शुभाकर विश्वकर्मा
कोहलपुर ‐बाँके) : बाँकेको कोहलपुर नगरपालिका २–स्थित तेह्र बिगाहा मैदानलाई अत्याधुनिक सुविधासहितको फुटबल रंगशालामा परिणत गरिने भएको छ । कोहलपुर नगरपालिकाको अगुवाइमा तेह्र बिगाहा मैदानलाई पश्चिम क्षेत्रकै स्तरीय आधुनिक फुटबल रंगशाला निर्माण हुने भएको हो । अत्याधुनिक संरचनासहित फुटबल रंगशाला निर्माणका लागि नगरपालिकाले डीपीआरसमेत तयार गरिसकेको छ । कोहलपुर नगरपालिकाले ब्रिक कन्सल्टेन्ट प्रालिसँग मिलेर तयार गरेको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार फुटबल रंगशाला निर्माणका लागि २२ करोड लागत लाग्नेछ । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न कूल २२ करोड ७५ लाख ५४ हजार २ सय ७२ रुपैयाँ २३ पैसा लागत लाग्ने डीपीआरमा उल्लेख छ ।
उक्त रकम लगानीमा रंगशालामा चारैतर्फ सुविधासम्पन्न प्याराफिट, वाउन्डिङ वाल, होस्टेल ब्लक, चौशालय, पार्किङ स्थल लगायतका संरचना निर्माण हुनेछन् । कोहलपुरको गौरवको आयोजनाको रुपमा हेरिएको रंगशालाको काम प्रारम्भ भएको नगरपालिकाले जनाएको छ । स्तरीय र आधुनिक रंगाशाला निर्माणको शुभारम्भ स्वरुपमा पहिलो चरणमा प्याराफिट निर्माणका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको छ । फुटबल रंगशाला निर्माणका लागि तेह्र बिगाहा मैदानमा प्याराफिट निर्माण गर्न ७ करोड ३६ लाखको बोलपत्र आह्वान गरिएको हो । नगरपालिकाले औपचारिक रुपमै पहिलोपटक ३० दिने बोलपत्र आह्वान गरेसँगै फुटबल रंगशाला निर्माणको प्रक्रियासमेत सुरु भएको छ ।
कोहलपुरको गौरवको आयोजना मात्रै नभई पश्चिम क्षेत्रको मुख्य चिनारीको रुपमा विकास गर्नको लागि पहिलो चरणमा पश्चिमतर्फको प्याराफिट निर्माणका लागि ठेक्का आह्वान गरिएको कोहलपुर–२ का वडा अध्यक्ष हरी कठायतले बताए । उनका अनुसार हाल खुल्ला मैदानमा रहेको तेह्र बिगाहालाई फुटबल मैदानको रुपमा विकास गर्नको लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको हो । उनले भने, ‘कोहलपुर तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट हो । स्थानीय सरकारले खेलाडी उत्पादनका लागि खेल क्षेत्रमा लगानी गरिरहेको छ । हामी मोफसलमै ठूलो धनराशिको मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन गरिरहेका छौँ । अब भने सिंगो पश्चिम क्षेत्रलाई मध्येनजर गरेर फुटबल रंगशाला निर्माण गर्र्ने कामको सुरुवात भएको छ ।’
उनले पहिलोचरणमा नगरपालिकाले आफ्नै लगानीमा रंगशाला निर्माणको काम सुरु गरेको जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा कोहलपुरमा रंगशाला निर्माणका लागि संघीय सरकारसँगसमेत समन्वय गरिएको बताए । वडा अध्यक्ष कठायतले वडा नम्बर २ मा फुटबल रंगशाला निर्माण गर्न र आवश्यक बजेट विनियोजनको लागि संघीय सरकारका खेलकूद मन्त्री तेजुलाल चौधरीलाई भेटेरै सहयोगको लागि अपील गरिएको जानकारी दिए ।
‘फुटबल मैदान बनाउन नगरपालिकाको नेतृत्व नै लागिरहेको छ । वडा नम्बर २ मा रंगशाला निर्माण हुने भएकोले वडाको तर्फबाट पनि हामीले प्रयास गरिरहेका छौँ । मेरै नेतृत्वमा मन्त्री ज्यूलाई भेटेका छौँ । उहाँले आगामी आवको बजेटमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,’ मिसन टुडेसँग कुराकानी गर्दै वडा अध्यक्ष कठायतले भने ।
रंगशाला निर्माणको लागि तीन वटै तहका सरकारको समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । संघीय सरकारसँग पहल गरिरहेको र कोहलपुरमा रंगशाला निर्माणको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ । ‘प्याराफिटको लागि स्थानीय सरकारले ठेक्का आह्वान गरेको छ । संघीय सरकारसँग पहल गरेका छौँ । बजेट निर्माणको चरणमा सुरु भएकोले प्रदेश सरकारलाई पनि अनुरोध गर्नेछौँ,’ वडा अध्यक्ष कठायत भन्छन् ।
कोहलपुर नगरपालिकाका इन्जिनियर प्रविन बस्नेत कोहलपुर फुटबल रंगशाला निर्माणका लागि डीपीआर तयार भइ निर्माणको प्रारम्भिक काम सुरु भएको बताउँछन् । उनका अनुसार नगरपालिकाले रंगशालामा संरचना निर्माणको लागि पहिलोपटक पश्चिम क्षेत्रतर्फको प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।
‘फुटबल मैदानमा सुविधासम्पन्न चार वटा प्याराफिट निर्माण हुनेछन् । बोलपत्र आह्वान भएको छ । न्यूनतम् आधारभूत संरचना निर्माणको लागि प्रक्रिया सुरु भएको हो । बजेटको व्यवस्था गर्न सकियो भने रंगशाला निर्माण गर्न धेरै समय लाग्ने देखिँदैन,’ इन्जिनियर बस्नेतले भने ।
कोहलपुरमा पश्चिम क्षेत्रकै एकमात्र मुख्यमन्त्री कोहलपुर गोल्डकप हरेक वर्ष यसै मैदानमा सञ्चालन हुँदै आएको छ । गोल्डकपको तेस्रो संस्करण भर्खरै सम्पन्न भएको छ । यस प्रतियोगिताले कोहलपुरमा खेलाडी उत्पादन मात्रै होइन खेलकूदको माहोल नै सिर्जना गरिदिएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगितालाई कोहलपुर नगरपालिकाले समेत स्वामित्व लिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्