सुरुङमार्ग साढे तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी सम्झौता भएकोमा कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायतका कारण निर्माण कार्यमा ढिलाइ भयो र झण्डै दोब्बर समय अर्थात् करिब ७ वर्ष लागेर सम्पन्न भयो । सुरुमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ थप ऋण सहायता उपलब्ध गराएको थियो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालमा निर्माण भएको दोस्रो माननिर्मित सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला (नौबिसे) सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब एक सय आठ वर्षअघि निर्माण भएको र हाल प्रयोगविहीन अवस्थामा रहेको हेटौँडादेखि अमलेखगन्ज सुरुङमार्गपछि निर्माण भएर सवारीसाधन गुड्न मिल्ने दोस्रो सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको सडक यातायातमा नयाँ अध्याय थपिएको छ । नेपाल सरकारले अब देश सुरुङमार्गको युगमा प्रवेश गरेको भनेको छ ।
सरकारले नीतिगत पहल सुरु गरेको १५ वर्षपछि र निर्माणको शिलान्यास भएको ७ वर्षमा २ दशमलव ६८ किलोमिटर लामो सुरुङमार्ग सञ्चालनमा आएको हो । २८ अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको उक्त सुरुङमार्गको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सोमबार उद्घाटन गरे । सो अवसरमा दातृ देश जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोसमेत उपस्थित रहे । सुरूङमार्ग निर्माणका लागि जापान सरकारले झन्डै २२ अर्ब रूपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिएको छ भने नेपाल सरकारले ६ अर्ब रूपैयाँ बराबरको लगानी गरेको छ ।
सुरुङर्मामा तीन महिनाको परीक्षणकालमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइने सुरुङमार्ग आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले जानकारी दिएका छन् । तीन महिनापछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने उनले बताएका छन् । तर, सुरुङमार्गबाट पैदलयात्री, दुईपाँग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रयोग गर्न अनुमति नहुने उनले जानकारी दिएका छन् ।
उक्त सुरुङमार्गका एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईवटा सुरूङहरु रहेका छन् । रेस्क्यु सुरूङको लम्बाइ २ दशमलव ५५ किलोमिटर रहेको छ भने साढे चार मिटर चौडाइ रहेको छ । आकस्मिक अवस्थामा रेस्क्यु सुरूङबाट दमकल, एम्बुलेन्स जस्ता साधन प्रवेश गरी उद्धारको काम गर्न सक्छन् । जसका लागि मुख्य सुरूङ र रेस्क्यु सुरूङलाई जोड्न विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ । यसका साथै सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार टिम, सिसिटिभी क्यामरा, सञ्चार र सुरक्षा संयन्त्र तैनाथ गरिएको छ ।
सुरूङमार्गले काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोलाबीच अहिले रहेको सडक मार्गको दूरीलाई करिब ३ किलोमिटरले घटाउनेछ । हाल बलम्बुदेखि सिस्नेखोलासम्म सडकको दूरी ८ किलोमिटर रहेकोमा सुरुङमार्गले उक्त दूरीलाई सिस्नेखोला–बलम्बु दूरी करिब पाँच किलोमिटरमा झारेको छ । यसैगरी सुरूङमार्ग हुँदै काठमाडौँतर्फ आउँदा ३३ मिनेट र काठमाडौँबाहिर जाँदा २३ मिनेट समय बचत हुने अनुमान गरिएको छ ।
दूरीका हिसाबले सुरूङमार्ग र अहिलेकै सडकबीच समान्य अवस्थामा त्यति धेरै फरक नदेखिए पनि उच्च सवारी चापले सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारीसाधन जाम हुने समस्या सुरूङमार्ग सञ्चालनपछि हट्ने विश्वास गरिएको छ । सुरुङमार्ग प्रयोगका लागि काठमाडौँ भित्रिँदा कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ भने मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ट्रकका लागि भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्दा हेभी ट्रकले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
१५ वर्षपछि साकार भयो सुरुङमार्गको योजना
२०६८–६९ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण कार्य यथाशीध्र सुरु गर्ने उल्लेख थियो । त्यसबेला प्रधानमन्त्री थिए झलनाथ खनाल । आर्थिक २०६४–६५ बाट सुरु भएको काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पर्ने यो सुरुङमार्गको नाम सरकारको बजेटमा परेको पहिलोपटक थियो । तत्कालीन अर्थमन्त्री अधिकारीले बजेटमा यथाशीघ्र सुरु गर्ने भनिको उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत ढाँचा भने २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री भएका बेला तयार भयो ।
त्यसपछि उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारसँग सहुलियतपूर्ण ऋण सम्झौता भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला २०७३ सालमा सम्पन्न भयो । लगानीको लागि सम्झौता भएको लामो समयसम्म पनि उक्त सुरुङमार्गको निर्माण कार्य भने अघि बढेन । २०७६ सालमा केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला जापानी कम्पनी हाज्मा एन्दो कर्पाेरेशनसँग निर्माणको सम्झौता भयो र ओलीले नै सुरुङमार्ग निर्माणको शिलान्याश गर्ने अवसर पाए ।
सुरुङमार्ग साढे तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी सम्झौता भएकोमा कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायतका कारण निर्माण कार्यमा ढिलाइ भयो र झण्डै दोब्बर समय अर्थात् करिब ७ वर्ष लागेर सम्पन्न भयो । सुरुमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ थप ऋण सहायता उपलब्ध गराएको थियो । यसबेला प्रधानमन्त्रीमा रहेका बालेन्द्र शाहको मन्त्रीमण्डलका पूर्वाधार विकासमन्त्री रहेका सुनिल लम्सालले सुरुङमार्ग उद्घाटन गर्ने अवसर पाएका छन् ।
सुरुङमार्ग उद्घाटनपछि कसले के भने ?
सुरुङमार्ग उद्घाटनपश्चात नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताए । उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । मन्त्री लम्सालले काठमाडौँ–नौबिसे सडकखण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र त्यस मार्गमा पर्याप्त सवारी चाप हुने अवस्था रहेकोले सुरुङमार्ग जरुरी रहेको बताए ।
यसैगरी, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताए । कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताउँदै सिग्देलले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने उदाहरण पनि प्रस्तुत भएको बताए ।
सचिव सिग्देलले सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरे । सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको भन्दै उनदे प्रशंसा पनि गरे ।
सचिव सिग्देलले नागढुंगा पास लामो समयदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भए पनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गरे । सुरुङमार्ग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापानमैत्री सम्बन्धको कसिलो कडी भएको बताए ।
नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्व राखेको राजदूत तोरुको भनाइ थियो ।
सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको बताउँदै उनले यसबाट राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने पनि बताए । उनले वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उल्लेख गरे ।
जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उनको भनाइ छ । यसैगरी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले सुरुङमार्ग आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरे ।
हिमालय क्षेत्रको कठिन भू–गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले बताए । यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए । जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष अकिहिकोको भनाइ छ । उनले जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
शताब्दीअघि नै बनेको एशियाकै पहिलो सुरुङमार्ग
‘हाम्रा राजा क्या अक्कलदारी
ल्याए मोटर चुरेमा भ्वाङ पारी’
यो गीतको टुक्का करिब एक सय ८ वर्षअघि निर्माण गरिएको मकवानपुर र बारा जोड्ने सुरुङमार्ग चुरिया सुरुङमार्ग निर्माण भए पनि स्थानीय नागरिकहरुले बनाएको गीतको हो । उक्त सुरुङमार्ग नै नेपालको पहिलो सुरुङमार्ग हो । करिब सात सय मिटर लम्बाइ र ९ फिट चौडाइ तथा १० फिट उचाइ रहेको उक्त सुरुङमार्ग अहिले पनि प्रयोगविहीन अवस्थामा छ । इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले विसं १९७५ सालमा डिजाइन गरेको उक्त सुरुङमार्ग तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा बनाइएको थियो ।
नेपाली सेनालाई हटाइएर बनाइएको उक्त सुरुङमार्ग लहरी (एकप्रकारको मालबाहक सवारीसाधन) छिर्ने आकारमा निर्माण गरिएको थियो ।स्वीस भूगर्भविद् डा. टोनी हेगनले नेपालमा सुरुङमार्ग देख्दा आफू आश्चर्यमा परेको द हिमालयन किङ्डम अफ नेपाल पुस्तकमा उल्लेख गरेका छन् भने उनले यो एशियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको पनि उनले लेखेका छन् । राणाका गाडीलाई चुरे पहाड छिचोल्न र काठमाडौँको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ चुरेफेदस्थित सुरु हुने सुरुङबाट २०१६ सालसम्म गाडी आवतजावत गर्ने गरेका थिए । त्रिभुवन राजपथ बन्न थालेपछि गाडी गुड्न बन्द भएको र माओवादी द्वन्द्व सुरू भएपछि २०५२ सालबाट मान्छे हिँड्न पनि रोकिएको उक्त सुरुङलाई बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले उक्त सुरुङलाई ऐतिहासिक महत्वस्थलका रूपमा संरक्षण गर्ने योजना अघि बढाइरहेका छन् । १९९० र २०७२ सालको भूकम्पबाट पनि खासै क्षति नपुगेको उक्त सुरुङ त्रिभुवन राजपथ बनाउँदा सुरुङको बीचमा धसिएको एक ठाउँबाहेक करिब ९० प्रतिशत भाग प्रयोग गर्न सकिने अवस्थामा छ ।
इन्जिनियर थापाले काठमाडौँ—हेटौँडा रोपवे, सप्तरीको चन्द्र नहर, विसं १९९० को भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौँ डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका इतिहाससम्बन्धी विभिन्न आलेखहरुमा उल्लेख छ ।
विश्वको इतिहासमा भने इसापूर्व ३६ मै इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङ बनेको पाइन्छ ।
त्यसपछि पानीमुनि पहिलो सुरुङ सन् १८४३ मा बनेको बेलायतको थेम्सलाई मानिन्छ । यसैगरी, हिमाली पहिलो सुरुङ फ्रान्सको मोडेन र इटालीको बार्डोनेचियालाई जोड्ने माउन्ट सेनिस सुरुङलाई मानिन्छ भने १९२७ मा बनेको संयुक्त राज्य अमेरिकाको हल्यान्ड सुरुङलाई पहिलो आधुनिक सुरुङ मानिन्छ । हल्यान्ड सुरुङ पेट्रोल÷डिजेलबाट चल्ने मोटर गाडीका लागि विशेष रूपमा डिजाइन गरिएको थियो । जमा भेन्टिलेसन पंखा, धुवाँ निकाल्ने पर्याप्त प्रणाली, विद्युतीय बत्तीहरू र ट्राफिक सिग्नलहरू जडान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्