दक्ष जनशक्तिको अभाव झेल्दै व्यवसायी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा करिब दुई दशकदेखि सञ्चालनमा रहेको लुम्बिनी गार्मेन्ट अहिले दक्ष कामदारको खोजीमा छ । सञ्चालक कस्मिरा खातुनले फेसबुकमार्फत पटक–पटक कामदारको माग गरे पनि उपयुक्त जनशक्ति नपाएको बताउँछिन् । खातुनका अनुसार अधिकांश आवेदकसँग परम्परागत सिलाइ मेसिन चलाउने सीप भए पनि अहिले प्रयोग हुने विद्युतीय सिलाइ मेसिन सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ ।

‘हामीलाई इलेक्ट्रोनिक मेसिन चलाउने जनशक्तिको खाँचो छ । तर कामको लागि भनेर आउनेहरू पैदलवाला मेसिन मात्रै आउँछ भन्छन् । इलेक्ट्रिोनिक मेसिन चलाउने सीप भएका दक्ष कामदार नपाउँदा समस्या छ ।’ यस्तै समस्या नेपालगन्जस्थित फेसन बुटिकको ब्राण्डउन्मुख भिभा बुटिकले पनि भोगिरहेको सञ्चालक भिभा केसी बताउँछिन् । केसीले युवाहरू काम नपाएर विदेसिइरहने तर यहीँ भएका कामका लागि दक्षता भएका कामदाहरू पाउन नसकिने अवस्था रहेको उल्लेख गर्दै भनिन्, ‘अहिलेको जति पनि युवाहरू हुनुहुन्छ, उहाँहरू विदेश विदेश मात्रै भनिरहनुभएको छ । तर हामी भनेको टाइममा कामदारहरू पाउँदैनौँ । दक्ष कादारको अभाव सधैँ भइरहन्छ ।’

खातुन आफ्नै उद्योगमा काम गर्नेहरूले न्यूनतम १५ हजारदेखि एक लाखसम्म पारिश्रमिक पाइरहेको बताउँछिन् । तर पनि दक्ष कामदारहरू नै नपाउनुको कारण सरकारले सञ्चालन गर्ने सीपमूलक तालिम पनि समयअनुकूल नहुनु र प्राविधिक शिक्षा बजारमुखी नहुनु कारण रहेको बताउँछिन् । ‘हामीलाई चाहिएको छ इलेक्ट्रिोनिक मेसिन चलाउने कामदार । प्रविधि पनि विकास भइसकेको छ । तर अहिले पनि सिलाइकटाइ तालिम दिँदा खुट्टाले चलाउने मेसिनकै दिइने गरिन्छ । अब बजारको मागलाई ध्यानमा राखेर तालिम दिनु आवश्यक छ,’ उनले भनिन् ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरू पनि दक्ष जनशक्तिको अभाव सधैँ भइरहने गरेको बताउँछन् । नेपालगन्ज औद्योगिक क्षेत्रका विद्युतीय उपकरणसम्बन्धी उत्पादन गर्ने उद्योगका एक उद्योगी अब्दुल वाहिद अन्सारी प्राविधिक शिक्षा लिएर आउने जनशक्तिमा सर्टिफिकेट भए पनि सीप नहुने समस्या रहेको बताउँछन् ।औद्योगिक क्षेत्रकै जग्गामा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभीटी अन्तर्गतको भेरी प्राविधिक शिक्षालय रहेको छ । त्यहाँबाट उत्तीर्ण भएर आउने जनशक्तिमा सीप नै नहुँदा काममा राख्न उद्योगीहरू हिचकिचाउने गरेका उनले बताए ।

‘मैले नै पनि आफ्नो उद्योगमा भेरी प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई ओजेटी र इन्टर्नसीप गराएको छु । तर उनीहरूमा विद्यालयमा सिकाइ कम हुने र उद्योगमै सबै कुरा सिकाउनुपर्ने हुँदा झन्झट हुन्छ ।’ सिटिइभिटीले अहिले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल, रेफ्रिजरेशन र एसी, सिभिल, फार्मेसी, अटोमोबाइल, रेडियोग्राफी, कम्प्युटर अप्लिकेशन र सेक्रेटरियलसम्बन्धी विषयमा कोर्सहरू सञ्चालन गरिरहेको छ । उद्योगीहरू भने औद्योगिक क्षेत्रभित्रै रहेको भेरी प्राविधिक शिक्षालयले आफूहरूसँग दक्ष जनशक्ति र बजारको मागबारे छलफल र अन्तक्र्रिया नै नगर्ने गरेको बताउँछन् ।

नेपालगन्ज औद्यागिक क्षेत्र उद्योग विकास संघका अध्यक्षसमेत रहेका अन्सारीले अहिलेसम्म शिक्षालयबाट उद्योगीहरूलाई चाहिएका जनशक्तिबारे अन्तक्र्रिया वा छलफल गरेको जानकारीमा नरहेको बताए । ‘खाली इन्टर्नशीप र ओजेटीका लागि विद्यार्थी पठाइन्छन् । तर हामीलाई कस्तो जनशक्ति चाहिएको छ । त्यसका लागि कस्तो तालिमहरू आवश्यक छ भन्ने बारेमा अहिलेसम्म छलफल भएको मेरो जानकारीमा छैन,’ अन्सारीले भने ।

भेरी प्राविधिक शिक्षालयका प्रिन्सिपल उपेन्द्र पोखरेल पनि बजारको माग र प्राविधिक शैक्षिक कार्यक्रमहरूबीचमा कतै न कतै दूरी रहेको बताउँछन् । यद्यपि शिक्षालयका विद्यार्थीहरूले अन्य निजी प्राविधिक शिक्षालयको भन्दा राम्रो स्रोतसाधनसहित अध्ययन गर्न पाउने सुविधा भने रहेको बताए । तर, एसइईमा अधिकांश न्यून अंकसहित उत्तीर्ण विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा लिन पाउने भएका कारण बजारमा राम्रो प्रभाव नरहेको हुनसक्ने उनको भनाइ छ ।

यद्यपि उद्योगीहरूसँग छलफल तथा अन्तक्र्रिया एवं बजारको आवश्यकताबारे अध्ययन जरुरी रहेको उनले बताए । पोखरेलले भने, ‘बजारको माग कस्तो हो ? र हामीले कस्तो सीप तथा तालिमहरू दिन आवश्यक छ भन्ने बारेमा अध्ययन हुन जरुरी छ । यस विषयमा उद्योगीहरूसँग छलफल तथा अन्तक्र्रियाको आवश्यकता मैले पनि महसुस गरेको छु ।’ सिटिइभीटीले सञ्चालन गर्ने गरेका छोटो अवधिका तालिमहरू पनि अहिले कटौती भएका पोखरेलको भनाइ छ ।

संघीयतापछि छोटो अवधिका तालिमका लागि अन्य सरकारी निकायअन्तर्गत बजेट विनियोजन हुने र ती निकायसँग सम्झौता गरी सिटिइभिटीले तालिम दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । छोटो अवधिको तालिमले पनि बजारको आवश्यकतालाई सम्बोधन गर्नसक्ने हुँदा त्यस्ता तालिममा कस्तो सीपलाई प्राथमिकता दिने भन्ने बारेमा अध्ययन हुनुपर्ने पोखरेल बताउँछन् । उद्योगी खातुन विभिन्न तहका सरकारहरूले दिने सीपमूलक तालिमहरू पनि उद्योगी व्यवसायीको आवश्यकतामा आधारित हुनुपर्ने बताउँछिन् ।

‘उद्योगमा अर्कै प्रविधिको प्रयोग भएर काम भइरहेको हुन्छ । तालिम भने पुरानै प्रविधिमा आधारित हुन्छन् । जसले तालिमबाट अपेक्षित परिणाम प्राप्त हुँदैन,’ खातुनले भनिन् । बाँकेका अधिकांश उद्योगमा नेपालीभन्दा भारतीय कामदारहरू रहेका छन् । त्यसो हुनुका पछाडि पनि नेपाली कामदारहरूसँग प्राविधिक दक्षता नहुनु नै कारण रहेको उद्योगीहरूको तर्क हुन्छ । सरकारी स्तरबाट उद्योगहरूमा कस्ता कामदार छन् र उनीहरूको पूर्ति कसरी भइरहेको छ भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन भएको छैन ।

श्रम तथा रोजगार कार्यालय नेपालगन्जका सूचना अधिकारी यज्ञबहादुर रानाले अनुगमनमा जाँदा कतिपय उद्योगमा भारतीय कामदारहरू पनि भेटिने गरेको बताउँदै कामदारहरूकै बारेमा तथ्यांक दिनसक्ने अध्ययन हालसम्म नभएको बताए । अहिले स्थानीय तहका वडादेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका साथै सिटिइभिटीले प्राविधिक सीपयुक्त तालिमहरू दिने गरेका छन् । तर यस्ता तालिमको प्रभावकारिता उद्योगहरूले लक्ष जनशक्ति पाएमा वा तालिम पाएकाहरू स्वरोजगार भएमा मात्रै प्रमाणित हुने उद्योगी अन्सारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार