काठमाडौँ ।
सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट खेलहरू फेब्रुअरी २२ देखि मार्च २३ (२०२७) सम्म हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताको मिति तय गरे पनि यो खेल कहाँ हुने भन्ने कुरा अझै टुंगो लगाएको छैन । यसपटक विश्वकपमा छनोट हुने प्रक्रियामा केही परिवर्तन गरिएको छ । छनोट प्रतियोगितामा जम्मा १० वटा टोलीले भाग लिनेछन् । छनोट खेल जित्ने टोली (पहिलो हुने) सिधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ ।
छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीहरूले ‘सुपर सिरिज’ नामको पहिलो चरण खेल्नुपर्नेछ । उक्त सिरिजको शीर्ष टोली मात्र मुख्य विश्वकपको अन्तिम १२ टोलीको समूहमा पर्न सफल हुनेछ । सन् २०२७ को मुख्य विश्वकप अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ ।
छनोट प्रतियोगितामा खेल्ने १० टोलीहरू यसरी छानिनेछन्ः
१. वरीयताका आधारमाः आईसीसीको एकदिवसीय वरीयतामा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्रहरू (दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक)।
२. लिग २ बाट ः विश्वकप लिग–२ का शीर्ष ४ टोलीहरू ।
३. प्लेअफबाट ः ‘क्वालिफायर प्लेअफ’ बाट आउने शीर्ष ४ टोलीहरू ।
दुई पटकको पूर्व विश्वविजेता वेस्ट इन्डिज अहिले १०औँ स्थानमा छ । यदि उसले आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा सुधार ग¥यो भने सिधै विश्वकप खेल्न पाउनेछ । नत्र, उसले फेरि सन् २०२३ मा जस्तै छनोट खेलहरू खेल्नुपर्नेछ । सन् २०२३ मा वेस्ट इन्डिज नेदरल्याण्ड्ससँग पराजित भएर विश्वकपमा छनोट हुन असफल भएको थियो ।
नेपाल पुग्न सक्ला विश्वकप छनोटमा ?
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त भइसकेको छ । नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्ड्ससँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा आइपुगेको हो ।
लिग–२ मा नेपालको निराशाजनक प्रदर्शन सन् २०२४ देखि सुरु भएको यो लिग–२ मा नेपालले हालसम्म ३२ खेल खेलिसकेको छ । जसमा नेपालले मात्र ११ खेलमा जित निकाल्दा १९ खेलमा हार व्यहोरेको छ भने २ खेल नतिजाविहीन बनेका छन् ।
कÒल २४ अंकसहित नेपाल तालिकाको छैटौँ स्थानमा छ । अब नेपालले ओमानमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ । जहाँ नेपाल, ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।
तर, गणितीय हिसाबले नेपालले बाँकी सबै ४ खेल जिते पनि र चौथो स्थानमा रहेको ओमानले आफ्ना सबै आठ खेल हारे पनि नेपाल शीर्ष चारमा उक्लिने सम्भावना ‘असम्भव’ जस्तै देखिएको छ । किनभने ओमानको ३१ अंक छ र उसले अझै ८ खेल खेल्न बाँकी छ ।
लिग–२ को शीर्ष चारमा पर्न नसके पनि नेपालको विश्वकप छनोट एउटा अन्तिम ढोका अझै खुला छ । त्यो हो— विश्वकप छनोट प्लेअफ ।
आइसिसीको नियम अनुसार लिग–२ को अन्त्यमा पुछारमा रहने चार टोली (जसमा नेपाल पर्ने निश्चित प्रायः छ) र च्यालेन्ज लिगबाट आउने उत्कृष्ट चार टोली गरी कुल ८ टोलीबीच प्लेअफ हुनेछ ।
यो प्लेअफ प्रतियोगितामा शीर्ष चारभित्र पर्न सकेमा मात्र नेपालको एकदिवसीय मान्यता अर्को चक्रका लागि कायम रहनेछ र नेपालले जिम्बावे वा अन्य देशमा हुने मुख्य विश्वकप छनोट खेल्न पाउनेछ ।
प्लेअफमा कस्ता टोली हुनेछन् ?
विश्वकप छनोट प्लेअफमा कÒल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ती टोलीहरू यस प्रकार हुनेछन् ।
१. लिग–२ का पुछारका चार टोलीः वर्तमान तालिका अनुसार यसमा नेपाल, नामिबिया, क्यानडा र युएई पर्ने सम्भावना बढी छ ।
२. च्यालेन्ज लिगका शीर्ष चार टोलीः च्यालेन्ज लिगबाट जर्सी, कुवेत, युगान्डा र इटालीले प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।
विश्वकप छनोट पुग्ने अन्तिम लक्ष्य यदि नेपालले यो ८ टोली सम्मिलित प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ४ मा स्थान बनाउन सफल भयो भने, नेपाल १० टोली सहभागी हुने ‘विश्वकप छनोट’ मा पुग्नेछ ।
सो मुख्य छनोट प्रतियोगितामा
लिग–२ का शीर्ष ४ टोली
प्लेअफका शीर्ष ४ टोली
र आइसिसी ओडिआई वरियताका ११औँ र १२औँ स्थानका टोलीहरू रहनेछन् ।
लिग–२ मा सोचेजस्तो प्रदर्शन हुन नसके पनि नेपालका लागि प्लेअफ एउटा यस्तो अवसर हो जहाँ गल्ती सच्याउँदै आफ्नो एकदिवसीय मान्यता जोगाउने लक्ष्यलाई जीवित राख्न सकिन्छ । यसका लागि नेपालले अब ओमान र क्यानडा विरुद्धका बाँकी खेललाई प्लेअफको तयारीको रूपमा लिनु आवश्यक देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्