जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको पहिरोले मानवीय क्षतिसँगै ठूलो सङ्ख्यामा नागरिकलाई विस्थापित बनाएको छ । स्थानीय तह, प्रशासन र सुरक्षा निकायले राहतसँगै उनीहरुको स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखेका छन् । पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पहिरोका कारण घरबास गुमाएका तथा जोखिमका कारण सुरक्षित स्थानमा सारिएका नागरिकलाई तत्काल खाद्यान्न, लत्ताकपडा र औषधि उपलब्ध गराउने क्रम जारी छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले प्रभावित तथा विस्थापित परिवारलाई राहत वितरणसँगै आवश्यकताअनुसार मनोपरामर्श सेवा उपलब्ध गराउने तयारी भइरहेको बताए । उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयवासीलाई सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
उनले भने, ‘लगातारको वर्षा तथा भौगोलिक जोखिमका कारण थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई जोखिमयुक्त स्थानमा नबस्नसमेत अनुरोध गरिएको छ ।’ यता कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित परिवारलाई आइतबार नै यथाशीघ्र राहत उपलब्ध गराउँदै आवश्यक थप सहजीकरण गर्ने जनाएको छ । भेरी नगरपालिकाका नगर प्रमुख सिपी घर्तीले राहत वितरणमा एकद्वार प्रणाली अपनाइने बताएका छन् ।
उनका अनुसार केही राहत सामग्री प्राप्त भइसकेको छ भने थप सामग्री संकलनको चरणमा छन् । संकलन भएका सामग्री प्रभावित तथा विस्थापित परिवारको आवश्यकता पहिचान गरी वितरण गरिने उनले बताए । नगरपालिकाले तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा तथा औषधि उपलब्ध गराउन थालेको जनाएको छ । तर विस्थापितको सङ्ख्या ठूलो रहेकाले राहतलाई प्रारम्भिक सहयोगमा मात्र सीमित नराखी सुरक्षित बसोबास, स्वास्थ्य उपचार, सरसफाइ तथा मनोसामाजिक सहयोगसम्म विस्तार गर्नुपर्ने अवस्था देखिएको छ ।
यसैबीच, पहिरोबाट प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पहिरोका कारण प्रभावित करिब ३०० नागरिकलाई विद्यालय परिसरमा अस्थायी रूपमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण तथा उपचारका लागि शिविर सञ्चालन गरिएको हो । शनिबार बेलुका आएको पहिरोका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी प्रभावित भएपछि उनीहरूलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो ।
घरबास तथा दैनिक जीवन प्रभावित भएपछि विस्थापित नागरिकले अस्थायी आश्रयस्थलमा बस्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा स्वास्थ्य समस्या, सरसफाइको अभाव, दूषित खानेपानी तथा मौसमजन्य संक्रमणको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजना तथा कर्णाली प्रदेश प्रहरी अस्पतालको समन्वयमा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा औषधि वितरण गरिएको छ ।
शिविरमा चिकित्सकीय आवश्यकता पहिचान भएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्वास्थ्य शिविरका लागि कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमितकुमार ठाकुरको कमाण्डमा छजना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा सातजना प्रहरी कर्मचारी परिचालन गरिएको थियो ।
शिविरमा अधिकांश पहिरो प्रभावित स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका स्वास्थ्य समस्याअनुसार प्रभावितलाई आवश्यक औषधि तथा परामर्श प्रदान गरिएको जनाइएको छ । विपद्पछि विस्थापित नागरिकका लागि खाद्यान्न र अस्थायी आवासजस्तै स्वास्थ्य सेवा पनि तत्कालीन प्राथमिकताको विषय बनेको छ । विशेषगरी लामो समयसम्म अस्थायी आश्रयस्थलमा बस्नुपर्ने अवस्था आएमा खानेपानी, शौचालय, सरसफाइ, पोषण र औषधिको नियमित व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ ।
त्यसैले एकपटक स्वास्थ्य शिविर सञ्चालन गरेर मात्र पर्याप्त नहुने भएकाले प्रभावित क्षेत्र र आश्रयस्थलमा नियमित स्वास्थ्य निगरानी आवश्यक देखिएको हो । त्यससँगै पहिरोमा घरबास तथा आफन्त गुमाएका वा जोखिमपूर्ण अवस्थाबाट विस्थापित भएका नागरिकमा देखिन सक्ने मानसिक तनावलाई सम्बोधन गर्नुुपर्ने मनोविद पूूर्ण रावत बताउँछन् । मनोसामाजिक परामर्शलाई पनि राहत कार्यक्रमकै अभिन्न हिस्सा बनाउनुपर्ने उनको भनाइ छ ।
विपद्को प्रत्यक्ष असर भोगेका बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारका सदस्य गुमाएका व्यक्तिमा त्रास, चिन्ता र मानसिक दबाब देखिन सक्ने भएकाले स्वास्थ्य उपचारसँगै मनोसामाजिक सहयोग आवश्यक हुने उनले बताए ।पहिरोपछि तत्काल उद्धार र विस्थापन व्यवस्थापनमा केन्द्रित भएका स्थानीय तह तथा सुरक्षा निकायका लागि अब प्रभावित नागरिकलाई सुरक्षित र व्यवस्थित रूपमा राख्ने चुनौती थपिएको छ । राहत सामग्रीको न्यायोचित वितरण, सुरक्षित बसोबासको व्यवस्था, नियमित स्वास्थ्य परीक्षण, स्वच्छ खानेपानी तथा सरसफाइको प्रबन्धसँगै मनोपरामर्श सेवा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
विपद्को प्रारम्भिक चरणमै स्वास्थ्यकर्मी र सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरले प्रभावित नागरिकको स्वास्थ्य अवस्था पहिचान र तत्काल उपचारमा सहयोग पु¥याएको छ । अब राहतसँगै स्वास्थ्य र मनोसामाजिक सेवाको निरन्तरता कायम गर्न सके पहिरोबाट विस्थापित परिवारलाई विपद्पछिको कठिन अवस्थामा थप सुरक्षित र व्यवस्थित रूपमा पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्