सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ



सुर्खेत ।

सडक डिभिजन कार्यालय सुर्खेतले विभिन्न संवेदनशील स्थानमा भारी उपकरण तैनाथ गरेको छ । बर्खायाममा पहिरोका कारण कर्णालीका मुख्य राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उपकरण तैनाथ गरिएको हो । वर्षायामभर सडक अवरुद्ध भए तत्काल पहिरो हटाइ बढीमा दुईदेखि तीन घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । जसका लागि कार्यालयले जेसिबी र लोडरहरू चौबिसै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

कार्यालयका अनुसार सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग, सुर्खेत–डोल्पा जोड्ने भेरी कोरिडोर, रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्ड तथा सुर्खेत–दैलेख सडकका पहिरोको उच्च जोखिम रहेका स्थानमा उपकरण परिचालनको व्यवस्था मिलाइएको हो । विगतका वर्षमा बारम्बार सडक अवरुद्ध हुने अनुभव र वर्षायाममा जुनसुकै बेला पहिरो जानसक्ने सम्भावनालाई ध्यानमा राख्दै रणनीतिक रूपमा उपकरणहरू राखिएको कार्यालयले जनाएको छ ।  सडक डिभिजन कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रूपेश केसीका अनुसार कर्णाली राजमार्गका लागि तल्लो डुङ्गेश्वर र राकममा, सुर्खेत–दैलेख सडकका लागि तालपोखरीमा तथा भेरी कोरिडोरका लागि बोटेचौर र छिन्चु क्षेत्रमा जेसिबी र लोडरहरू तयारी अवस्थामा राखिएका छन् ।

ती स्थानबाट आवश्यक परे तत्काल पहिरो हटाउने टोली परिचालन गर्नसकिने व्यवस्था गरिएको उनले बताए । ‘पहिरोका कारण सडक अवरुद्ध भएको आधिकारिक सूचना प्राप्त हुनासाथ तत्काल टोली परिचालन गरी बढीमा दुईदेखि तीन घण्टाभित्र सडक खुलाउने गरी कार्ययोजना बनाइएको छ,’ उनले भने, ‘सवारी आवागमन लामो समयसम्म अवरुद्ध हुननदिन आवश्यक जनशक्ति, उपकरण र समन्वयको तयारी पूरा गरेका हौँ ।’ कार्यालयले यो विशेष पूर्वतयारी अभियान आगामी असोज महिनासम्म निरन्तर सञ्चालन हुने जनाएको छ ।

यस अवधिमा उपकरणसँगै प्राविधिक जनशक्ति पनि चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको छ । यस वर्ष असारको तेस्रो सातासम्म कर्णाली प्रदेशमा ठूलो परिमाणमा वर्षा नहुँदा हालसम्म कुनै पनि मुख्य राजमार्ग लामो समयका लागि अवरुद्ध हुनुपरेको छैन । तर मौसममा हुनसक्ने परिवर्तनलाई ध्यानमा राख्दै पूर्वतयारीलाई प्रभावकारी बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा विशेषगरी कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डका पादुका, राकम, दहीखोला र सुनारखोला क्षेत्र पहिरोका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छन् ।

त्यस्तै, सुर्खेत–दैलेख सडकको रानीमत्ता, माथिल्लो डुङ्गेश्वर र गुराँसे क्षेत्र तथा कोहलपुर–सुर्खेत सडकखण्डका हर्रे र देउरालीमा पनि प्रत्येक वर्ष वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । इन्जिनियर केसीका अनुसार यस वर्ष हालसम्म विगतका वर्षजस्तो ठूलो बाढी र पहिरोको अवस्था नदेखिए पनि मन्त्रालय र सडक विभागको निर्देशनअनुसार सम्पूर्ण तयारीलाई उच्च प्राथमिकतामा राखिएको हो । सडक खुलाउन कार्यालयका आफ्नै उपकरणका साथै पहिरो प्रभावित क्षेत्र नजिकका स्थानीय तहसँग रहेका जेसिबी र लोडरसमेत आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी समन्वय संयन्त्र तयार गरिएको छ ।

सडक डिभिजन कार्यालयले यस्तो पूर्वतयारीले वर्षायाममा कर्णालीका विभिन्न राजमार्ग हुँदै यात्रा गर्ने हजारौँ यात्रुलाई लामो समय सडकमै अलपत्र पर्ने अवस्थाबाट राहत मिल्ने विश्वास व्यक्त गरेको छ । साथै आकस्मिक अवस्थामा द्रुत उद्धार तथा यातायात सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समेत समन्वयलाई प्रभावकारी बनाइएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार