महिला उद्यमशीलताको प्रतीक बन्यो ‘शान्ताको अचार’



शान्ता चौधरीको यात्रा केवल एउटा व्यवसायको सफलता होइन, यो संघर्षलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी कथा हो । एक समय अरूको घरमा काम गर्ने महिलाले आज आफ्नै ब्रान्डलाई विश्व बजारसम्म पु¥याएकी छन् । उनको सफलताले हजारौँ नेपाली महिला र युवा उद्यमीलाई सानो सुरुवातबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । आज शान्ताको अचार केवल एउटा खाद्य ब्रान्ड होइन, यो मेहनत, आत्मविश्वास, स्वदेशी उत्पादन र महिला उद्यमशीलताको प्रतीक बनेको छ ।

गणेश रावत । कोहलपुर ।

कहिलेकाहीँ जीवन बदल्न करोडौँको लगानी आवश्यक पर्दैन । आवश्यक पर्छ त केवल एउटा ठूलो सपना, आत्मविश्वास र निरन्तर मेहनत । त्यसैको उदाहरण हुन्, शान्ता चौधरी । एक समय अरूको घरमा काम गरेर जीवन धान्ने शान्ता आज नेपाली उद्यमशीलताको सफल उदाहरण बनेकी छन् । उनले एक हजार रुपैयाँबाट सुरु गरेको ‘शान्ताको अचार’ अहिले नेपालका प्रमुख सहरसँगै अस्ट्रेलिया, अमेरिका, युरोप, कतार लगायत अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । हाल यो ब्रान्डले बाँकेको कोहलपुरमा समेत आफ्नो शाखा विस्तार गरेको छ ।

शान्ताको जीवन संघर्षको अर्को नाम हो । बाल्यकाल आर्थिक अभावमै बित्यो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले सानैदेखि अरूको घरमा काम गर्नुप¥यो । जीवनका ती कठिन दिनहरू सहज थिएनन् । तर उनले कहिल्यै परिस्थितिसँग हार मानिनन् । बरु ती संघर्षले उनलाई अझ बलियो बनाउँदै लग्यो । उनले कठिनाइलाई कमजोरी होइन सफलताको आधार बनाइन् । समयसँगै उनी सामाजिक र राजनीतिक क्षेत्रमा पनि सक्रिय भइन् । तर उनले आफ्नो परिचय केवल राजनीतिमा सीमित राखिनन् आर्थिक आत्मनिर्भरता र महिलालाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरेको बताउँछिन् । त्यही निर्णयबाट जन्मियो शान्ताको अचार ।

उाले व्यवसाय सुरु गर्दा उनीसँग ठूलो पूँजी थिएन । केवल एक हजार रुपैयाँ लगानी गरेर सामान्य रूपमा अचार उत्पादन गर्न थालेकी थिइन् । सुरुमा उत्पादन सीमित थियो, बजार पनि सानो थियो । तर उनले गुणस्तरमा कहिल्यै सम्झौता गरिनन् । परम्परागत नेपाली स्वाद, घरेलु मसला र स्वच्छ उत्पादन प्रक्रियाले ग्राहकको विश्वास जित्दै गएको उनको भनाइ छ । बिस्तारै प्रचार हुन थालेपछि व्यवसायले गति लिन थाल्यो । आज शान्ताको अचार नेपाली बजारको परिचित ब्रान्ड बनिसकेको छ ।

उनका अनुसार अहिले एक दर्जन बढी प्रकारका शाकाहारी र मांसाहारी अचार उत्पादन हुँदै आएका छन् । उनका उत्पादनहरू नेपालका प्रमुख सुपरमार्केटमा उपलब्ध छन् भने विदेशमा रहेका नेपाली समुदायबाट समेत उच्च माग आउने गरेको छ । अस्ट्रेलिया, अमेरिका, युरोप, कतारलगायत विभिन्न देशमा नियमित रूपमा अचार निर्यात भइरहेको उनी बताउँछिन् । तर शान्ताको सपना केवल व्यापार विस्तारमा सीमित छैन । उनी महिलालाई आर्थिक रूपमा सक्षम बनाउने अभियानमा पनि सक्रिय छिन् । उद्योगमा धेरै महिलाले अचार उत्पादन, प्याकेजिङ, लेबलिङ तथा अन्य विभिन्न काममार्फत रोजगारी पाएका छन् । महिलाले आफ्नै कमाइबाट आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले उनले उद्योग विस्तार गरिरहेकी छन् ।

भविष्यमा हजारौँ महिलालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनी बताउँछिन् । देशभर शाखा विस्तार गर्ने योजनाअन्तर्गत हालै बाँकेको कोहलपुरमा पनि शान्ताको अचारको शाखा सञ्चालनमा आएको छ । यसले स्थानीय उपभोक्तालाई गुणस्तरीय नेपाली अचार सहज रूपमा उपलब्ध गराउने मात्र होइन, स्थानीयस्तरमै रोजगारी र व्यवसायिक अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ । शान्ता चौधरीको यात्रा केवल एउटा व्यवसायको सफलता होइन, यो संघर्षलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी कथा हो ।

एक समय अरूको घरमा काम गर्ने महिलाले आज आफ्नै ब्रान्डलाई विश्व बजारसम्म पु¥याएकी छन् । उनको सफलताले हजारौँ नेपाली महिला र युवा उद्यमीलाई सानो सुरुवातबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । आज शान्ताको अचार केवल एउटा खाद्य ब्रान्ड होइन, यो मेहनत, आत्मविश्वास, स्वदेशी उत्पादन र महिला उद्यमशीलताको प्रतीक बनेको छ । चौधरीले २०८० साल माघ महिनादेखि दाङको घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत् दर्ता गरेर यो अचार उद्योग सञ्चालनमा ल्याएकी थिइन् ।

को हुन् शान्ता चौधरी ?

शान्ता चौधरीको जन्म २०३७ सालमा दाङको डाँडागाउँमा कमैया परिवारमा भएको हो । उनले आठ वर्षको उमेरदेखि कमलरीको रुपमा स्थानीय जिमिन्दारको घरमा काम गर्न थालिन् । अठार वर्षसम्म स्थानीय सात जना जमिनदारहरुको घरमा कमलरी बसेर उनी २०६३ सालमा मुक्त भइन् । सरकारले २०५७ सालमा कमैया प्रथाको विधिवत अन्त गरे पनि गाँस, बास र कपासको जोहो गर्ने व्यवस्था नहुँदा थप पाँच वर्ष उनले कमलरी बस्नुप¥यो । कमलरीबाट मुक्त भएपछि ज्याला मजदूरी गरी जीवन निर्वाह गर्न थालिन् ।

कमलरी रहँदै शान्ता चौधरीले कमैया, सुकुम्बासी,भूमिहीन, हरुवा—चरुवाका हकहितका लागि आन्दोलनरत रहिन् र नेतृत्व तहमा पनि पुगिन् । यही वर्गीय मुक्ति अभियान र जनआन्दोलन २०६२÷०६३ को क्रममा उनी नेपालका ठूला राजनैतिक दलहरुको सम्पर्कमा पनि आइन् । यसै पृष्ठभूमिमा उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् (संसद) पनि बनिन् ।बाल्यकालमा शिक्षाको अवसरको कल्पनामात्र गर्नसक्ने अवस्थामा रहेकी शान्ता सभासद् बन्दासम्म निरक्षर थिइन् । उनी सभासद् बनेपछि आफ्ना छोरासँग लेखपढ, सहयोगीबाट कम्प्युटर र चालकबाट ड्राइभिङ सिकिन् ।

त्यही शिक्षाको सार, अनुभवको भर र दृढ ईच्छाशक्तिको आडमा शान्ताले संसदको प्राकृतिक स्रोत तथा साधन समितिको सभापति र संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक, राजस्व बाँडफाँट समितिको सदस्य पदको जिम्मेवारी समेत निर्वाह गरिन् । उनले संविधानसभावको अवसानपछि ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तक लेखिन् । यो पुस्तकमा उनले १८ वर्ष कमलरी बस्दा भोगेका दुःख, पीडा, संघर्ष, विवाह, राजनीतिक यात्रादेखि सभासद्सम्मको कथाका बारेमा लेखेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार