काठमाडौँ ।
नेपाल भलिबल संघ (एनभीए)ले आर्थिक वर्ष २०८३–०८४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगितासहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । क्यालेन्डरअनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ (काभा) अन्तर्गतका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ ।
काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता अंकसहित) र काभा च्यालेन्ज कप (पुरुष) नेपालमा हुने तय भएको छ । यस्तै नेपालले २०औँ एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरेको छ । एसियाली खेलकुद जापानमा हुनेछ । राष्ट्रिय प्रतियोगिताअन्तर्गत ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ ।
१०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ भने प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ राष्ट्रिय भलिबल प्रतियोगिता, फ्रेन्चाइजअन्तर्गत एभरेस्ट महिला भलिबल लिग र पुरुषको नेपाल भलिबल लिग पनि क्यालेन्डरमा समावेश छन् ।
त्यस्तै यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा प्रशिक्षक (कोच) कोर्स, मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गर्ने कार्यक्रम पनि संघले सार्वजनिक गरेको छ । नेपालले आयोजना गर्ने काभा महिला च्याम्पियन्स लिग नोभेम्बर १ देखि ७ सम्म काठमाडौँमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्