नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । तथ्यांकअनुुसार मानसिक स्वास्थ्य समस्याका कारण आर्थिक वर्ष २०८२–८३ मा मात्रै प्रदेशभर ३०२ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको उक्त तथ्यांकले मानसिक स्वास्थ्य समस्या व्यक्तिगत विषय नभई सार्वजनिक स्वास्थ्य र सामाजिक संकटको रूपमा औँल्याएको छ ।
आत्महत्या गर्नेहरुमध्ये १५० पुरुष, ८१ महिला, ३२ बालक र ३९ बालिका रहेका छन् । वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपाय’ विषयक पत्रकार अन्तरक्रियामा प्रस्तुत तथ्यले मानसिक स्वास्थ्य सेवा अझै पनि पहुँचभन्दा टाढा रहेको स्पष्ट पारेको हो । प्रस्तुत विवरणअनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै २७२ जना रहेको छ । त्यसमध्ये १३४ पुरुष, ६९ महिला, ३० बालक र ३९ बालिका रहेका छन् ।
त्यसैगरी विष सेवनबाट २८ जनाले आत्महत्या गरेका छन्, जसमा १६ पुरुष, ११ महिला र एक बालक छन् । हाम फालेर आत्महत्या गर्ने दुई जना रहेको तथ्यांकमा उल्लेख छ । विशेषगरी पुरुषमा आत्महत्याको दर महिलाको तुलनामा निकै बढी देखिएको छ । यसले आर्थिक दबाब, बेरोजगारी, पारिवारिक तनाव, वैदेशिक रोजगारीको असफलता, लागूऔषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता कारणहरू थप अध्ययनको विषय बनेका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह प्राथमिकता दिनुपर्ने बताइन् । मानसिक रोगप्रति समाजमा अझै रहेको विभेद र गलत सोचका कारण धेरै व्यक्ति उपचारको पहुँचमा पुग्न नसकेको उनले उल्लेख गरिन् । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख वीर्षबहादुर शाहीले प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए ।
सरकारी निकाय, स्वास्थ्य संस्था, स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा समुदायमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव र सेवा सीमित हुनु अहिलेका प्रमुख चुनौती हुन् ।
स्वास्थ्य सेवा निर्देशनालयकी मनोविद् लक्ष्मी तामाङले कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताइन् । समयमै पहिचान, मनोसामाजिक परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् । मनोरोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक रोगलाई लुकाएर राख्नु नै सबैभन्दा ठूलो समस्या भएको बताए । मानसिक स्वास्थ्य समस्या पनि अन्य रोगसरह उपचारयोग्य भएकाले लक्षण देखिनासाथ विशेषज्ञसँग परामर्श लिन उनले आग्रह गरे ।
उपचारमा ढिलाइ हुँदा आत्महत्यासम्म पुग्ने जोखिम बढ्न सक्ने भन्दै मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी, दक्ष जनशक्ति उत्पादन र समुदायस्तरको जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसी र सुर्खेत शाखाका अध्यक्ष मधुवन विसीले मानसिक स्वास्थ्यका विषयलाई सञ्चारमाध्यमले अझ जिम्मेवारीपूर्वक उठान गर्ने धारणा व्यक्त गरे ।
उनीहरूले मानसिक रोगप्रतिको भ्रम, लाञ्छना र विभेद हटाउन तथ्यमा आधारित समाचार र जनचेतनामूलक सामग्रीको भूमिका महत्वपूर्ण हुने बताए । सहभागीहरूले मानसिक स्वास्थ्यलाई अब व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र विकाससँग जोडिएको गम्भीर मुद्दाका रूपमा लिनुपर्ने बताएका थिए । कर्णालीमा मानसिक स्वास्थ्य सेवाको पहुँच, समयमै परामर्श र सामाजिक समर्थन प्रणाली सुदृढ गर्न ढिलाइ गर्न नहुने मनोविद पूूर्ण रावत बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्