नेपालगन्ज (बाँके) ।
एम्स वन ग्लोबल माइलअन्तर्गत शनिबार भएको कोहलपुर माइल (१.६ किमि) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् । उदाउँदो सहर कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आबद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुलस्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए ।
स्कुलस्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो एन्जल सुनार चौथो भए । कोहलपुर खुला मैदानदेखि सुरु भई नेपालगन्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुला मैदानमै सम्पन्न भएको किड्स रन गल्र्स (८ देखि १२ वर्ष उमेर समूह)तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ वर्ष)सम्म समूहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए ।
विजयी खेलाडीलाई नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार तथा ट्रफीले पुरस्कृत गरियो । कोहलपुर माइलमा सहभागी करिब अढाई सय जना सबैलाई पदक र प्रमाणपत्र प्रदान गरियो । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले सम्पूर्ण विजेतालाई पुरस्कृत गरेका थिए । अमेरिकाको न्युयोर्कस्थि ह्युडसन माइलको विस्तारित रुप नै वन ग्लोबल माइल हो ।
‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’ आयोजना गरिएको हो । विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले वन ग्लोबल माइल विश्वभर प्रवद्र्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रुपमा लिइन्छ । अन्य देशमा एक सहरमा आयोजना भए पनि नेपालमा मात्र दुई सहर कोहलपुर र काठमाडौँमा काठमाडौँ माइल आयोजना भएको हो ।
नगरप्रमुख आचार्यले पनि पूरा गरे माइल
कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले एक माइल दौड पूरा गरेका छन् । स्कुले विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख आचार्यले कोहलपुर माइलको निर्धारित दूरी पूरा गरेका हुन् । नगरप्रमुख आचार्यसँगै धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, बाँके जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष गगन थापालगायतले एक माइल दौड पूरा गरे ।
पुरस्कार वितरण गर्दै नगरप्रमुख आचार्यले कोहलपुर माइल आयोजनाका लागि वन ग्लोबल माइलप्रति आभार प्रकट गर्दै यसलाई बृहत् बनाउन नगरपालिकाले वार्षिक क्यालेन्डरमा समावेश गर्दै उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । सुरक्षा र ट्राफिक व्यवस्थापनमा सघाएकोमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले धन्यवाद व्यक्त गरे ।
काठमाडौँ माइल सम्पन्न
एम्स ग्लोबल माइलअन्तर्गत काठमाडौँ माइल पनि शनिबार सम्पन्न भएको छ । नक्साल नारायणचौरदेखि सुरु भई दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौँ माइलमा सहभागी सम्पूर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो । काठमाडौँ माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ । साथै, ग्लोबल अभियानअन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्व हरेक सहभागीले अनुभुति गरेको डाइरेक्टर थापाले बताए ।
अर्को वर्ष काठमाडौँ माइल बृहत् ढङ्गले गर्न आफूलाई उत्साह थपेको उनले बताए । कार्यक्रम संयोजक ममता थापाले काठमाडौँ जस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको सङ्ख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने अपेक्षा गरेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्