कथाः विमानस्थमा बा



नरेन्द्र देवकोटा

घर अगाडि पूर्वतिर त्रिवेणी परेको सानो बजार छ, दुई नदीको संगमस्थल, अग्लो मालिका देवी अवस्थित पहाड, घरको दक्षिण मोहडा नजिकै स्याउ र ओखरबारी, नजिकै कुलो र बिशाल मार्सीधान फल्ने खेतकाफाँट अर्थात ज्यूलो । खेतका फाँट अर्थात ज्यूलो मुनि शालीन भएर बगिरहने तिला नदी, घरको पारीपट्टी सल्लाघारीको अग्लो जंगल, उत्तरतर्फ पनि जिउलो र एयरपोर्ट, पश्चिमतर्फ करिव बीस मिनेट लाग्ने बजार, यो ठाउँ नै नरराजको जन्मभूमिको परिचय हो । बर्खामा २५÷२६ डिग्रि सेल्सियस तापक्रम हुन्छ भने हिउँदमा तापक्रम ३÷४ डिग्रीमा झर्छ । माइनसमा झरेर हिउँ पनि परिरहन्छ । नरराजले पाँच छ वटा हिउँद पचाई सकेकाले जाडोसँग राम्ररी परिचित भइसकेका थिए । स्कुल नगएर पशुवस्तु र चराचुरुङ्गीसँगै खेलेर रमाउँथे । कहिलेकाहीँ मामाघर जान्थे र मावलकी हजुरआमा मामा माइजूसँग खुब रमाउँथे । नरराजका मामा कर्मचारी थिए । नरराजकै घर नजिकको बाटो भएर नरराजका मामा अफिस जान्थे । मामा भान्जको भेटले नरराजलाई उनका मामाले अभिभावकको भूमिका निभाएका थिए । नरराज करिव ६ वर्षका भएका थिए । भर्खर क ख रा पढ्ने उमेर शुरु हुँदै थियो उनको । २०३४ सालमा महामारीको रुपमा फैलिएको बिफरमा नरराजलाई बाँच्न हम्मेतम्मे भएको थियो । त्यो कालको मुखबाट जोगाउन उनकी आमा रुकमिणाले कुनै कसर बाँकी राखेकी थिइनन् । कुरा गरि साध्य छैन, अझ उ भन्दा साना अरु दुई भाइ छोरा लाई करिव १५ दिनको दुरीमा सकुञ्जेल सम्मको उपचार गर्दागर्दै पनि श्रावण र भाद्रमा गुमाउनु परेको थियो त्यो पिडादायी साउन र भाद्र महिना बाचुञ्जेल कहिलेपनि भुल्न सकिनन् नरराजकी आमा रुकमिणाले । काखको दुधे बालक सहित दुई दुई वटा छोरा गुमाउँदाको पीडा कति धेरै थियो होला ? तैपनि अदम्य साहस र धैर्यताका साथ बाँकी रहेको जेठो छोरा नरराजलाई बचाउन रुकमिणालाई धेरै मेहिनत गर्नु परेको थियो । रुकमिणाका श्रीमान जागिरे थिए । त्योपनि घरदेखि धेरै टाढा, न त फोन थियो न मोवाईल, कित नेपाल दुर सँचार सँस्थानबाट सँचालित आवा द्वारा खवर पठाउनु पथ्र्यो कि त नजिकैको बिमान स्थलको आवा सेटबाट खवर पुर्याउनु पथ्र्यो, कित महिनौँदिन लागेपनि हुलाकबाट चिठ्ठिपत्र पठाउनु पथ्र्यो ।

अहिले जस्तो फोन मोबाइल थिएन । दुरसंचारको आवा सेटबाट बच्चा बिरामी भएदेखि बालक द्वयले सँसारबाट बिदा लिए सम्मको खवर समेत नपठाएको होइन, तर नरराजका बाउ श्रीधरलाई, जागिरनै ठूलो लाग्यो । बिदा लिएर घरमा आउन घटनालाई सामान्य नै लिए । नरराजकी आमाले नरराजलाइ सम्म बचाउन सफल भएकिले अरु दुई छोरा हरिस र दिपेश बितेकोमा भाग्यलाई दोष दिदै त्यति धेरै ठूलो पीडालाई पनि भुल्दै आएकी थिइन् । सरुवा भएको निश्चित समय सकिएपछि रुकमिणाका श्रीमान अर्थात नरराजका बाबु श्रीधरले घर पायक नै सरुवा मागी पहाडतिरै आउने भएका थिए । घरमा दुई दुईवटा छोराहरु गुमाएर एउटा छोरो बचाउन सफल भएकी, घरगृहस्थी दुःख सुखले चलाएकी, छिमेकी र गाउँलेबाट केही सहयोग केही असहयोग पाएको मनका बिलौना सुनाउँला भनेर पर्खिबसेकी थिइन् रुकमिणा आफ्नो श्रीमान श्रीधरसँग । ३÷४ वर्षपछि श्रीमान घरमा आउने भएपछि रुकमिणा खुसीले गदगद भएकी थिइन् । कित पैदल यात्रा कित प्लेनबाट सवार गर्नुपर्ने यि दुई मात्र विकल्य थिए । मधेशबाट पहाड आउने रुकमिणाका श्रीमान श्रीधरले म फलानो दिन प्लेनबाट यतिबजे उड्छु भनेर घरमा चिठ्ठि समेत पठाई सकेका थिए । रुकमिणालाई उनका छिमेकीले यो खवर सहितको चिठ्ठि उनका छिमेकी भाइ छोराले पढी सुनाई दिएका थिए । रुकमिणाले आफ्नो श्रीमान पर्सिपल्टको दिनको बिहान करिव १० बजेतिर आईपुग्ने खवर थाहा पाइन् । यो खवरले उनलाई पुरानो पीडा बिर्साएर धेरै स्पूmर्ती बढाएको थियो । आफ्नो प्राण प्रिय श्रीमान अनि कालको मुखबाट बाँचेको सानो छोराको बाबा आउने भएपछि रुकमिणा घरआँगन, लुगाकपडा सफा गर्न थालिन् । सावुनको जमाना पातलै थियो । रुकमिणाले आफ्ना र बच्चाका लगाउने कपडा, तन्ना सिरकका खोल खरानीमा पकाएर पिटेर भएपनि धोएर सुकिलामुकिला पारिन् । आपूm पनि नुहाई दुहाई कोरीबाटी भई सफा चिटिक्क भएर बसिरहेकी थिइन् । असोजको महिना थियो । मार्सी चामल ओखलमा कुटेर टन्न राखिन् । घट्टबाट ताजा पिठो पिसेर राखिन् । दाल समेत पिसेर राखिन् । सानो छोरालाई पर्सि, भोलि आजै तिम्रो बाबा आईपुग्ने भनेर अनेक खुसी र सपनाहरू बाँडिरहेकी थिइन् । रुकमिणा एक्ली थिइन् । श्रीमान् आउने भनेर भान्साको ब्यवस्था गर्न थालिन् । छिमेकी भतिजाहरू पुरन, शिव र बलुले करिव ६ बर्षको सानो नरराजलाई हात समाएर बाबा भेटाउन बिमान स्थल तर्फ लगे ।

त्यही बाटोबाट हो, कहिलेकाहीँ बजार, मेलाजात्रा, अस्पताल जाँदा उति साह्रो बिमानस्थलको महत्व हुन्थेन नरराजलाई । तर आज किन किन नरराजलाई त्यो विमानस्थल जाने बाटो, बिमान स्थल, विमानस्थल वरिपरि चलेको हावाको झोक्का, रापीलो लागेको घाम पनि अति प्यारो लागेको छ । हवाइजाहज नेपालगन्जबाट नरराजको जन्मस्थल पहाडसम्म आई पुग्न ३५ मिनेट लाग्दथ्यो । करिव बिहानको १० बजिसकेको थियो । पूर्व समय अनुसार हवाइजाहज उडेको थिएन । हुनत त्यही हवाइजाहज नेपालगन्जबाट पहाडी जिल्लाहरू डोल्पा र हुम्ला समेत जानु पर्दथ्यो । अब नेपालगन्जबाट ह्वाइजाह जउड्न थाल्यो भन्ने हल्लाखल्ला चलिरहेको थियो । नरराज तारन्तार छिमेकी दाजु पुरन, शिव र बलुलाई हवाइजाहज कतिखेर आउँछ भनेर सोधिरहेका हुन्थे । पुरन, शिव र बलुले फुल्याउँदै फुल्याउँदै अब एकछिनमा उड्छ भनिरहेका हुन्थे । अफिस जाने कर्मचारी र बिद्यालय जाने विद्यार्थीहरू पनि त्यही बाटो भएर जान्थे । नरराज पुरन र बलुलाई हाम्रो बाबा को जस्तै हुनुहुन्छ भनेर पनि सोधिरहेका हुन्थे । कारण प्लेनबाट निस्किदा चिन्न सहज होस् भनेर पनि होला । पुरन, शिव र बलुलाई भने नरराजका बाबुलाई कसैसँग दाँजेर भन्न कठिन भैरहेको हुन्थ्यो । साढे पाँच फिट उचाई न धेरै मोटो न त दुब्लो पातलो ज्यान, प्राय दौरा सुरुवाल कोट टोपी लगाउने, गोडामा तना बाँध्न मिल्ने काला बाँसवारी छाला जुत्ता लगाउने, हातमा ब्याग बोकीरहने कोटको माथिल्लो जेवमा कलम डट्पेन खाली नराख्ने नरराजका बाबु श्रीधरको स्वभाव थियो । दाह्री काटिरहने, जुँगा नपाल्ने, गहुँगोरो बर्णका, प्रायः चुरोट तानीरहने चिया पिईरहने, दायाँ हातमा चेनवाला घडी बाँधिरहने, हँसिलो मुहारका, काला आँखा, उमेर बर्ष ३६÷३७ का नरराजका बाबुको हुलिया थियो । एकछिनमा शाही नेपाल बायुसेवाको हवाइजाहज नेपालगन्जबाट उडेको साईरन टावर स्टेशनले दियो । त्यो साईरनको आवाज नरराजले पनि सुनेका थिए । तर अवोध बालक नरराजलाई यो के को आवाज हो कसले कसरी दियो भन्ने थाहा थिएन । पुरनले सानो भाइलाई अब हवाइजाहज उड्यो एकछिनमा आउँछ, तिमी तिम्रो बाबाको काखमा जाने, हात समाउने, हामीलाई तिम्रो बाबाले ल्याएको मिठाई दिनु है भनेर सम्झाउदै फुल्याउँदै गरी रहेका थिए, नरराज खुसीको भावले हुन्छ हुन्छ दिन्छु भन्दै टाउको हल्लाइरहेका थिए ।
नरराजलाई त्यो पैँतिस मिनेट बिताउन दिनभरी जत्तिकै लागिरहेको थियो । खैत हवाइजाहज आएको भनेर बीचबीचमा सोधी रहेका हुन्थे । फेरि साईरन दियो टावरले कराएको आवाज सुनियो । यो साइरन हवाइजाहज विमानस्थलमा पुग्न लागेको थियो । एकछिनमा बिमानस्थलबाट पश्चिमतर्फ हवाइजाहज झुल्कियो । हवाइजाहज बिमानस्थलको दक्षिण तर्फको पहाड हुँदै पूर्वतर्फ लाग्यो र मोडिएर नरराजको घर आँगन हुँदै हवाइजाहज धावन मार्गमा आइबस्यो ।

धावन मार्गको घेराबार बाट हवाइजाहज बसेको, पंखा घुमेको र प्लेनको ढोका खोलेको एक तमासले हेरिरहेका थिए नरराजले । नरराजमा बालसुलभ थियो । उनी आफ्नो बाबालाई हवाइजहाजको ढोकाबाट चाँडोभन्दा चाँडो बाहिर निस्केको देख्न चाहन्थे । ट्विनअटर हवाइजाहज आकारमा सानो भएपनि सबै हवाइजाहजभन्दा राम्रो देखिन्थ्यो । हवाइजाहज चढ्नलाई सरक्षाको दृष्टिकोणले पनि विश्वासिलो मानिन्छ । शाही नेपाल वायु सेवा निगमका एकजना लोडर कर्मचारी हवाइजाहज बसेको ठाउँमा गएर ढोका खोले । हवाइजहाजका यात्रु ओर्लने सिँढी मिलाए । यात्रुहरू बिस्तारै बाहिर पालैपालो निस्कन लागे । हवाइजाहजभित्रबाट यात्रुहरू निस्कदै गर्दा एउटा गहुँगोरी पाँचफिटभन्दा अग्ली मोटो कद भएकी, गहुँगोरी महिला, सारी व्लाउज र च्यादर अनि खुट्टामा चप्पल काखमा करिव बर्ष दिन जति भएकी फराक र सुरुवाल लगाएकी बालिका सहित काखमा बोकेर हवाइजहाजबाट ओर्लिन् । लगत्तै पछाडि दौरा सुरुवाल कोट टोपी र जुत्ता लगाएका गहुँगोरो वर्ण भएका हातमा कुनै सामानको झोला बोकेका पुरुष व्याक्ति निस्के । हवाइजहाजबाट निस्केपछि महिला अलि वर आएर थपक्क उभिन् । दौरा सुरवालवाला व्याक्ति विमानस्थलबाट बाहिर तिर हेर्दै थिए । सायद कोही बाहिर लिन आएका छन् कि भनेर हेरेको हुनुपर्छ । यता बाहिर पुरन, बलु र शिव एकअर्कालाई हेर्दै अँध्यारो मुख लगाउदै ऊ तिम्रो बाबा आउनु भयो भनेर नरराजलाई देखाइरहेका थिए । नरराज एकछिन् हाम्रो बाबा आउनुभयो भन्दै खुसीले उफ्रे पनि । अनि नरराजले तुरुन्तै सोधे– बाबाको साथमा हिँड्ने ती महिला को हुन् ? सबै मानिस एक्ला एक्लै हिँडिरहेछन् । उनी दुईजना सँगसँगै हिँडिरहेछन् । उहाँ हाम्रो बाबा नभएजस्तो लाग्यो, नढाँट्नु न मलाई भन्दै नरराजले आफ्ना पुरन दाईसँग कुरा राख्दै थिए । पुरन, बलु र शिवलाई के भन्ने के नभन्ने ? कसरी नरराजलाई तिम्री कान्छी आमा हुन् भनेर सम्झाउने भन्ने भैरहेको थियो । अघिसम्म हँसिला दाजु बाबा आएपछि उहाँहरूको मुहारमा बादल छाए जस्तै भएको थियो ।

केही समयपछि सामानका झोला सहित भरिया अगाडि लगाएर श्रीधर र ती महिला विमानस्थलको मूल ढोकाबाट बाहिर निस्किए । श्रीधरले जम्काभेटमा नरराजलाई देखेपछि काखमा बोक्न पनि सकेका थिएनन् । नरराजले महिला साथमा भएकीले श्रीधरको काखमा जान पनि चाहिरहेका थिएनन् । नरराज तारन्तार सोधिरहेका थिए– खैत, मेरो बुवा भए उनी महिला को हुन् ? पुरन र बलुले नरराजलाई समmाइरहेका थिए । तिमी घरमा गएपछि थाहा पाउनेछौ । उनी महिला पाहुना हुन् । नरराज श्रीधरसँग जान मानेनन् । अघिसम्म बाबा आउनु हुनेछ बाबाको काखमा जाने हात समाउने म्वाइँ खाने जुन जोश उन्माद थियो त्यो रहेन, खासमा उनी को हुन् भन्ने कौतुहलता र खुल्दुली जागिरह्यो । विमानस्थलमा भएका अन्य गाउँले दाजुभाइ पनि खासमा उनी महिलालाई देखेर खासखुस गरिरहेका थिए । बिस्तारै श्रीधर, काखमा बालिका बोकेकी तीँ महिला, सामान बोकेका भरिया अनि पुरन, बलु र शिव सहित नरराज घरतिर गए । रुकमिणा श्रीमान आउने भनेर खाना बनाइरहेकी थिइन् । स्वागत गर्न थालीमा अविर दैचामल बनाएकी थिइन् । घरमा पुगेपछि छिमेकका पुरुष महिला बालबच्चाहरु जम्मा भए । साना बालक नरराज हिजोअस्ति घरमा कोही आउँथेनन् । आज मानिसको भिड लागिरहेछ, यो सबै के भैरहेछ भन्दै आश्चार्यचकित भएका थिए । रुकमिणाले आफ्नो श्रीमान श्रीधरलाई केही नबोली खुट्टा समातेर ढोगिन् । अनि सोधिन्– यीँ महिला र नानी को हुन् ? श्रीधरसँग जवाफ थिएन । केही समयपछि पुरन, बलु र शिवले कुरा लुकाएर लुक्ने होइन, सही सत्य कुरा भन्दिनुस् भनेर श्रीधारलाई सुनाए । श्रीधरले पनि आफ्नो गल्ती छिपाएर नछिप्ने भएकोले यिनी मेरी कान्छी श्रीमती हुन् । यी सानी छोरी हुन्, मबाट गल्ती भयो माफ गरिदेउ भनेर भनिरहेका थिए ।
नरराज बाबुको काखमा नगै आफ्नै आमाको काखमा बसेर बाबाले सानीआमा ल्याउनु भएको हो र ? किन ल्याउनु भएको हो ? के हजुरलाई मन नपराउनु भएको हो र ? बाबाले मलाई न काखमा बोक्नु भयो न हात समाउनु भयो, आमा हजुरले जस्तैगरी मलाई चक्की पनि खानु भएन ? के बाबा हामीसँग अवदेखि बस्नु हुन्न र ? अब हामी अन्तै जाने हो र ? रुकमिणी श्रीमान घरमा आएकोमा खुसी हुनुपर्नेमा आपूmमाथि सौता ल्याएकोमा अनुत्तरित थिइन् । सानो धौ धौसँग बचाएको छोराको प्रश्नको उत्तर दिन सकिरहेकी थिइनन् । बाबु नरराज तिमी ठूलो भएपछि सबै कुरा थाहा पाउनेछौ अवदेखि उनलाई सानी आमा भन्नु, नानीलाई बहिनी भन्नु है भन्दै सम्झाउँदै कसैले नदेख्ने गरी आफ्नाआँसु पुछ्दै चुप्पा खाइरहेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार