस्तोता हुन् । उनले दिएका खुराक भाइबहिनीलाई पक्कै पनि अमृत सावित हुने छ ।
डा.नवीनवन्धु पहाडीले धादिङको नालीबेली लगाएका छन् ‘धादिङ ः शिरमा हिमाल, मुटुमा इतिहास बोकेको जिल्ला’ शीर्षक आफ्नो लेखमा । जिल्लाको नाम कसरी धादिङ रहन गयो भन्ने किंवदन्तीदेखि जिल्लामा देखापरेका समस्याहरूसम्मका कुरा सविस्तार बयान गरेका छन् । पढ्न लायक लेख छ । नक्साले धादिङ पुग्न सजिलो बनाएको छ । मनोपरामर्शदाता रामकुमार थापाको ‘पहिला अभिभावक सुध्रिने कि बालबालिका’ शीर्षकको लेख दमदार छ । सामाजिक सञ्जाल प्रयोगका चित्रहरूमार्फत् गतिला सन्देश प्रवाह गरिएका छन् । छोराछोरी बन्नु र बिग्रनुमा अभिभावकको नै हात, साथ रहन्छ । सन्तानमाथि दोष थुपारेर हामी कहाँ पुग्छौँ ? गालीगलौज गरेर हामीले कस्तो संस्कार सिकाइरहेका छौँ ? बालबालिकाको बानी सुधार्न आफूले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा समेत लेखक थापाले सुझाएका छन् । हामी अभिभावकहरू पानीमाथिको ओभानो बन्ने संस्कारको अन्त्य आजको आवश्यकता हो । कमल रिजालले योग र स्वास्थ्यका बारेमा गहन लेख प्रस्तुत गरेका छन् । जो पठनीय छ । रामाश्रय यादवले अन्धविश्वासदेखि मृत्युसम्म शीर्षकमा लेखेको नाटक छ पुस्तकमा तर कथाशैलीमा । हामीले अन्धविश्वासबाट मुक्त हुने कुरा सामान्य छैन । यसका लागि हामी बदलिनुपर्छ । त्यसका लागि ज्ञान, सीप र व्यवहारमा परिवर्तन आजको खाँचो हो ।
‘स्वस्थकर विद्यालय वातावरण’ लेखमा लक्ष्मण घिमिरे लेख्छन्– बालबालिकाहरूलाई शिक्षित बनाउन स्वस्थ बनाउनुपर्छ र स्वस्थ बनाउन शिक्षित बनाउनु पर्छ । यो नै लेखको मूल भाव छ । ‘जीवन रक्षाका लागि रगतको अपरिहार्यता’ शीर्षकको लेखमा नारायणकुमार श्रेष्ठले धादिङ रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्र खोलेको सूचना र रगतको महत्व बताउँदै रक्तदान जीवनदान हो भन्ने कुरालाई प्रष्ट्याएका छन् । दीगो विकासका तीन आधारहरू भनेका वातावरण, अर्थ र समाज नै हुन् भन्ने कुरा राजाराम शर्माले ‘संरक्षण शिक्षा ः आजको आवश्यकता’ शीर्षक लेखमा प्रतिविम्बित गरेका छन् । देश विकास भइरहँदा हुन सक्ने विनासका बारेमा दरो कुरा उठाएका छन् । चिरञ्जीवी खनालले इको क्लबका बारेमा गहन लेख लेखेका छन् । भाइबहिनीहरूका मन, मस्तिष्कमा घुस्ने गरी लेखिएको उक्त लेख यो पुस्तकको मुटु मान्न सकिन्छ । हाम्रा नर्सरीजस्ता भाइबाहिनीहरूलाई इको क्लबमार्फत् सिंगो पर्यावरण जोगाउने तरिका सिकाउनु छ । संरक्षणप्रति आकर्षित गर्नुछ । इको क्लब के हो, किन चाहिन्छ, यसको काम, कर्तव्य र अधिकारहरू के के हुन् ? किन हामीले इको क्लब विद्यालयमा गठन, पुनर्गठन गर्नुपर्छ, सञ्चालन र व्यवस्थापनमा विद्यालय र इको शिक्षक, प्रअ लाग्नुपर्छ ? यावत विषयमा यो लेखमा उल्लेख गरिएको छ । इको क्लबका गतिविधि र यसको भूमिकाले वन, वातावरण र जैविक विविधता संरक्षणमा कस्तो टेवा पुग्ला ? यसैले पनि आजका प्रविधिमैत्री भाइबहिनीहरूलाई प्रकृतिमैत्री बनाउन यो लेखले सारथिको भूमिका खेल्नेछ ।
डा.हेमसागर बरालको ‘विद्यालयमा चरा’ शीर्षकको लेखले पुस्तकको वजन बढाएको छ । नेपालमा सन् १८ सयको मध्यतिर अभिलेखीकरण गरिएका आठ प्रजातिका चरा लोप भएको खबर उनले दिएका छन् । प्रत्येक वर्षको जनवरी ५ तारेखलाई अन्तर्राष्ट्रिय चरा दिवस मनाउने चलन रहेछ । दुई प्रकारको चरा दिवस मनाइने चलनसमेत रहेछ । भाइबहिनीहरूले चराबाट धेरै कुरा सिक्न सक्ने रहेछन् । यसका प्रकार, गुण र अवस्थाका बारेमा सिक्दा विद्यार्थीलाई जाती नै हुने छ । जलाधार विज्ञ मधुकर उपाध्यायले ‘जलाधार, जलचक्र र पानी’का बारेमा उत्तम लेख लेखेका छन् । जल, जलचक्र, हरियो पानी, निलो पानी, पानीको स्रोत, भण्डारण र खपत, जैविक विविधतामा पानीको भूमिका विषयमा विस्तृत व्याख्या, विश्लेषण गरेका छन् । लामो समयदेखि तिनाउ नदीको संरक्षणमा लागेको मलाई यो लेखले धेरै नै सन्देश दियो । उनीप्रति म कृतज्ञ छु । विष्णु आचार्य र सुरेश शर्माको संयुक्त लेख ‘वरपीपल रूखमात्रै होइनन्’ले वरपीपललाई संस्कृति र प्रकृतिको प्रतीक ठानेका छन् । हाम्रा पाकापुराना पुस्ताले वरपीपल रोपे, विहे गर्दिए, शित्तलता लिए । चराहरूलाई वरपीपलले बास दिए । पूजाआजा गर्नेहरूले गरे पनि । तर आज वरपीपल मासिँदै गएको छ । यसप्रति चिन्तामात्र होइन संरक्षणको चिन्तन जरुरी छ । यही कुरा लेखले सन्देश दिएको छ ।
रोजन पोखरेलको ‘बिर्सिएका पारिजात’ लेखले पारिजातको फूलका बारेमा गहन शिक्षा दिएको छ । पौराणिक कथाको सहाराले लेखलाई थप फैलाएको छ । पारिजातको संरक्षणका लागि उनले हातेमालो गर्न अनुरोध गरेका छन् । डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको ‘तपाईँको विरुवा कुन हो ?’ कस्तो मज्जाको ज्ञानवद्र्धक लेख रहेछ । वन, वातावरण र जैविक विविधता संरक्षणमा लागेको दुई दशक बढी समय बिताउँदा पनि मेरो जन्मौटे बिरुवा कुन हो रहेछ थाहै नपाएको खबर सुनाउँदैछु । यो लेखबाट थाहा पाएँ मेरो राशी र नक्षत्रअनुसारको बिरुवा । शास्त्रीय कुरा, सांस्कृतिक कुरा रहेछ यो । नक्षत्र वाटिकामार्फत कुन राशीको वा कुन नक्षत्रको व्यक्तिले कुन बिरुवा लिएर जन्मिने रहेछ भन्ने कुरा थाहा लाग्यो । डिएफओ साहेबलाई विशेष धन्यवाद । कुवेर रानामगरको ‘प्लाष्टिक सुपरहिरो’ शीर्षकको लेखले उनलाई नै हीरो बनाएको छ । ‘वातावरण संरक्षणमा युवाहरूको भूमिका’ शीर्षकको लेखले युवाहरूलाई वातावरण संरक्षणमा आह्वान गरेको छ । बढ्दै गइरहेको वातावरणीय विनाशलाई कसरी रोक्ने, कसले रोक्ने विषय नै लेखको सार हो ।
‘मानव वन्यजन्तु द्वन्द्व ः कारण र समाधान’ शीर्षकको यो लेखमा बागमती प्रदेशका वन, वातावरण सचिव डा.केदार बरालले सो विषयमा सूक्ष्म विश्लेषण गरेका छन् । उनले मानव वन्यजन्तु द्वन्द्वका प्रकार, यसका कारण, समाधान गर्न गरिएका प्रयासहरू र भावी कार्यदिशा प्रष्ट्याएका छन् । साथै उनले मानव वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कुनै एकै उपायले मात्र सम्भव हुँदैन । यो सामाजिक, वातावरणीय, प्राविधिक, नीतिगत र आर्थिक पक्षहरूलाई समेट्ने बहुआयामिक चुनौती हो भनेका छन् । सारै गहन लेख रहेछ । लेखकप्रति आभारी छु । ‘वनको हृदय ः एक किशोरीको संवेदना’ शीर्षकको लेखमा ईशा थापाले आफ्नो अनुभूति राम्रोसँग बयान गरेकी छिन् । रामदेवी महर्जनको ‘स्वास्थ्य र सिर्जनशीलताका लागि हाइकिङ’ लेख उन्नत रहेको पाएँ । पर्यटन प्रवद्र्धनका लागि यो लेख अति नै सुन्दर हुने छ । संरक्षणका लागिसमेत लेख प्रगतिशील छ । रुबिभ्यालीका सन्दर्भमा डिएफओ विष्णु आचार्यले यात्रासंस्मरण लेखेका छन् । मीठो र छोटो यात्रासंस्मरणले यो पुस्तकलाई थप पठनीय बनाएको मेरो ठहर छ । दीपेन्द्र रिजालको ‘स्वर्गसरी छ कालोदह’ यात्रासंस्मरण खुबै मिठो लाग्यो । पुग्दा कठिन भए पनि पुगेपछिको स्वर्गीय आनन्द पढेपछि थाहा लाग्छ । ‘धादिङको शिर ः यात्रा सिङ्ल्हाको’ यात्रासंस्मरणले सिङ्ल्हा पुरायो । तामाङ जातिको मिथक पढ्न पाइयो । उनको लेखले पर्यटन प्रवद्र्धनमा व्यापक फाइदा पुराउने छ ।
आन्तरिक एवम् बाह्य पर्यटकहरूलाई उक्त स्थानमा पुराउन सकिएमा समृद्धिको नौलो आयाम थपिने छ । मान्छिंग तामाङले रुबिभ्यालीको अवसर र चुनौतीका बारेमा गतिलो लेख लेखेका छन् । सो लेख पढेपछि रुबिभ्यालीको नालीबेली थाहा पाउन सकिन्छ । दीपेन्द्रसिंह थापाको ‘तापिरिचाको आँगन प्यारो’ सुन्दर यात्रासंस्मरण हो । मिठो छ यात्रा बयान । सुन्दर तस्वीरले समेत आकर्षण थपेको छ । बाबुकृष्ण कार्कीको ‘सिपाही हुँदै संरक्षणमा मोडिएको यात्रा अनुभूति’ अक्षरशः पढेँ । उनले आफ्नो जागिरेयात्राको राम्रो बयान गरेका छन् । संरक्षणमा लाग्दाका तीतामीठा अनुभव र अनुभूति मिठो गरी लेखेका छन् । ‘हाब्रेसँग जम्काभेट’ शीर्षकको संस्मरणात्मक लेखले अतीत सम्झाएको रहेछ संरक्षणविद् रोशन शेरचनलाई । सायद थोरैलाई थाहा नभएको वन्यजन्तु हो हाब्रे । रसुवाको भूगोलसँग भावना साट्दै गरेको यात्राबाट जन्मिएको गहकिलो संस्मरण लेख्ने रोशन दाइले विद्यार्थी भाइबहिनीलाई मात्र होइन सरोकारवाला सबैलाई हाब्रेका बारेमा हाइली इन्फर्मेसन दिएका छन् । पिंकी शर्माले पहिरोको पीर पोखेकी छिन् । पहिरो जानबाट के गर्ने पाठ सिकाएकी छिन् । यादवराज आचार्यले ‘जिजामती सेवा किन विद्यार्थीहरूको सपना बन्दैन ?’ भन्ने गहकिलो लेख लेखेका छन् । उनले पाठ्यक्रममा नै निजामती सेवाका बारेमा पाठ्य विषयवस्तु राख्नुपर्ने सुझाएका छन् । डिएफओ साहेबले आफ्नो वन कार्यालयको अभियानका बारेमा व्याख्या गरेका छन् । आफ्नो संस्थाले छापेको पुस्तकमा आफ्नै कार्यालयको गतिविधिका बारेमा जानकारी दिनु राम्रो हो । मानवी आचार्यले संकलन गरेको विभिन्न वातावरण दिवसहरूको तिथि, मिति राम्रो छ ।
वातावरण शिक्षा पुस्तक प्रकाशनका तीन उद्देश्य प्रधानसम्पादक विष्णुप्रसाद आयार्यले बताएका छन् । युवा विद्यार्थीलाई वातावरण शिक्षा र सिंगो पुस्तालाई पर्यावरणीय चेत दिनु नै पहिलो उद्देश्य हो । त्यसै गरेर दोस्रो उद्देश्य भनेको रूखबिरुवा प्रकृतिका निःशुल्क वरदान हुन् । रूखबिरुवा भनेको इतिहास, संस्कृतिका स्रोत र धरोहर हुन् । रूखबिरुवा जोगाउनु भनेको संस्कृति जोगाउनु पनि हो भन्ने सन्देश प्रवाह गर्न । उनको अन्तिम उद्देश्य भनेको प्राकृतिक स्रोतसाधनले सम्पन्न धादिङको समुचित प्रयोग गर्न सकिएमा समृद्ध धादिङ बनाउन सम्भव छ भन्ने नै हो । स्रोत सामग्रीका रूपमा यो पुस्तक संग्रहणीय र पठनीय छ । प्रकाशन गर्ने वन कार्यालय धन्यवादको पात्र छ । सम्पादन समूहलाई धेरैधेरै धन्यवाद । पुस्तकमा वर्णविन्यासका नियमहरू हल्का मिचिएका छन् । एउटै व्यक्तिको लेख धेरै समावेश भएका छन् । फोटोको प्रयोग राम्रो छ। चिल्लोकागजमा वजनदार छापिएको छ । डिएफओ विष्णुप्रसाद आयार्यको टीमप्रति सिर्जनशील कर्मका लागि साधुवाद र कृतज्ञता । पुस्तक प्रकाशन कर्मले निरन्तरता पाओस् । शुभेच्छा ।









प्रतिक्रिया दिनुहोस्